जनथा भिमुक्ति पेरामुनाका समस्याहरु : गुणराज लोहनी

विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक छ । पुँजीवादले परम्परागत स्वरुपमा नभएर फरक रुप र रङ्गमापछिल्लो समयमा विश्वलाई लपेटेपछि विश्वका सबैजसो संशोधनवादीहरुले पुँजीवादका सामु यो या त्यो बहाना बनाएर आत्मासमर्पण गरिरहेका छन् । त्यसैको पछिल्लो शिकार नेपालको विजयउन्मुख जनयुद्ध बन्न पुगेको छ । र त्यसका मुख्य नेताहरुले विभिन्न बहाना बनाउँदै माक्र्सवाद नै परित्याग गर्न पुगेका छन् । हुन त नेपाली जनयुद्ध पेरुको जनयुद्धले गोञ्जालोको गिरफ्तारी पछि खाएको धक्का, ठीक त्यसै गरी श्रीलंकामा जनता भिमुक्ति पेरामुना अर्थात जनमुक्ति मोर्चाको आन्दोलन त्यस पार्टीका प्रमुख रोहना विजेवीराको गिरफ्तारीपछि सिथिल हुन पुगेको अवस्थामा शुरु भएको थियो । यसरी पेरु र श्रीलंकाको जेभीपीले गरेका दुवै क्रान्ति र आन्दोलनको मुख्य उद्देश्य माक्र्सवादमा आधारित समाजवाद स्थापना रहेको थियो । यद्यपी यिनीहरुले धक्का खानुको मुख्यकारण भनेको वैचारिक रहेको भन्नेमा विमति राख्ने ठाउँ छैन । यिनीहरुले गरेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र ती आन्दोलनहरुले खाएका धक्काबाट के शिक्षा लिने भन्नेमा स्पष्ट हुन जरुरी छ ।

अहिले नेपाल कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनको नेतृत्व गरिराखेको छ । त्यो आन्दोलनलाई सखाप पार्ने योजनामा आफूलाई कम्युनिस्ट भन्न रुचाउने र समाजवादको बखान गरेर नथाक्ने यो सरकारले विभिन्न योजनाहरु बनाइराखेका समाचारहरु आइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीले अहिलेको अवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सामान्य मुद्दालाई लिएर गरेका महंगी, भ्रष्टाचार, कालोबजारी र राष्ट्रघातका विरुद्ध गरिएका आन्दोलनहरुबाट तर्सिएर यो सरकारले उक्त पार्टीका नेता, कार्यकर्ता र समर्थक, शुभचिन्तकहरुलाई दिनदिनै सयौंको संख्यामा गिरफ्तार गर्ने, बन्दि बनाउने, जेल चलान गर्ने र यहाँसम्म कि बेपत्ता पार्नेसम्म गरेको छ । यही सरकारका संयन्त्रहरुबाट आइरहेको छ कि यो सरकारले नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित आन्दोलनलाई ९० को दशकको अन्ततिर श्रीलंकामा जनथा भिमुक्ति पेरामुना जस्तै बनाउने योजना छ रे । यो सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई गिरफ्तार गर्ने, जेलमा सडाउने र आन्दोलन अघि बढ्न नदिने षडयन्त्रमा लागेको छ भन्ने छ । यी तथ्यहरुलाई पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अपहरणशैली गिरफ्तार गरी लगभग १८ घण्टा बेपत्ता पारेको र अदालत लैजाँदा पनि हथकडी लगाउने, राजनैतिक नेतालाई गैह्रराजनीतिक मुद्दा लगाउनुले पनि यसलाई पुष्टि गर्दछ ।

के हो जेभीपी(जनथा भिमुक्ति पेरामुना) ?

जनथा भिमुक्ति पेरामुना(जेभीपी) सन् १९६५ मा क्रान्तिद्वारा श्रीलंकामा समाजवाद स्थापना गर्ने उद्देश्यले गठन भएको थियो । यस समयमा श्रीलंकामा लंका सम समाज पार्टी(एलएसएसपी), श्रीलंका कम्युनिस्ट पार्टी(सीपी), महाजन एक्साथ पेरामुना(एमइपी) र सिलोन कम्युनिस्ट पाटी जस्ता वामपन्थी पार्टीहरु अस्तित्वमा रहेका थिए । सबैलाइृ थाहा भएको कुरा हो कि सिलोन कम्युनिस्ट पार्टी त अन्तर्राष्ट्रियवादी क्रान्तिकारी आन्दोलन(रिम)को सदस्य पनि थियो । यो समयमा श्रीलंकामा आर्थिक संकट गहिरिएको थियो । त्यसवेलादेखि संयुक्त राष्ट्रिय पार्टी र श्रीलंका स्वतन्त्र पार्टीहरुले ८ वर्षसम्म एक अर्काले शासन गरेका थिए । जनथा भिमुक्ति पेरामुनाका संस्थापनहरुले श्रीलंकमा देखा परेको आर्थिक संकटको सामना व्यवहारिकरुपमा समाधान गर्न सकेको थिएन भन्ने ठोकुवा नै थियो । जेभीपीले सन् १९६४ मा ३ वटा वामपन्थीहरुको सरकारमा सहभागिताले उनीहरुको आचरण स्पष्ट भएको र जनता र श्रमजीवी वर्गमा ठूलो धोका भएको बुझेको थियो । पछिल्लो क्रममा उक्त पार्टीका मुख्य नेता रोहना विजेवीरा भएका थिए ।

को हुन् रोहना विजेवीरा

१९६४तिर रोहना विजेवीरा मस्कोको लुमुम्बा विश्वविद्यालयमा चिकित्सा शास्त्र पढिरहेका थिए । त्यहाँ उनले माक्र्स, एंगेल्स र लेनिनका कितावहरु पढेका थिए, उनी एक समाजवादी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । १९६४ मा उनी श्रीलंकाको यात्रा गरेपछि सोभियतको परम्परालाई तोडेर फेरि नफर्किने गरी सोभियत संघ छाडेका थिए । त्यो समयमा श्रीलंकाको कम्युनिस्ट पार्टी एउटाले सोभियत संघ र अर्कोले चिनीयाँ पक्ष लिएर दुई पार्टीमा विभाजित हुन पुगेको थियो । स्टालिनको मृत्यु पश्चात निखिता ख्रुश्चेवले ल्याएको शान्ति पूर्ण सह—अस्तित्व, शान्ति पूर्ण विकास जस्ता पाँच स को संशोधनवादी नीति ल्याएपछि चिनीयाँ कम्युनिस्ट पार्टी र सोभियत कम्युनिस्ट पार्टीका बीचमा महान बहस चलेको थियो । यसरी विश्व कम्युनिस्ट आन्दोलन सोभियत र चिनीयाँ गरी दुई खेमामा बाँडिएको थियो । यसैको प्रभाव श्रीलंकाको कम्युनिस्ट पार्टीमा परेको थियो । चिनीयाँ विचारको नेतृत्व प्रेमलाल कुमारासिरीद्वारा गरिएको थियो । बुबाको निधन पश्चात विजेवीरा कुमारासिरीको सम्पर्कमा पुगेका थिए र पार्टीको स्टाफमा जोडिएका थिए । उनले घरमा नै मजदूर संगठनको कार्यालय खोलेका थिए ।

विभाजन

विजेवीराले व्यापकरुपमा वामपन्थी आन्दोलन विस्तार गरेका थिए(जुन अहिले श्रीलंकामा पुरानो वामपन्थीका रुपमा लिइन्छ । ) जबसम्म त्यहाँ पेशेवार क्रान्तिकारी कार्यकर्ताहरु उत्पादन भएका थिएनन् र माक्र्सवादबाट जनतालाई प्रशिक्षित गरिएको थिएन । “पुराना वामपन्थी” भनिएकाहरुले श्रमजीवीहरुलाई अन्तिम शब्द भनेका थिए । उनलाई पनि “पुरानो वामपन्थी” नेताप्रति विश्वास थियो, त्यो आशाप्रति सचेत थिए, जुझारु श्रमीकहरुलाई वेवास्तापूर्ण तरिकाले पूर्णरुपमा प्रयोग गरियो । विजेवीरा र अरुले १९६६ को मध्यतिर एउटा नयाँ र स्पष्ट क्रान्तिकारी चरित्रको पार्टीको घोषणा गरेका थिए । उनीहरुले, श्रीलंकाका अधिकांश पार्टीहरुको जन्मदेखिको विपरित तरिकाबाट उनीहरुको खण्डन गर्दै नयाँ पार्टी बनाएका थिए । यो समयमा उनीहरुले राजनैतिक कार्यकर्ताहरुलाई र श्रमीक वर्गमा राजनैतिक सचेतान दिने र बद्धि गर्ने काममा व्यस्त गराएका थिए ।

पाँच कक्षाहरु

विजेवीराले सबैभन्दा पहिला जनतालाई राजनैतिकरुपमा शिक्षित गर्नु पर्दछ भन्ने कामलाई महत्व दिएका थिए । माक्र्सवादी विश्लेषण अनुसार श्रीलंकाको सामाजिक—राजनैतिक—आर्थिक समस्याहरुको पहिचान नगरेका कारण सही तरिकाले पत्ता लगाउन पर्ने मुख्य कारण रहेको भन्ने मुद्दा उनीहरुले उठाएका थिए र त्यही अनुरुप कदम चाल्ने निर्णय गरेका थिए । मुख्य ५ वटा शिर्षकमा माक्र्सवादी विश्लेषणको आधारमा ५ वटा बहस गरिएको थियो । १९६८ बाँकी समय भरी, देशको उत्तरदक्षिण र पूर्वपश्चिमका सबै जसो भूभागमा विजेवीरा पार्टी सदस्यहरुलाई राजनैतिक कक्षाहरु लिनका लागि गएका थिए । प्रशिक्षण क्याम्पमा ५ किसिमका राजनीतिमा आधारित कक्षाहरुलाई पछ्याइएको थियो । यी राजनैतिक प्रशिक्षण कक्षाहरुलाई सरकार र “पुराना वामपन्थी”हरुबाट पूर्वसावधानीका साथ गोप्य राखिएको थियो । यसरी सञ्चालन गरिएका सबै कक्षाहरु विजेवीराद्वारा सञ्चालन गरिएको थियो । यी कक्षाहरु प्रत्येक दिन १७ देखि १८ घण्टासम्म चल्दथे र खानाका लागि मात्र राकिन्थ्यो ।

सन् १९७१ सम्म, जेभीपी एउटा राजनैतिक पार्टीका रुपमा स्थापित भएको थियो र अरु वामपन्थी राजनैतिक पार्टीहरुको वैकल्पिक शक्तिका रुपमा आइसकेको थियो । जेभीपीका बहुमत सदस्य र समर्थकहरु त्यो समयमा युवा उमेर समूहका थिए । यसले जेभीपी राजनैतिक उर्जा र राजनैतिक चुनौतिको घण्टि बजाएको थियो । त्यसैले सरकार र उसको गठबन्धन वामपन्थीहरुले उक्त पार्टीलाई विभिन्न तहमा विभाजन गर्ने रणनीति लिएका थिए । त्यसपछि जेभीपीको शक्तिलाई स्वीकार गरिएको थियो । यद्यपी यो पार्टी पूर्ण रुपले परिपक्क राजनैतिक पार्टी बनिसकेको थिएन् । त्यहाँ धेरै समस्याहरु थिए जसलाई उनीहरुले शुद्धिकरण गर्न जरुरी थियो ।

१९७१ मा विद्रोह गर्दा ३० हजार जिउँदाजाग्दा युवाहरु रहेको दावी गरिएको थियो । १९७१ को अप्रिलमा भण्डारानाइके सरकार विरुद्ध विद्रोह गर्नुभन्दा पहिला जेभीपीले विश्वव्यापीरुपमा ध्यानाकर्षण गरेको थियो । कमजोर हतियार र सामान्य तालिम पाएका भएता पनि युवाहरुले दक्षिण र मध्यका प्रदेशहरुको अधिकांश स्थानहरु उनीहरुले केन्द्रीय फौज नआइएसम्म कब्जा गर्न सफल भएका थिए । यसले गर्दा त्यहाँको केन्द्रीय सरकार र सुरक्षा निकायमा ठूलो संकट ल्याइदिएको थियो । १९७१ को मार्चमा बम फ्याक्ट्रीमा भएको विस्फोटको दुर्घटना भयो । पुलिसले केजिया जिल्लाको नेलुन्डेनियाको एउटा झुप्रोमा ४८ वटा बम फेला पारेको थियो ।

छोटै समयमा विजेवीरालाई गिरफ्तार गरियो र जाफ्ना कारागारमा लगियो, जहाँ उनलाई विद्रोहीका बीचमा राखियो । उनको गिरफ्तारी र पुलिसमाथि परेको अनुसन्धानको दवाव बढिरह्यो । जेभीपीका अरु नेताहरुले तुरुन्तै प्रतिक्रिया देखाउने निर्णयमा पुगेका थिए । उनीहरुले अप्रिल ५ को ११ बजे विद्रोह गर्न सहमत भएका थिए । सरकारसँगको २ हप्ताको लडाईँ पछि सरकारले दुर्गम स्थानहरु बाहेक नियन्त्रणमा रहेको धेरै जसो स्थान फिर्ता लियो । मानव र राजनैतिक दुवै शर्तमा विजयको मूल्य अधिक थियो । जेभीपीका अनुसार उसका ३० हजार विद्रोही थिए । ती मध्ये अधिकांश २० वर्ष मुनिका राज्यको दमनमा मारिएका थिए । उक्त दमनमा सेना र कथित पुलिसको अत्याधिक प्रयोग गरिएको थियो । राज्यले दमन गरेर समाप्त पार्नुको साँटो दमनलाई लम्ब्याउनतिर लागिएको थियो । भण्डारानाइकेले एम्नेस्टिलाई १९७१ को मै र जुनमा बोलाएकि थिइन्, र मुख्य रुपमा मुख्य नेताहरुलाई मात्र नभएर सबैलाई देखाएकि थिइन् । विजेविरालाई विद्रोहको समयमा पहिला नै गिरफ्तार गरेर २० वर्षका लागि जेल पठाइएको थियो ।

१९८७ देखि ८९ सम्मको विद्रोह

१९७१ बाट शुरु भएको जेभीपीले नेतृत्व गरेको विद्रोहमा जब धेरै कमरेडहरुको मृत्यु भयो, १९८७ को विद्रोहभन्दा पहिला शान्ति कायम राख्न भनि आएको भारतीय सुरक्षा फौज विद्रोह दवाउन सफल भएको थियो । यसरी भारतीय सेनाको श्रीलंका प्रवेश र विद्रोही माथि भएको दमनले सिंहाली जनताको ठूलो संख्यामा राष्ट्रवादी मनोभावनामा बढेर गएको थियो । राज्यको फौजी शक्ति र भारतीय फौजी शक्तिको दमनका विरुद्ध जेभीपीले पनि प्रतिरोधात्मक कार्वाहीहरु शुरु गरेको थियो । दक्षिणका महतारा वरिपरिका आधारहरुमा जनता ३ इकाइहरुमा संगठित रहेका थिए । सरकार र भारतीय सुरक्षा फौजको दमनका विरुद्ध भएका प्रतिरोधात्मक संघर्ष जसलाई जेभीपीले २ वर्षसम्म नेतृत्व गरेको थियो । यस क्रममा हजारको आसपासमा मान्छे मारिएका थिए । अन्ततः सरकारी फौज जेभीपीका मुख्य नेता विजेवीरालाई समात्न सफल भयो । उसले समातेर र हत्या ग¥यो । उनका सहायकलाई १९८९ मा कोलम्बोमा सरकारी फौजले मा¥यो । १९९० सम्ममा जेलमा जेभीपीका पोलिट ब्युरो सदस्य र अन्य सदस्यहरु गरी ७ हजारको हत्या गरेको थियो ।

विजेवीरा र उनका सहयोद्धाहरुको हत्यापछि बाँकी बचेकाहरुले क्रान्तिकारी आन्दोलनलाई नयाँ शिरामा संगठित गर्ने प्रयास नै गरेनन् । यद्यपी यो संक्षिप्त विद्रोहले श्रीलंकाको राजनीतिमा निकै ठूलो हलचल ल्याइदिएको थियो । १९७१ सम्म जेभीपीलाई सरकारले प्रतिबन्ध लगाएको थियो । भूमिगत रहँदा नै उसले १९७८ को स्थानीयतहको चुनावमा भाग लिएको थियो । त्यस समयदेखि जेभीपीले क्रान्तिको बाटो छाडेर संसदीय आहलमा डुब्न पुगेको थियो ।

कमजोरी के के रहे

जेभीपीमा क्रान्तिको हुटहुटी रहेको थियो । त्यस पार्टीका नेताहरुले श्रीलंकाको कम्युनिस्ट पार्टीको नाममा भए गरेको संशोधनवादका विरुद्ध पनि सैद्धान्तिक भन्दा पनि फौजी रुपले प्रतिवाद गरेका थिए । श्रीलंकामा देखा परेको आर्थिक संकटलाई उनीहरुले समाधान गर्न खोजे । तर उनीहरुले श्रीलंकाको वर्ग विश्लेषण, पछिल्लो अवस्थामा विकास भएको विश्व राजनीतिको समिक्षा, विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको विवाद र त्यसको सही समाधानका बारेमा खासै सरोकार राखिएन ।

जेभीपीले आक्रमण, हतियार र लडाकुको कुरा त ग¥यो । तर जनतालाई राजनीति बुझाएन । बढिभन्दाबढि जनतालाई संगठित गर्ने, साथै माक्र्सवादको राज्य सत्ता सम्बन्धि अवधारणालाई स्पष्ट पार्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र आत्मागत र बस्तुगत अवस्थाको सहि सहि विश्लेषण गर्दै नयाँ विचार निर्माण गर्दै कार्यदिशा, कार्ययोजना र कार्यक्रमको विकास गर्नु पर्दथ्यो । त्यसो हुन सकेन । वामपन्थी, देशभक्त र प्रगतिशिल शक्तिसँग संयुक्त मोर्चा निर्माण गर्नुपर्दथ्यो । उसले सबै दुश्मन बराबरको नीति अवलम्बन ग¥यो ।

कमरेड माओको निधनपछि कुनै पनि क्रान्तिहरु सफल हुन सकेका छैनन् । विजयको सन्निकट पुगेका नेपाल र पेरु लगायतका देशहरुमा प्रतिक्रान्ति भएको छ । त्योभन्दा पनि बिडम्बना त यी क्रान्तिका मुख्य नेतृत्वले नै प्रतिक्रान्तिको नेतृत्व पनि गरेका छन् । यसले गर्दा फेरि क्रान्तिलाई नयाँ शिराबाट उठाउनु भनेको फलामको च्युरा चपाउनु जस्तो हो । अझ भन्नु पर्दा भवनावशेष पञ्छाएर नयाँ भवन खडा गर्नु सरह हो ।

क्रान्तिको भवनावशेषमा फेरि नयाँ क्रान्तिको प्रयत्न गरिएको छ । त्यसलाई मुनामा नै निमोट्ने दुस्प्रयास हिजोका क्रान्तिका नायकहरुले गरिराखेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा यो परिघटना नयाँ नै हो । उनीहरुले क्रान्तिकारी पार्टीलाई लिट्टे वा जेभीपी बनाउने ध्वाँस दिइरहेका छन् । उनीहरुको यस्ता ध्वाँसलाई पहिला विचारमा निस्तेज पार्नु पर्दछ ।
२०७५ भदौ ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :