सङ्घर्षको कसीमा महिला – सविता तामाङ

“कुनै पनि महान् क्रान्तिको नापो त्यो क्रान्तिमा महिलाहरूको सहभागिता कति हुन्छ भन्ने कुराले निर्धारण गर्दछ ।”क. भीआई लेनिन
विश्व सर्वहारावर्गका महान् नेता कमरेड लेनिनले भन्नु भएजस्तै विश्वको आधाभन्दा धेरै जनसङ्ख्या ओगटेका महिलाहरू जुनसुकै देशमा हुने र जस्तोसुकै प्रकारका सङ्घर्ष, आन्दोलन र क्रान्तिहरूमा उनीहरूको सहभागिता कति छ ? र, कस्तो ? छ भन्ने कुराले सिङ्गो सङ्घर्ष, आन्दोलन र क्रान्तिहरूले कति सार्थकता जन्माउँछ भन्ने कुराको दिशाबोध गरेको हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा पनि महिलाहरूको भूमिका र सहभागिताको प्रश्नको त्यही कुराको स्पस्ट पारेको हुन्छ । यहाँ नेपालको सन्दर्भमा भएका सङ्घर्ष, आन्दोलन र क्रान्तिहरूमा महिलाहरूले खेलेको भूमिकाको बारेमा सङ्क्षिप्त चर्चा गरिनेछ :

राणाकाल

यो बेलाको समाज बर्बर निरङ्कुसता, दासता र पितृसत्तात्मक मूल्य–मान्यताले जकडिएको थियो । यिनै मूल्य मान्यताबाट सिर्जना भएको भयानक अमानवीय भूमिकाबाट पिल्सिएका नेपाली महिलाहरूले त्यो बेलामा पनि आफ्नो हक, अधिकार र इज्जतका लागि सङ्घर्ष प्रारम्भ गरेका थिए । सिरहामा दिव्य कोइराला जसले नारी जागृति सङ्घ खोलेर महिलाहरूलाई राजनीतिक चेतना जगाउनुका साथै, बाल विवाह, बहुविवाहजस्ता महिला शोषणलाई रोक्ने प्रयास गरेका थिए । त्यस्तै, धर्मको माध्यमबाट तत्कालीन सामाजिक व्यवस्थाविरुद्ध विद्रोही चेतना बाँड्ने भोजपुरकी योगमायालाई तत्कालीन शासकले गिरफ्तारी गरेर चरम यातना दिइएको थियो । त्यसको विरोधमा योगमायाले १९९८ मा अरूण नदीमा जलसमाधि गरी मृत्युवरण गरेकी थिइन् । त्यसमा अन्य ८/९ जना महिलाहरूको पनि सहभागिता थियोे ।

जहानियाँ राणाशाासनको विरुद्धमा प्रचण्ड गोर्खा र प्रजा परिषद् स्थापना गरी १९८८ देखि १९९७ सम्म प्रजातान्त्रिक आन्दोलनका क्रममा नेतृत्वहरू जेल पर्दा सम्पर्क सूत्र बनेर राजनीतिक परिवर्तनको आन्दोलनलाई सहयोग पु¥याउने काठमाण्डौकी राममायाको पनि महिला आन्दोलनमा नछुट्टाउने नामभित्र पर्दछ । नारी स्वतन्त्रतामा बन्देज भएकै कारणले गर्दा महिला सहभागिता निकै गौण थियो । राणा शासनकै विरुद्ध सङ्घर्ष गर्र्दै आएकी नेपालकी प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी जसले धर्म नै महिलाहरूको मुख्य बाधक ठानेकी थिइन् । त्यस्तै, १९७७ मा राणाहरूको विरुद्धमा बुद्धधर्मको नामबाट पनि जनतालाई जगाउने काम काठमाण्डौकी लक्ष्मी तुलाधर, सिद्धीलक्ष्मी तुलाधर, प्रेमलक्ष्मी तुलाधर र मोतीलक्ष्मी उपासिकाले राणाशासनको विरोध गरेका थिए ।

१९९९ देखि २००७ सम्म जहानियाँ राणाा शासनको दबाबले जनतामा सचेतना आउन पाउन सकेको थिएन । जनतालाई सचेत तथा जागरण ल्याउने उद्देश्यले प्रेमबहादुर कंसाकार, पुष्पलाल श्रेष्ठ, कमाक्षदेवी रहने गरी गोप्य सङ्गठन खोलेर यही सङ्गठनको सक्रियतामा जुद्ध शमसेरले राजगद्दी त्यागेका थिए । त्यसबेला विराटनगर जुटमिल आन्दोलनमा मजदुर महिलाहरूको पनि सहभागिता थियो । यसरी मजदुर आन्दोलनमा दिव्य कोइरालाको नेतृत्वमा इन्दिरा आचार्य, नालिनी उपाध्याय, कामिनी कोइराला, नोना कोइराला आदि महिलाको सक्रिय सहभागितामा २००४ सालमा वनभोजको आयोजना गरी मङ्गलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला सङ्घको स्थापना भएको पाइन्छ । यसरी राणाशासनको अन्त्यका लागि नेपाली महिलाहरूले खेलेको भूमिका उल्लेख्य छ ।

२००७ देखि १०१६ सम्म

२००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली महिलाहरूले राष्ट्रियताको सवाललाई लिएर महत्वपूर्ण भूमिका छन् । २००८ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आउँदा नेपाल र भारतबीच भएको दिल्ली सम्झौता नेपाली जनताको लागि धोकापूर्ण छ, त्यसकारण भारतीय प्रधानमन्त्री आउँदा कालो झन्डा देखाएर विरोध गर्नुपर्दछ र स्वागत गर्नुपर्दछ भन्ने दुई विचारबीच २००४ सालबाट सङ्गठित भएको नेपाल महिला सङ्घमा फुट आयो । कालो झन्डा देखाउनुपर्दछ भन्नेको नेतृत्व कामक्षदेवी बस्नेतले र स्वागत गर्नुपर्दछ भन्नेको नेतृत्व मङ्गलादेवी सिंहले गरे । कालो झन्डा देखाउने क्रममा ५ जना महिला गिरफ्तार परी उनीहरूलाई जेल चलानसमेत गरियो । यसरी औपचारिक हिसाबले महिला सङ्गठन दुई विचार र दुई सङ्गठनमा विभाजन हुन पुग्यो । यसले महिला आन्दोलन र सङ्गठन लाई नेपाली कांग्रेस र वामपन्थी विचारका बीचमा विभाजन ल्याइदियो ।

२०११ साल वैशाख १२ गते गरिएको कोशी सम्झौता, २०१६ सालमा गरिएको गण्डक सम्झौताको विरुद्धमा अखिल नेपाल महिला सङ्घले विरोध जुलुस प्रदर्शन गरेर राष्ट्रियताको सवालमा समेत नेपाली महिलाहरूले आन्दोलन गरेर आफ्नो पहिचान बनाए ।

२०१७ देखि २०४६ सम्म

२०१७ पुस १ गते राजा महेन्द्रले संसदीय प्रजातन्त्रको विघटन गरेको घोषणासँगै जननिर्वाचित सरकार विघटन गरी सेनाले देशैभरि राजनेताहरूलाई गिरफ्तारी तीव्र बढाए । निर्दलीय पञ्चायती सुरु गर्दै सबै राजनीतिक पार्टी, सङ्घ/सङ्गठनमाथिको प्रतिवद्धले गर्दा महिला सङ्गठनहरूमाथि पनि प्रतिवद्ध गरियो । यो कालो इतिहासलाई चिर्दै महिला सङ्गठनलाई सक्रिय, क्रियाशील बनाउन भारतको अयोध्यामा पारिजातको नेतृत्वमा महिला भेला गरी अखिल नेपाल महिला सङ्घको पुनर्गठन गरियो । त्यसले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलनको रूप लियो ।

सुधारिएको भनिएको पञ्चायती व्यवस्थाले राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टाचार, बलात्कार, चेलीबेटी बेचबिखन, सुनिता÷नमिता हत्याकाण्ड, लक्ष्मी राईको हत्या, असमान सन्धि÷सम्झौताहरू र कालो पञ्चायती व्यवस्थाको दमन–उत्पीडनले गर्दा २०४६ सालको जनआन्दोलनको जन्म दियो । यसबीचमा पनि थुपै्रपटक महिलाहरू गिरफ्तारी, जेल चलान, दमनका बीच अघि बढे र २०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा नेपाली महिलाले महत्वपूर्ण र अथक मिहिनेत आन्दोलनहरूमा लगाए ।

२०४७ देखि २०६२ सम्म

यो अवधि महिला क्रान्तिका लागि निकै ठूलो बलिदान र आदर्शको समय थियो । निकै ठुलो त्याग, उथल–पुथल र विश्वासको परिवेश थियो । नेपाली महिलाहरू क्रान्तिमा खेलेको भूमिकाले नेपालमा मात्र हैन, विश्व क्रान्तिमा समेत महत्वपूर्ण पहिचान बनाउन सकेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि र २०४७ सालको संविधानले पनि नेपाली समाजको सामाजिक, अर्थिक, राजनीतिक, बनावटको आधारमा उत्पीडित क्षेत्रहरू, मजदुर, किसान, महिला, जनजाति, दलितहरूको चाहना र आकाङ्क्षाहरूलाई पूरा गर्न सकेन । त्यही उत्पीडनको जगबाट २०५२ सालमा महान् जनयुद्धको सुरुआत भयो ।

जनयुद्ध सुरुभएको २ वर्ष नपुग्दै २०५४ चैत २६ गते कालीकोटको कुमालगाउँ चौकीबाट आएको प्रहरीले विथलडाँडामा जितबहादुर विश्वकर्माको घरमा आई दमन गर्ने क्रममा जितबहादुर गोली लागी घाइते भएपछि कमरेड गौरीकला विश्वकर्मा र कमरेड पेउकला विश्वकर्माको नेतृत्वमा ४०/५० जनाको महिला टोलीले हतियारसहितका प्रहरी टोलीमाथि हमला गरेर प्रहरीको सम्पूर्ण हातहतियार कब्जा गरी पार्टीलाई बुझाएका थिए । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको नरसंहारकारी किलोसेरा टु अपरेसन होस् वा २०५८ सालमा शेरबहादुर देउवाले घोषणा गरेको सङ्कटकालमा हजारौँ महिलाले कष्टपूर्ण यातना, जेलजीवनको कहर भोगे; तर पनि महिलाहरू दुश्मनको सामु झुकेनन्, आत्मसमर्पण गरेनन्, जीवनको भीख मागेनन्; बरु सबैखाले क्रूर, तानाशाही र अमानवीय यातनाको डटेर सामना गरे । आफ्नो अमूल्य जीवन बलिदान गर्न तयार बने र महान् जनयुद्धलाई अघि बढाउन भूमिका खेले ।

२०५७ साल चैत १७ कमरेड उमा भुजेलको नेतृत्वमा कमरेड कमला नकर्मी, मीना मरहट्ठा, सञ्जु अर्याल, रीता विक, एन्जिला विकले गोर्खा जेलबाट सुरुङ खनेर जेलबाट बाहिर निस्किएर पार्टीको सम्पर्कमा पुगे । यसले नेपालीक्रान्तिकारी महिलाहरूको इतिहासलाई विश्वसामु पहिचान मात्र बनाएनन्, विश्वक्रान्ति र नेपालीक्रान्तिका लागि निकै ठुलो साहस र उत्साह थपे । १० बर्से महान् जनयुद्धको दौरान नेपालीक्रान्तिकारी महिलाहरू जनमुक्ति सेनाका सयाैँ कमान्डरहरू भूमिका निर्वाह गरे । पार्टीको केन्द्रीय समितिमा पुगेर गौरवपूर्ण महान् जनयुद्धको नेतृत्व गरे । जनसत्तामा ५० प्रतिशत महिलाहरू रहेर जनताको सेवामा समर्पित बने । जनमुक्ति सेनामा करिब ४० प्रतिशत महिला सहभागी बने । सबै जनवर्गीय सङ्गठन र मोर्चामा महिलाहरूको सहभागिता गौरवपूर्ण थियो । करिब ३ हजारको हाराहारीमा क्रान्तिकारी महिलाहरूले सहादत प्राप्त गरे । हजाराैँ महिला घाइते/अपाङ्ग/बेपत्ता बने । सयाँै महिलाले कष्टपूर्ण यातनासहित जेलजीवन बिताए । यसले क्रान्तिमा महिलाहरूको भूमिका कति उल्लेख्य र महत्वपूर्ण हुन्छ भन्ने कुरा नेपालमा मात्र हैन, विश्वक्रान्तिको इतिहासमै उल्लेख्य पहिचान बनाएर विश्वक्रान्तिको इतिहासमा दरिलो ढङ्गले उभिएको छ । त्यस्तै, २०६२/६३ को आन्दोलनमा पनि महिलाहरूले महत्वपूर्ण भूमिका खेले । १० बर्से महान् जनयुद्धको ऐतिहासिक वैचारिक विरासतलाई प्रचण्ड–बाबुराम मण्डलीले धोका दिए, गद्दारी गरे । उनीहरू अहिले दलाल–सामाजिक दलाल पुँजीवादको असली अनुयायी बनेर दलाल सत्ताको पाले भई राष्ट्रविरोधी, जनविरोधी, जनक्रान्ति विरोधी बनेर उभिएका छन् । जनक्रान्तिलाई दमन गर्न षड्यन्त्र गर्दै सामाजिक दलाल सत्ताको दरबारभित्र रमाउँदैछन् ।

आजको परिवेश र निकास

आज पनि देशमा दलाल तथा सामाजिक दलाल पुँजीवादी सत्ता कायम छ । सत्ता सञ्चालकहरू बदलिएका छन तर प्रवृत्ति उही पुरानै छ । उत्तर साम्राज्यवादको पाउमा लम्पसार परेर आफ्नो कुुर्सीको आयु लम्ब्याउने खेलमा नेपाली दलाल सत्ताका मतियार लागिपरेका छन् । राष्ट्रघात र जनघातका गतिविधिहरू रोकिएका छैनन् । देश भ्रष्टाचारी, कालोबजारिया, तस्करहरूको रजाइँस्थल बनेको छ । हत्याराहरूको सक्रियता बढ्दो छ । दलाल सत्ताको किचन बैठकभित्र विचौलिया र ठेकेदारहरूको पहुँच बढेको छ । राजनीतिलाई तस्कर, भ्रष्टाचारी, ठेकेदार, कालोबजारिया, व्यापारीहरूको मोज गर्ने स्थानमा रूपान्तरण गरिएको छ । निगम पुँजीवादको चलखेलले आर्थिक चरित्रमा एकातिर दलालहरूको हातमा छ भने अर्कोतिर विचौलियाहरूको कब्जामा पुगेको छ । यस्तो परिवेशमा यो दलाल/सामाजिक दलाल संसदीय सत्तालाई बदल्न आवश्यकता मात्र हैन, अनिवार्य भइसकेको छ । त्यसैले यो महाअभियानमा लाग्न सबै देशभक्त, राष्ट्रभक्त, किसान, महिला, मजदुर, युवा, विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सबै एकतावद्ध हुन आवश्यक छ ।

२०५२ सालमा १० बर्से महान् जनयुद्धको सुरुआत त भयो तर नेपालीक्रान्ति पूरा भएको छैन । वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरिछाड्ने प्रतिवद्धतासहित आदरणीय महासचिव क. विप्लवको हातमा नेतृत्व आइपुगेको छ । क्रान्ति अघि बढाउन नेपाल कम्युनिस्ट पार्टीको नामबाट पार्टी पुनर्गठन भएको छ । आजको वस्तुनिष्ठ राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्याङ्कन गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा तयारी भएको छ । देशभर जनसत्ताको गतिविधिहरू सलबलाउँदैछन् । राष्ट्रघाती र जनघातीविरुद्धको कारवाहीहरू अघि बढ्न थालेका छन् । क्रान्तिकारीहरूको अनुहारमा फेरि आशाका किरणहरू देखिन थालेको छ । एकीकृत जनक्रान्तिको गौरवपूर्ण यात्रालाई पूरा गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ नेपाली महिलाहरू फेरि जाग्नेछन्, जुर्मुराउनेछन् र नेपालीक्रान्तिले माग गरेको भूमिकामा फेरि नेपाली महिलाहरू जुट्नेछन्, यही प्रतिवद्धता आजको महिला आन्दोलनले लिनुपर्ने आवश्यकता छ ।
२०७५ भदौ ३ गते  अाइतबार दिउँसाे १ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :