नेकपाको पूर्वी कमाण्डले भब्यरुपमा अभियानको उद्घाटन गर्‍यो

   

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले ‘सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान’को उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । भाद्र १ गते अर्थात शुक्रबार उक्त कमाण्ड अन्तर्गत पर्ने सिन्धुलीको हरिहरपुरगढी नगरपालिका २ झनझनेमा एक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ । १ र २ नं. अभियान टिमको उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य हितमान पनि उपस्थित थिए । कार्यक्रम संचालन तिर्थ राईले गरेका थिए भने अध्यक्षता कुमारले र हरिकृष्णले स्वागत भाषण गरेका थिए । उक्त अभियानको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि ठूलो संख्यामा नेकपाका कार्यकर्ता र जनताको उपस्थितिले गर्दा प्रहरीले हस्तक्षेप गर्न नसकेको नेकपाको पूर्वी कमाण्ड कार्यालयले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले हँसिया हथौडा अंकीत झण्डा केन्द्रीय सदस्य हितमानलाई दिएर अभियानको उद्घाटन गरेका थिए । यस्तै ३ र ४ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम सप्तरीको सिसबारमा सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शशि राईको अध्यक्षता र प्रतिकको संचालनमा सम्पन्न भएको हो । यसैगरी ६ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम मोरङको लेटाङमा सम्पन्न गरेको छ । नेकपाका नेता पुस्करको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता संगिनले गरेको थिए भने संचालन जोखिम र स्वागत भाषण प्रज्वलले गरेका थिए । यसैबीच नेकपाको पूर्वी कमाण्डले अभियान संचालनको लागि दिशानिर्देश गर्ने उदेश्यले २५ बुँदे ‘अभियान निर्देशिका–२०७५ जारी गरेको छ ।’

अभियान निर्देशिका–२०७५

साम्राज्यवादी उत्पीडनमा परेका देशहरुमा दुई प्रकारका पुँजीपतिवर्ग हुन्छन् । राष्ट्रिय पुँजीपति वर्ग र दलाल पुँजीपति वर्ग । दलाल पुँजीपति वर्ग सँधै नै साम्राज्यवादको पाल्तु कुकुर हुन्छ, त्यसैले त्यो क्रान्तिको निशानामा हुने गर्छ ।–माओत्सेतुङ् सङ्कलित रचनाहरु, भाग ५, पृष्ठ २६१, नेपाली संस्करण

नेकपा आठौं केन्द्रीय समितिको सातौं पूर्ण बैठकले तय गरेको ४५ दिने अभियान संचालनार्थ सामान्य दिशानिर्देश गर्ने अभिप्रायले अभियान निर्देशिका–२०७५ जारी गरिएको छ ।

१) अभियानको नामः सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान–२०७५
२) समयावधी : २०७५ भदौ १ देखि २०७५ असोज १५ सम्म (४५ दिन)
३) उद्देश्य : सामरिक र रणनैतिक इलाकाहरुमा शक्ति केन्द्रीत गर्ने, भावी वर्गसंघर्षको लागि जनाधार तयार गर्ने, सङ्गठन विस्तार गर्ने, रुपान्तरणको प्रकृया तीब्र पार्ने, ध्रुबीकरण प्रक्रियालाई गति दिने, कार्यदिशा स्थापित गर्ने, क्रान्तिका ३ वटा जादुगरी हतियारको एकीकृत स्वरुपको अभ्यास गर्ने, भावनात्मक तथा वैचारिक केन्द्रीकरण गर्ने, जनसम्बन्ध सुदृढ गर्ने, जनसेवा तीब्र पार्ने, दुस्मनको प्रचार युद्धलाई निस्तेज गर्ने ।
४) लक्ष्य : सङ्गठन, सङ्घर्ष, प्रचारमा निश्चित लक्ष्य बनाएर काम शुरु गरिने छ । त्यसको ठेगान अभियान टोली र सम्बन्धित ब्युरोहरुले नै गर्नेछन् ।
५) स्थान : अभियान टोलीको लागि कार्यक्षेत्र वा स्थान केन्द्रीय समितिको निर्णयअनुसार हुनेछ ।
६) नेतृत्व र सङ्ख्या : टोली जम्मा ११ सदस्यीय हुनेछ । सम्बन्धित ब्युरोहरुले थप गर्न सक्नेछन् । टोलीलाई उप–टोलीमा विन्यास गर्न सकिने छ । ……….. नम्बर टोलीको नेतृत्व क. ……………… र सह–नेतृत्व क. ………………. ले गर्नुहुने छ । उप टोलीहरु निर्माण गरिएमा त्यसको पनि नेतृत्व, काम, कर्तब्य र सुरक्षा नीतिहरु बनाउनु पर्नेछ ।
७) समीक्षा : टोलीले हरेक हप्ता अभियानको समीक्षा राख्ने छ र आवश्यक परिमार्जन गर्ने छ ।
८) मुख्य कार्यहरु :
(क) भित्ते लेखन गर्ने
(ख) सङ्गठन निर्माण गर्ने
(ग) लोकप्रिय प्रकृतिका कार्वाहीहरु गर्ने
(घ) पर्चा वितरण गर्ने
(ङ) प्रत्येक घर र टोलमा पोस्टर टाँस्ने
(च) पत्रिका वितरण गर्ने (रातोखबर साप्ताहिक र अन्य)
(छ) पिंडीसभा, कोणसभा, जनसभा, भेटघाट तथा प्रशिक्षण चलाउने
(ज) ध्रुवीकरणको प्रयास तीब्र पार्ने
९) प्रचारयुद्ध चलाउने : अध्यक्ष माओले च्याङ् काई शेकसँगको लडाइँको सन्दर्भमा ‘तिमी तिम्रो किसिमले लड, हामी हाम्रो किसिमले लड्छौं’ भन्नुभएको थियो । त्यसैगरी श्रीलङ्काका विद्रोही एक जना विद्रोही नेताले ‘भारतीयहरु समुद्र तरेर आएका छन्, हामी आमाको काखमा बसेर लडिरहेका कारण हामी जित्छौं’ भनेका थिए । त्यसकारण जनताको काखमा, आँगनमा बसेर हाम्रो नीति र कार्यक्रम प्रभावकारी संप्रेषण गर्ने तथा दुस्मनको प्रचारयुद्धलाई निस्तेज गर्ने, अखबार, सामाजिक संजाल, विद्युतीय माध्यमलगायत सम्भव सबै उपायलाई भरपुर प्रयोग गर्ने, तर तत्काल र भावी सुरक्षा शैलीमा ध्यान दिने र संचार प्रतिनिधि हरेक टोलीले ठोस गर्ने ।
१०) सुरक्षा नीति :
(क) सुरक्षा सम्बन्धी टोलीले आवश्यक नियमावली तथा निर्देशन गर्ने छ । आवश्यक जनशक्ति तथा अन्य व्यवस्था गर्नुपर्ने छ ।
(ख) सेन्ट्री राखेर बास बस्ने, खाने, अध्ययन, आराम र अन्य कामको तालिका बनाउने, दुस्मनको चलखेल बुझेर काम गर्ने, लापर्वाही, अनावश्यक भयवाद दुवैबाट बच्ने । सुरक्षा हेर्ने शक्तिले आवश्यक तयारी र योजना बनाउने ।
(ग) पिटी तथा ब्यायम नियमित गर्ने ।
११) शक्ति केन्द्रीकरण : अभियानको दुरगामी महत्व रहेको छ र भविष्यमा यसको महत्वको चर्चा लामो समयसम्म हुने छ । त्यसैले पार्टीको मुख्य शक्ति विनाकुनै अवरोध अभियानमा केन्द्रीत गर्नुपर्ने छ ।
१२) रचनात्मक कार्य : कविता, गीत, कथा, संस्मरण, गजल, हाइकू, डायरी लेख्ने तथा सुन्ने–सुनाउने, कमाण्डले अभियान विशेषङ्कको रुपमा नयाँ सुखानी प्रकाशित गर्ने छ । ब्युरोहरुले पनि प्रकाशन गर्ने प्रयास गर्ने ।
१३) जनशक्ति आपूर्ति : हरेक टोलीमा केन्द्रीय समितिले निश्चित जनशक्ति तय गरेको छ, त्यसमा अपुग भएमा वा थप कुनै समस्या आएमा समाधान गर्ने गरी ब्युरोहरुले नेतृत्व र जनशक्तिको वैकल्पिक व्यवस्था गरिरहने ।
१४) स्वास्थ्य : हरेक टोलीमा रुघा, खोकी, ज्वरो, झाडापखाला, चोटपटक तथा सरुवारोगको विरुद्ध प्राथमिक उपचारका औषधीको व्यवस्था गर्ने ।
१५) अनुशासन :
(क) तीन गर, तीन नगर (माओका निर्देशनहरु)
(१) माक्र्सवाद लागु गर, संशोधनवाद होइन !
(२) एकताबद्ध होऊ, नफूट !
(३) खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर !
(ख) अन्य
(१) अभियान टोलीले मदिरा सेवन नगर्ने,
(२) जनतासँग नम्र व्यवहार गर्ने,
(३) जनसेवामा लाग्ने,
(४) जनताको भावना, संस्कृति र मनोविज्ञानमा चोट पु¥याउने खाले कार्य नगर्ने,
(५) नेतृत्वको अनुमति र गम्भीर कारणबाहेक कार्यक्षेत्रबाट बाहिर नजाने,
(६) सम्बन्धित निकायको निर्देशन पालन गर्ने÷गराउने,
(१६) प्रतिवेदन ः हरेक टोली प्रमुख र स्थानीय पार्टीले ४५ दिने प्रगति विवरण प्रतिवेदन बुझाउने छ । सो प्रतिवेदन पार्टी केन्द्रीय कार्यालय र कमाण्ड कार्यालयमा पठाइने छ । टोलीमा सबै सदस्यको सामुहिक सुझाव प्रतिवेदनमा रहने छ । समापन समारोहमा सो प्रतिवेदन बुझाउनुपर्ने छ ।
(१७) आर्थिक :
ड्ड अभियान टोली जननिर्भर हुने छ ।
ड्ड आवश्यक सहयोग सम्बन्धित जिल्ला पार्टीले गर्ने छ ।
ड्ड बिक्रिका लागि प्रकाशन उपलब्ध गराइने छ । प्रकाशनको निश्चित प्रतिशत अभियान टोलीले कार्यक्षेत्रमा खर्च गर्न सक्नेछ ।
(१८) वैचारिक काम : पार्टी कार्यदिशाको ब्यापक प्रचार, प्रशिक्षण र छलफल चलाउने, रातोखबर साप्ताहिकसहित पार्टी प्रकाशन साथमा राख्ने, अध्ययन संस्कृतिलाई टोलीले स्थापित गर्ने, पार्टी प्रकाशन वितरण गर्ने ।
(१९) राजनीतिक काम : विभिन्न पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी, संचारकर्मी, सहिद तथा बेपत्ता परिवारसँग भेटघाट, छलफल गर्ने, ध्रुवीकरणको प्रयास गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा हाम्रो पार्टी नीति स्थापित गर्ने ।
(२०) नेतृत्वको अधिकार : टोली परिचालन र प्रभावकारिताबारे अन्तिम निर्णय टोली प्रमुखले गर्नेछन् भने व्यवस्थापनको अन्तिम निर्णय ब्युरो कार्यालयले गर्ने छ । सम्बन्धित जिल्लाले सहयोगी भूमिका खेल्नेछन् ।
(२१) अभियान सुरु र अन्त्य : भदौ १ गते पूर्वी कमाण्डका ४ स्थानमा अभियान उद्घाटन हुने छ र असोज १५ गते समापन गरिने छ । उद्घाटनमा केन्द्रीय नेताहरुले नै नेतृत्व गर्नेछन् । अभियान समापनमा पनि सोही नीति लिइने छ । स्थानीय अभियानहरु पनि चलाउन सकिने छ ।
(२२) सतर्कता : बाढी, पहिरो, सर्पदंश, विच्छीदंश, सरुवारोग तथा अन्य प्रकोपबाट बच्न टोलीले उठबस, बास आदि गर्दा सतर्क रहने
(२३) टोलीसँग हुनुपर्ने न्युनतम सामग्री :
(क) स्लिपिङ ब्याग वा बर्को
(ख) छाता वा बर्षादी
(ग) पर्चा, पोस्टर
(घ) वालिङ गर्ने सामग्री
(ङ) चोर बक्ति (टर्च)
(च) प्रकाशन सामग्री
(छ) अभियानको ब्यानर र पार्टीको झण्डा
(२४) आकस्मिक निर्णय : अभियान टोली र स्थानीय नेतृत्व प्रत्यक्ष सम्पर्कमा रहनेछन् । परिस्थितिमा आकस्मिक हेरफेर आएमा माथिल्लो तहबाट नयाँ निर्देशन वा कार्यक्रम आएमा आवश्यक जानकारी गराइने छ ।
(२५) नाराहरु :
(क) सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति – एकजुट होऔं !
वैज्ञानिक समाजवादका लागि – सङ्घर्ष गरौं !!
(ख) राज्य दमन – बन्द गर !
प्रतिरोध सङ्घर्ष – अघि बढाऔं !!
(ग) स्थानीय नाराहरु थप्न सकिने छ ।
नेपाल कम्युनिस्ट पार्टी
२०७५ भदौ १, पूर्वी कमाण्ड
२०७५ भदौ २ गते शनिबार दिउसाे   २ : १२ मा प्रमाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :