जनगणतन्त्र कोरियाका नेताहरू नेपालमा

करणसिंह बडाल / काठमाडौँ : नेपालमा जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का मित्र र किम इल सुङ प्रतिपादित जुछे विचार पक्षधर संस्थाको निमन्त्रणामा कोरियाली नेताहरू नेपाल आएका छन् । कोरियाली नेताहरुलाई सहभागी गराएर नेपाली संस्थाहरूले एक राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरेका छन् । कार्यक्रमको आयोजना नेपालमा उत्तरकोरियालाई समर्थन गर्ने विभिन्न आठ संस्थाले संयुक्त रूपमा गरेका थिए ।

सम्मेलनमा कोरियाका तर्फबाट कोरियाली समाज वैज्ञानिकहरूको सङ्गठन (कास) का उपमहानिर्देशक चो काङ र विश्लेषक प्रोफेसर ओ सोङ छोलको विशेष उपस्थिति रहेको थियो । उपमहानिर्देशक चो काङले जुछे विचारकै कारण कोरियाले जापान र अमेरिकी साम्राज्यवादलाई हराउन सफल भएकाले यो विचार मुक्तिका पक्षमा लडिरहेका सबै देश र पार्टीहरूका लागि आवश्यक रहेको बताउनुभयो ।

सम्मेलनमा पाँच संस्थाका अध्यक्षले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त सम्मेलनको अध्यक्षता गर्दै नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्षसमेत रहेका नेकपा मालेका अध्यक्ष सीपी मैनालीले नेपालका कम्युनिस्टहरूले जुछे विचार अवलम्बन गरेर देशलाई मुक्त र समृद्ध बनाउनुपर्ने बताउनुभएको थियो । मुख्य वक्ताका रूपमा रहेका सभामुख कृष्णबहादुर महराले स्वाधीनता र समृद्धिका लागि कोरियाले गरेको सङ्घर्ष सराहनीय भएको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले जुछे विचार शक्तिशाली क्रान्ति र परिवर्तन पर्खिरहेको नेपालका लागि पनि एउटा महत्वपूर्ण पाठ हुने चर्चा गर्नुभएको थियो । कार्यक्रममा सपोर्टिङ सङ्गुन पोलिसीका अध्यक्ष माणिकबहादुर लामा, नेपाल पत्रकार सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, नेपाल लिटरेरी सोसाइटीका अध्यक्ष शङ्कर भारती, सुवासकाजी श्रेष्ठलगायतले मुक्ति, स्वतन्त्रता र विकासका लागि जनगणतन्त्र कोरिया, जुछे विचार र मार्सल किम जोङ उनबाट सिक्नुपर्ने बताउनुभयो । नेपालको चारदिने भ्रमण र सम्मेलनका लागि नेपाल आएका कोरियाली नेताहरूसँग नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले एक विशेष मैत्रीपूर्ण भेटघाट कार्यक्रम आयोजना गरी वैचारिक बहससमेत गरेको थियो । आयोजक सङ्घसंस्थाले मङ्गलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कोरियाली नेताहरूलाई बिदाइ गरेका थिए ।
२०७५ भदौ १ गते शुक्रबार बिहान ११ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :