अपर तामाकोसीको सब स्टेसनमा भूमाफियाको चलखेल

काठमाडौँ : जिल्ला शंखरापुर नगरपालिका ३ स्थित कुलामुनि गाउँको खेतीयोग्य १९० रोपनी जमिनमा अपर तामाकोसी हाइड्रोले अधिकरण गरी त्यहाँको किसानलाई मुआब्जा रकममार्फत रकम उपलब्ध गराउने नाममा भूमाफिया र स्थानीय स्तरमा गठित सङ्घर्ष समितिले ठूलो चलखेल गरिरहेको समाचार रातो खबरलाई प्राप्त भएको छ । समाचारअनुसार किसानको हितमा बनेको सङ्घर्ष समितिको संयोजक सत्यमान लामाले त्यहाँका सोझा जनतालाई राजनीतिक आडमा धाकधम्की दिने गरेको कुरा मुआब्जा रकम नपाउने किसानले बताएका छन् । पीडितहरूलाई न्याय दिलाउनुको सट्टा निकै मोटो रकम हात पार्ने दाउँमा त्यहाँका पीडित किसानलाई कमिसन मागेको र सङ्घर्ष समितिले जग्गा सब स्टेसनमा पर्नेहरूसँग कमिसनको दोहोरो कागजसम्म गरी दुःख दिइरहेको खुल्न आएको छ । छिनछिनमा कुरा फर्दै हिँड्ने सत्यमान लामाको साँठगाँठमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्षलगायत मूल्याङ्कन समिति, नापी विभाग, नगरपालिका, भूमिसुधारलार्इ पनि अाफ्नाे मुठ्ठिमा लिर्इ मुआब्जा पाउने रकमको चलखेल गरिरहेको बुझिन आएको छ । तीन पुस्ता अघिदेखि नै भोगचलन गर्दै आइरहेका स्थानीय किसानलाई मर्का पर्ने गरी काठमाडौँ बाहिरका पहिचान नभएका व्यक्तिलाई अनाधिकृत रूपमा तल्छिन खडा गरी विभिन्न कित्ताको जग्गा एकलौटी हात पारी अकुत रकम हात पार्ने षड्यन्त्रमा लागेका सत्यमान लामासँग त्यहाँका पीडित किसानहरू रूष्ट हुन पुगेको छ । सङ्घर्ष समितिको सदस्यसम्मलाई पनि थाहार्इ नदिई मनोमानी काम गर्दै आइरहेको सत्यमानलाई उनकै समितिमा रहेका सदस्यले पनि आक्रोश पोखेका थिए । त्यहाँका किसानले भनिरहेका छन् । यदी हामीलाई राजनीतिक शक्तिको आडमा हामीहरूले पाउने मुआब्जा रकममाथि चलखेल गर्छ भने चुप लागेर नबस्ने चेतावनी दिएको छ । विभिन्न समूहहरूसङ्ग मिली हामीमाथि अनावश्यक दुःख दिँदासम्म यसै वडा अध्यक्ष सन्तबहादुर लामा मौन बस्नुले आश्चर्यचकित भएको त्यहाँका पीडित किसानले बताएका छन् । प्राप्त समाचारअनुसार मुआब्जामार्फत प्राप्त अर्बौं रकममा ठूलो कमिसन लिने खेलमा रहेको त्यहाँका भूमाफियाहरूको सक्रियता बढेसँगै स्थानीय पीडित किसानहरू सशङ्कित बन्न पुगेका छन् । पितापुर्खाले भोगचलन गर्दै कमाई खाई आएको साे जग्गा एक्कासि सब स्टेसनमा पर्दा सुकुमबासी बन्नुपर्ने पीडा त छँदैछ, पाउनुपर्ने रकमसम्म पनि कुदृष्टि लगाउने र ढिलासुस्ती गर्ने कार्यले ठूलो मारमा परेको बताउने त्यहाँका किसानहरूले न्यायका लागि पहल गरिदिन आग्रह गरिरहेका छन् । स्रोतका अनुसार अझै गहिराइमा गई गम्भीर अनुसन्धान गर्नुपर्ने र सत्यतथ्य ल्याउनु पर्ने पीडितहरूले माग गरिरहेका छन् ।
२०७५ साउन २३ गते बुधबार बिहान ८:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :