फूलमाया – लीला रानामगर

फूलमाया हो उनको नाम
नामले उनी फूलजस्तै
सौन्दर्य भए पनि
फूलजस्तो छैन उनको कथा
एउटा सहरको गल्लीभित्र
घर नं ५१४ को
बाहिरपट्टि लेखिएको छ–
‘कुकुरदेखि सावधान !’
त्यही घरको भित्र बस्छिन् फूलमाया !
फूलमाया कम्ती सुन्दर छैनन्
जुन ‘फेयर एन्ड लभ्ली’ को विज्ञापनको
होर्डिङबोर्डमा टाँसिएकी सुन्दरीभन्दा
कम छैनन् फूलमाया
फूलमाया ‘मिस नेपाल’ की
सुन्दरीहरूभन्दा पनि कम छैनन्
सुन्दर बगैँचाभित्र
फुलेकी चमेलीजस्ती
मखमलीजस्ती
अरू त कति हो कति
कुनै फूलभन्दा कम छैनन् फूलमाया
शरदमा खसेका शीतका लहरजस्तै भिजेका छन्
उनका परेलीहरू
यो कोलाहल बस्तीहरू
किन मौन छ ?
जहाँ कसैले लेख्न सकेका छैनन् फूलमायाका गीत
–मुक्तिका गीत
–गरिब, किसानका गीत
गीत त
लेखिने गर्छन् लेन्डुपहरूका
छापिने गर्छन् एनजीओ÷आईएनजीओका समाचार
फूलमाया बर्सौं पहिलेदेखि
यही पीडाले ग्रसित छिन्
उनका कथा बन्दैनन् अखबारका हेडलाइन
बन्दैनन् टेलिभिजनमा ब्रेकिङ न्युज
बज्दैन कुनै रेडियोको ध्वनिमा
फूलमाया
साहूमहाजनको घरमा दासी छिन्
उहिल्यैदेखि
भन महोदय ! आज म प्रश्न गर्छु तिमीलाई–
के यही हो तिम्रो गणतन्त्र ?
२०७५ साउन २१ गते  साेमबार बेलुका ९ : ४७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :