बलात्कारीलाई फाँसी दिन माग

    

काठमाडौँ : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै मङ्गलबार काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनपछि रत्नपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा महिला सङ्घकी महासचिव उपाध्यायले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाका हत्यारालाई अविलम्ब कारबाही गर्न माग गरिन् । उनले रेल र पानीजहाजको कुरा गर्ने केपी सरकारले महिला र आमनागरिकको सुरक्षा गर्न नसकेको बताउँदै बलात्कार र छुवाछूतजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूलाई सरकारले फाँसीको सजाय दिने व्यवस्था बनाउनुपर्ने धारणा व्यक्त गरिन् । उनले सरकार पञ्चायती व्यवस्थाभन्दा निरङ्कुश शैलीमा प्रस्तुत भएको बताइन् । केही दिनअघि नेकपाका दुई पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई अपहरण शैलीमा काठमाडौँबाट पक्राउ गरी काभ्रेको धुलिखेलमा बन्धक बनाइएको र यातना दिइएको भन्दै महासचिव उपाध्यायले उनीहरूको अविलम्ब रिहाइको माग गरिन् । उपाध्यायले न्याय र स्वतन्त्रताको आवाज उठाउने नेताहरूलाई बन्धक नबनाउन आग्रह गरिन् ।
सोही सभामा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकालले ९ कक्षामा अध्ययनरत निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गरे । ढकालले पन्तका हत्याराविरुद्ध हजारौँ विद्यार्थी आन्दोलनमा उत्रने चेतावनी दिए । सभाको सञ्चालन अखिल क्रान्तिकारी काठमाडौँमा जिल्ला अध्यक्ष दर्शन नेपालीले गरेका थिए ।
बिहीबार साथीको घरमा पढ्न गएकी निर्मला नजिकैको उखुबारीमा मृत अवस्थामा फेलापरेकी थिइन् । स्थानीय सरस्वती माविमा ९ कक्षामा अध्ययनरत बालिकालाई बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको थियो । उक्त घटनाका दोषीहरूलाई कडा कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शनहरू भइरहेका छन् । घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको सीआईबीको टोली कञ्चनपुर पुगेर स्थानीय प्रहरीसँग समन्वय गरिरहको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :