अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ : पूर्ण विराम

कोइलाबासकै उजाड नरमाइलो बस्ती भएर
खोप्राहरू लछारिएका छन् र पछारिएका छन्
परिचित भवनका दलिनहरू सड्दै मक्किन थालेका छन्
झण्डामा छेर्न थालेका छन् माकुराहरूले
र भान्छामा रगरगाउन थालेका छन् छेपाराहरू्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
दाम्लो छिनाल्दै गाईहरू भाग्न थालेका छन्
र गोठमा अर्नाहरू एकत्रित भएका छन् ।

एउटा घेरामा भने हरपल व्यञ्जन वर्सिरहेकोे छ
अर्को घेरामा भने उही पुरानो ताप्केमा
घुन मिसिएको पीठो पानी भित्र छड्किरहेको छ
गाउँमा झिना औँलाहरूले फापरको सागलाई चिमोटिरहेका छन्
सहरभित्र अवतरित औँलाहरू दिनप्रतिदिन मोटाइरहेका छन्
र चाँदीको चम्चाले पाक्दै गरेको च्याउलाई चलाएर जाँच गरिरहेका छन्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
कमिलाहरू मर्न थालेका छन् र अजिङ्गरहरू
महोत्सव मनाउने तयारीमा आरामगृहमा आराम फरमाइरहेका छन् ।

भीरहरू खोजिरहेका छन् जोन अफ आर्कहरूलाई
र नदीमा मिसिएका कुलाका पानीहरूले
कमै नलाग्ने बनाएका छन् नेत्र अभागीका कविताहरूलाई
बतासका ओढ्नीहरूले गुटमुटाएका छन् लुसी ग्रेहहरूलाई
र बेपत्तका पोकोलाई अविरको पहिरोले थिचेको छ
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
ऋषेश्वरहरूको इतिहासमा आगो लाग्न थालेको छ
र एक धुर मात्र जमिन जित्ने सिकन्धरका दम्भहरूले
सगरमाथाकै चुचुरो चढेको घोषणा गरिरहेका छन् ।
चिप्ले किराहरूले हरेकलाई चिप्ले किराकै जुनीमा आबद्ध हुन
सनासो बोक्दै धम्क्याइरहेका छन्
नमान्नेलाई दुम्सीको काँडाले घोचिदिने आतसबाजी उडाइरहेका छन्
मुर्दाहरू नै मुर्दाको मलामी गइरहेको यस्तो दृष्य कहिल्यै देखिएन
अलपत्र परेको युद्धको नतिजा यस्तै छ
कृतिम फूलहरू नयाँ कोट लगाउनेहरूले आफ्नो कोटमा घुसारेका छन्
र दमनाहरू नौलो दमनको अदृष्य पाङ्ग्रोमा किचिएका छन् ।
अलपत्र परेको युद्धको नतिजा यस्तै छ
यो तातो अलकत्रा भन्दा पनि तातो
मनहरू पोल्ने आगोको भट्टी जस्तो छ
जाकेरीहरूले पाएका छन् भी.सी. तक्माहरू
र वीर सिपाहिहरूको रोदनले वातावरणहरू भरिभराउ भएका छन्
भैंसीको टाउको शरीरमा झुन्ड्याउनेलाई
अलपत्रमा परेको युद्धको नतिजा राम्रो छ
मानिसको नै टाउको बोकेर विचरण गर्न चाहनेलाई
यो हेमलकभन्दा एकदमै विषाक्त छ
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।
२०७५ साउन १२ गते बिहान १० : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :