इमानदार कम्युनिस्ट नेता पुष्पलालको सम्झना

निर्वासनमा रहँदा पुष्पलाल

झन्डै ७० वर्षअघिको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाको नेपाली समाजलाई मुक्त गर्न नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी समाज स्थापना गर्ने उद्घोष गर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक एवम् महासचिव पुष्पलालको निधन भएको ४० वर्ष भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु इमानदार र क्रान्तिकारी कम्युनिस्टको कर्तव्य हो ।

निरङ्कुश राणा शासकहरूले विद्रोहमा लागेका आफ्ना दाजु गङ्गालाल श्रेष्ठको क्रूरतापूर्वक हत्या गरेपछि उहाँ नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेर सामन्ती–पुँजीवादी सबैखाले शोषण, दमन, अन्याय, अत्याचार अन्त्य गरी समानतामूलक समाज निर्माण गर्ने यात्रामा लामबद्ध बन्नुभयो । फलस्वरूप उहाँले २००५ सालमै माक्र्स–एङ्गेल्स लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र नेपाली भाषामा अनुवाद गर्नुभयो र प्रकाशन गरेर वितरण गर्नुभयो । नेपाली काङ्ग्रेसले नेपाल र नेपाली जनताको मुक्ति गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर नै पुष्पलाल कम्युनिस्ट पार्टी स्थापना गर्ने निष्कर्षमा पुग्नुभयो र विद्रोही युवा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जनगोविन्द वैद्यलाई साथमा लिएर नेकपाको स्थापना गर्नुभयो ।

‘मकैको खेती’ शीर्षकमा पुस्तक लेखेको आरोपमा कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मार्ने अनि पुस्तकालय खोल्न तम्सिना सचेत युवाहरूलाई जेल हाल्ने र देशनिकाला गर्ने निरङ्कुश तथा जहानियाँ राणा शासनको समयमा त्यही शासनको अन्त्य गर्दै मुलुकमा समाजवाद स्थापना गर्ने उद्देश्यले कम्युनिस्ट पार्टी स्थापना गर्नु ठूलो चुनौतीको विषय थियो र त्यो एउटा सिर्जनात्मक विद्रोहको बाटो थियो । पुष्पलालले त्यो चुनौतीको बाटो रोज्नुभयो । त्यसैले उहाँ सिर्जनात्मक चेतनासहितका विद्रोही, विचारक र क्रान्तिकारी नेता पनि हुनुहुन्थ्यो ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदै गर्दा उत्तरी छिमेकी चीन समाजवादको बाटोतिर अघि बढ्दै थियो भने दक्षिणतर्फको मुलुक भारत अङ्ग्रेज साम्राज्यको पञ्जाबाट मुक्त भएको अवस्था थियो तर नेपालमा भने जहानियाँ राणाशासनको जगजगी थियो । त्यसका विरुद्ध जनता एउटा विद्रोहको राँको बाल्ने पार्टी र कार्यक्रमको खोजीमा थिए । पुष्पलालले नेपाली समाजका अन्तरविरोधहरूको सही पहिचान, विश्लेषण र संश्लेषण गर्दै कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक समाजबाट नेपाललाई मुक्त गराउने क्रान्तियात्रा आरम्भ गर्नुभयो । पुष्पलाल नेपालको कम्युनिस्ट आन्दोलनका ‘पिता–माता’ वा जन्मदाता हुनुहुन्छ ।
साउन ७ गते जननेता एवम् नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर पुष्पलालको जन्मजयन्ती वा स्मृति दिवस हो । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते प्रवासमा निर्वासित जीवन बिताइरहेको समयमा भारतको नयाँदिल्लीमा निधन भएको थियो । पुष्पलाल कम्युनिस्ट पार्टीका जन्मदाता र नेता मात्र हुनुहुन्नथ्यो, कम्युनिस्ट नै हुनुहुन्थ्यो । उहाँले आफ्नो नामसँग जोडिएको ‘श्रेष्ठ’ थर नै हटाइदिनुभयो र पुष्पलाल मात्र राख्नुभयो । ५४ वर्षको अल्पायुमै पुष्पलालको निधन भयो । १८ वर्ष लामो कठोर निर्वासित जीवन बिताउने पुष्पलाल पहिलो नेपाली राजनीतिज्ञ पनि हुनुहुन्छ ।

पुष्पलाल राजनीतिज्ञ मात्र नभएर इतिहासकार, सिद्धान्तकार, बुद्धिजीवी, लेखक, समीक्षक र दूरदर्शी नेता पनि हुनुहुन्थ्यो । जनताको नयाँ जनवादी व्यवस्थाको व्याख्या गर्ने उहाँ पहिलो कम्युनिस्ट नेता हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक दिशा दिने श्रेय पनि उहाँलाई नै छ । आजसम्मको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कयौँ नेताहरू दरबारपरस्त, भारतपरस्त, संसद्वादी, दक्षिणपन्थी बनेर आफ्नो इतिहास नै नामेट पारेका छन् तर पुष्पलाल सिद्धान्तप्रति अविचलित हुनुभएकै कारण विवादित बन्नुभएन । केही पात्रहरूले उहाँलाई व्यक्तिगत अहम्का कारण जबर्जस्ती विवादित बनाउने प्रयास गरे पनि कालान्तरमा आत्मालोचना गर्न बाध्य भए । जनयुद्ध लडिरहेकै समयमा तत्कालीन नेकपा (माओवादी) ले पुष्पलालमाथि लगाइएका आरोपहरू खारेज गर्दै ‘इमानदार कम्युनिस्ट नेता’ घोषणा गरेको थियो । नेकपाले पनि पुष्पलाललाई इमानदार कम्युनिस्ट नेताका रूपमा संश्लेषण गरेको छ ।

नेपालमा अहिले दलाल संसदीय व्यवस्थाले जनतामाथि शासन गरिरहेको छ । यसका सञ्चालकहरू कम्युनिस्ट विचार, सिद्धान्त र व्यवहारबाट च्यूत भइसकेर पनि आफूलाई कम्युनिस्ट नै दाबी गरिरहेका छन् । उनीहरू जनताको मत प्रभावित पार्न पुष्पलालको नाम र तस्बिरको दुरुपयोग गरिरहेका छन् । वास्तवमा पुष्पलालको नाम लिने र स्मृति दिवस मनाउने अधिकार सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई मात्र छ । एकीकृत जनक्रान्तिको माध्यमबाट सामाजिक दलाल पुँजीवादी पार्टीहरूले सञ्चालन गरेको फासिवादी सत्ताको अन्त्य र नयाँ जनवादी सत्ता हुँदै वैज्ञानिक समाजवादी समाजको स्थापना गर्नु नै पुष्पलालले देखाएको बाटोमा हिँड्नु हो । नेपालका क्रान्तिकारी कम्युनिस्टहरू यही यात्रामा लामबद्ध छन् । पुष्पलाल स्मृति दिवस तथा जन्मजयन्तीका अवसरमा हामी पुष्पलालले देखाएको बाटोमा हिँड्ने दृढता र प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । सम्पादकीय
२०७६५ साउन ९ गते बेलुका ९ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :