सत्ताको वर्गीय स्वरूप : उमा भुजेल

सत्ता भन्नासाथ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समुच्च रूप हो । समाजमा वर्गविभाजन भएको हुँदा सत्ता पनि स्वाभाविक रूपमा नै वर्गीय हुन्छ । सत्ता एउटा वर्गले अर्को वर्गलाई दबाउने यन्त्र हुने हुँदा जब समाजमा निजी सम्पत्तिको उदय भयो त्यसपछि सत्ताको जन्म र विकास भएको पाइन्छ । समाज विकासको नियमलाई हेर्दा पनि दास समाजमा सत्ता, दास मालिकका पक्षमा र दासहरूको विरुद्धमा, सामन्ती समाजमा सामन्तका पक्षमा, भूदास र किसानको विरुद्धमा र पुँजीवादी समाजमा पुँजीपति वर्गको हितमा र अरू सबै (किसान, मजदुर, उत्पीडित) को विरुद्धमा प्रयोग हुँदै आएको छ । वर्तमान नेपालको सन्दर्भमा केन्द्रित हुनुपर्दा यहाँको अहिलेको सत्ता दलाल पुँजीपतिवर्गको हातमा रहेको छ । जब पुँजीवाद साम्राज्यवाद अर्थात् एकाधिकार पुँजीवादमा पतन भयो त्यसले साना देश र कमजोर अर्थतन्त्रको घाँटी निमोठ्यो र उनीहरूलाई आफ्नो उत्पादित मालको व्यापार गर्ने र त्यसबापत निश्चित कमिसन दिन थाल्यो । आज विश्वका सबै पुँजीपतिहरू एकाधिकार पुँजीवादको स्थानीय एकाइ वा कारिन्दा भएका छन् । त्यसरी स्वतन्त्र अर्थतन्त्र र पुँजीपति वर्गको अन्त्य भएको छ र एकाधिकार पुँजीवादको माल बेचेर कमिसन खाने वर्ग (दलाल पुँजीपति वर्ग) को उदय भएको छ । एकातिर देशमा दलाल पुँजीवादी व्यवस्था र जनताबीचको अन्तरविरोध प्रधान बनेको छ भने अर्कोतिर निगम पुँजीवादको जन्म भएको छ जसको कारण विश्वमा उदारीकरण, भूमण्डलीकरण, निजीकरण र व्यापारीकरण बढ्दो छ । विश्वलाई एउटै डालोमा राखेर सबै पक्षमा हस्तक्षेप भइरहेको छ जसको कारण अति केन्द्रीकरण भएको छ । विश्वमा एकाधिकार पुँजीवाद झन्झन् उत्कर्षतिर गइरहेको छ । एकाधिकार पुँजीवादको अनिवार्य परिणाम युद्ध भएकाले पुँजीवाद सङ्कटतिर धकेलिइरहेको छ । युद्ध, हस्तक्षेप र शोषण बढ्दै गएको छ ।

देशमा रहेको दलाल पुँजीवादी व्यवस्थाका कारण, सीमित मान्छे सुख, सयल र आनन्द मनाइरहेका छन् भने बहुसङ्ख्यक मानिस कष्टपूर्ण जीवन बिताइरहेका छन् । विश्वमा विकास भएको पुँजीवादका कारण देशको अर्थतन्त्र चौपट हुँदै गएको छ जसको कारण सीमित व्यक्तिमा विश्वको सम्पत्ति केन्द्रित हुँदै गएको छ भने जनता झन्झन् गरिब बन्दै गइरहेका छन् । एकाधिकार पुँजीवादका कारण राष्ट्रिय पुँजी विकास हुन नसक्ने मात्र होइन, सडकमा सुत्ने अवस्था देखापर्दछ । जल, जमिन, जडीबुटी, कृषिलगायत विकासका कैयौँ सम्भावना बोकेको मुलुक नेपाल परनिर्भर र पराधीन बन्दै गएको छ जुन कुरा हामी निर्यात र आयातको सन्तुलन मिलाउन सकिरहेका छैनौँ । त्यसको अन्तर फराकिलो परेको छ । आयात ९१ प्रतिशत हुँदा निर्यात ९ प्रतिशत रहेको छ । आयात र निर्यातको सन्तुलन मिलाई विकास गर्न सकेपछि मात्र आत्मनिर्भर र स्वाधीन बन्न सकिन्छ । आज देशका ठूला उद्योगधन्दा सबै ध्वस्त भएका छन् । त्यतातिर कसैलाई सोच्ने फुर्सदै नै छैन । देशमा रोजगारीको व्यवस्था नहुँदा कामका लागि करिब ७ लाख युवा विदेशी भूमिमा काम गर्न बाध्य छन् । हरेक दिन ठूलो सङ्ख्यामा देशबाट बाहिरिने क्रम बढ्दो छ । यसले के प्रश्न उब्जाएको छ भने कतै युवाविहीन मुलुक त बन्ने होइन ? सरकार गम्भीर बनेको देखिँदैन । देशमा बेरोजगारको सङ्ख्या ह्वात्तै बढ्ने देखिन्छ । भ्रष्टाचार कमिसन र घुसघोरी बढ्दो छ । जनता महँगी, कालोबजारियाका कारण हैरान परेका छन् । राष्ट्रियताका विषयमा कुरा गर्दा त स्वाभिमानी नेपालीहरूको लाजले शिर झुकाउनुपर्दछ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा हस्तक्षेप रहेको छ । यसमा नेपालका शासक वर्ग गर्वले शिर ठाडो पारेर हिँड्दछन् । यसैलाई गर्वको विषय बनाउँछन् । हाम्रो देशका शासकहरू नेपाल र नेपालीबाट होइन, नेपाल र नेपालीको हितमा चलेको छैन । यथार्थमा भन्नुपर्दा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको नीति÷निर्देशनमा र उनीहरूकै हितलाई केन्द्रमा राखेर चलाइएको र चलेको छ । प्रभुलाई खुसी बनाउनु, नीति र निर्देशन मान्नु यहाँका शासकहरूले आफ्नो धर्म र कर्तव्य ठान्ने देखिन्छ । जुन धर्म र कर्तव्य पूरा गरेबापत आफ्नोआफ्नो ठाउँमा कुर्सी सुरक्षित रहन्छ र जसको परिणामस्वरूप पुँजी प्राप्त हुन्छ अनि धनाढ्य वर्गमा परिणत हुन्छन् । नेपालको वर्तमान अवस्था र वास्तविकता यस्तो रहेको छ ।

यति बेला संसदीय व्यवस्था सुदृढ भएको, शान्ति, समृद्धि र विकासको कुरा गरिरहेका छन् किनकि स्थानीय र केन्द्रको चुनाव सकिएको छ । कथित् वाम–गठबन्धनको बहुमतको सरकार बनेको छ । जसले जनताबाट चुनिएको, जनताद्वारा अनुमोदित गरेको भन्दै गर्वले छाती फुलाएका छन् । अब हाम्रो तागतलाई कसैले हल्लाउन सक्दैन, रोक्न सक्दैन, सबैभन्दा राम्रो गरेर देखाउँछौँ । जनतामा केही आशा पनि पलाएको देखिन्थ्यो किनकि जनता जहिले पनि परिवर्तन आओस् भन्ने सोचाइ र चाहना राख्छन् । अब कम्युनिस्टको सरकार आयो । त्यसमा पनि बहुमतको सरकार, केही गर्छ भन्ने भ्रम थियो तर जनताको त्यो आशा र चाहनाविपरीत जान थालेपछि जनतामा निराशा र अविश्वास पैदा हुन थालेको छ । हामीले चुनावकै समयमा भनेका थियौँ, यसले जनताको हित गर्दैन, राष्ट्रको हित हुँदैन, बरु सिंहदरबारको राष्ट्रघात र जनघातको दलाल प्रवृत्ति गाउँ स्तरसम्म पु¥याउने कामलाई वैधानिकता दिने मात्र हो । आज घटनाक्रममाले त्यो कुरा सही साबित गरेको छ । जनताले बुझ्दैछन् अझ बुझ्न आवश्यक छ, विषको बोट रोपेर त विष नै फल्छ नि । विषको बोट रोप्ने अनि अमृत फलोस् भनेर आस गरेर हुँदैन । जे रोप्यो त्यही फल्यो ।
आज जनताको जीवनस्तर, झन्भन्दा झन् कष्टकर बन्दै गएको छ । जताततै भ्रष्टाचारी, घुसघोरी, महँगी ह्वात्तै बढेको छ । बिहानीले दिनको झल्को दिन्छ भनेझैँ जब चुनावको विषय उठ्यो, सङ्घीयताको विषय उठ्यो प्रारम्भमा नै, जसरी सङ्घीयताको आधारभूत मूल्य–मान्यतामा नै नटेकी, भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्न थालियो । साथै शक्तिका आधारमा केन्द्रहरू निर्धारण गर्न थालियो । त्यही समयदेखि नै जनतामा एकता भावभन्दा विकेन्द्रित भावना पैदा ग¥यो । क्षेत्रीयता र भेगीय मनोविज्ञान र सोचाइ पैदा गरिदियो । कतिसम्म उत्कर्षमा पुग्यो भने एउटा ठाउँ र अर्को ठाउँका जनताबीच सङ्घर्ष नै भयो । कतिपय ठाउँमा त चुनावमै जनता भाग लिन गएनन् । आजसम्म त्यो भेद मेटिनुको सट्टा बढ्दै जाने देखिन्छ । साथै माथिदेखि तलसम्म जुन संरचना खडा गरियो र सँगै जुन जारी सङ्ख्यामा कथित जनप्रतिनिधिहरू रहेका छन्, त्यसको सेवासुविधा उपलब्ध गराउँदा, ठूलो आर्थिक भार पर्न जाने हुन्छ । देशको अर्थतन्त्र कमजोर र खस्किँदो अवस्थामा रहेको बेला यो सेवासुविधा उपलब्ध गराउने कुराले ठूलो चुनौती खडा गरेको छ । आफैँँले निर्माण गरेको संरचना र कथित प्रतिनिधिका कारण आफैँ भार थेग्न नसकी ढल्ने अर्थात् पुरिने खतरा बढेको छ । अर्को ध्यान दिने कुरा के छ भने केन्द्रको अधिकारलाई तलतिर केन्द्रित गर्ने भने पनि केन्द्र र प्रदेश, प्रदेश र स्थानीयबीचको काम, कर्तव्य र अधिकार स्पष्ट पार्न र हुन नसक्दा ती सबै निकायहरू काम गर्न सकिरहेका छैनन् । बरु माथिले तल र तलले माथि देखाउँदा जनता अन्योल र अकर्मण्यतामा पर्ने देखिन्छ । उनीहरूबीच पनि अन्तरविरोध बढ्ने देखिन्छ । यो सरकारले लिएको गलत नीति र कार्यक्रमका कारण जनतामा तीव्र असन्तुष्टि बढेको छ । उनीहरू जे भन्छन् त्यो गर्दैनन्, जे गर्दैनन् त्यो भन्छन् । उनीहरूमा भनाइ र गराइबीचमा फरक हुन्छ भन्ने कुरा परिणामले देखाएको छ । चुनावको बेला शान्ति, समृद्धि र विकास निर्माणका नारा लगाएका थिए । आज ठीक उल्टो भइरहेछ । एक हजार रुपैयाँ कर तिर्ने जनताले २० हजार तिर्नुपर्ने भयो । हिजो एक ठाउँमा दर्ता गरेर हुने संस्था आज तीन ठाउँमा गर्नुपरेको छ ।

जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएका सामानहरूको भाउ ह्वात्तै बढेको छ । दिनदहाडै छोरीचेलीहरू सामूहिक बलत्कारको सिकार भएका छन् । कैलालीकै घटना लिऊँ, १२ कक्षामा पढ्दै गरेको, विद्यार्थीलाई बोक्सीको आरोपमा चरम यातना दिइएको छ । त्यस्तो अवस्थामा जनताको प्रतिनिधि भन्नेहरू मूकदर्शक भएका छन् र अझ दोषीलाई कडा कारबाही गराउनुको साटो आफैँ साक्षी बसेर दोषीलाई छुटाएका छन् । यो कति दुःखद् र गैरजिम्मेवारीपन हो ? जुनसुकै ठाउँमा काम गर्दा पनि घूस नदिई काम नहुने जनगुनासो बढ्दो छ । जनताप्रति उत्तरदायित्वभन्दा आफू र आफ्नैलाई मुख्यतः पुँजी केन्द्रित गर्न थालेका छन् । कतिपय त गाडी र घोडाको जोहो गर्दैछन् । कतिपय जनताबाट उठाएको पैसा बोकी विदेश भ्रमणमा व्यस्त छन् । राष्ट्रियताको विषय झन् गम्भीर बनेको छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्त रूपमा अरुण तेस्रोको शिलान्यास गर्नुका साथै सुरक्षा खतरा बढेको भन्दै अन्तर्राष्ट्रिय सुरक्षा मान्यताविपरीत भारतीय सेना नेपाली भूमिमा प्रवेश गराउनु, सिमानामा भारतीय सुरक्षाकर्मीले जनतामाथि ज्यादती गरिरहनु, सिमाना मिचिइरहँदा पनि केपी ओली मूकदर्शक भएका छन् । ओलीको नक्कली राष्ट्रवाद उदाङ्गिएको छ । यी घटनाक्रमले इतिहासमा भएका राष्ट्रघातका सबै नजिर तोडेको छ । यसका कारण जनता छिटो र छोटो समयमा भ्रमबाट मुक्त हुँदैछन् र भन्दैछन्, ‘जुन जोगी आए पनि कानै चिरेको ।’ जुन सरकारमा आए पनि उस्तै । काङ्ग्रेस र यो कथित वामपन्थीको गठबन्धन सरकारमा के फरक भयो त ? जनताको बीचमा महत्वपूर्ण प्रश्न बनेर उब्जिएको छ ।

हाम्रो पार्टीले स्पष्ट पारिसकेको छ– हेर्दा फरक बाटो र फरक धारजस्तो देखिए पनि दुवै धार ः काङ्ग्रेसको लोकतान्त्रिक धार र कथित वामपन्थी गठबन्धनको मूल स्रोतचाहिँ एउटै दलाल पुँजीवाद नै रहेको छ । एमाले, माके र काङ्ग्रेस सबैले दलाल पुँजीपतिवर्गका हितहरूको प्रतिनिधित्व गर्छन् । उनीहरूका बीचमा वैचारिक चिन्तन, राजनीतिक कार्यक्रम र अर्थनीतिमा कुनै अन्तर छैन । ती सबै एकाधिकार पुँजीवाद साम्राज्यवादका नेपाली प्रतिनिधि, स्थानीय एकाइ हुन् । उनीहरूबीचको अन्तर केवल साम्राज्यवादलाई कसरी चाकरी गरेर आशीर्वाद थाप्ने र कसले जनतालाई धेरभन्दा धेरै भ्रम दिएर लुट्ने भन्ने कुर्सी झगडा मात्र हो ।

काङ्ग्रेस र कथित वामपन्थी गठबन्धनको सरकार फरक थिएनन्, मूल एउटै, धार दुईटा बगेजस्तो देखिन्थ्यो । मूल नै खराब भएपछि धारामा पानी शुद्ध र सफा खोज्नु त झनै मूर्खतासिवाय केही होइन । आज फेरि जनतालाई मूर्ख बनाउने काम भएको छ । वास्तवमा भन्नुपर्दा कथित वामपन्थी गठबन्धनको जुन सरकार छ त्यो वास्तवमा कम्युनिस्टको सरकार थिएन । कम्युनिस्टको आवरणमा वास्तविक कम्युनिस्ट क्रान्तिकारी र क्रान्तिकारी आन्दोलनलाई रोक्न र सिध्याउन साम्राज्यवादीको षड्यन्त्रमा ल्याइएको साथै निर्माण गरिएको सरकार हो । त्यसैले जनता र राष्ट्रको हितमा यो सरकारले काम नगर्ने कुरा सत्य थियो । त्यसैले जनताले बिस्तारै विकल्प खोज्न थालेका छन् । इतिहासले के पुष्टि गरिसकेको छ भने जनता जहिले पनि अग्रगमन र परिवर्तनका पक्षमा हुन्छन् । जुन पार्टी जनता र राष्ट्रका पक्षमा सोचेको र अगाडि बढेको ठान्दछन्, देख्छन्, जनताले उसैलाई साथ दिन्छ । अहिले पनि योभन्दा पृथक हुनेछैन । आज जनताले विकल्प खोज्दैछन्, नेपाल कम्युनिस्ट पार्टीले लिएको विचार र जनसत्ताप्रति आशावादी बन्दैछन्, विश्वास पलाउँदैछ ।

वर्तमान अवस्थामा जुन स्थिति पैदा भएको छ यसले जनसत्ताको आवश्यकता र महत्व बढाएको छ । त्यसैले गर्दा पनि जनसत्तालाई कसरी बुझ्ने र कसरी अगाडि बढाउने भन्ने कुरा निकै महत्वपूर्ण विषय बनेको छ । जनसत्ता भनेको के हो ? जनसत्तालाई बुझ्दा जे हो त्यही बुझाउनुपर्दछ । यसलाई न न्यूनीकरण गरेर बुझ्नु हुन्छ, न त अवमूल्यन गरेर बुझ्नु नै हुन्छ । न यसलाई निरपेक्षतामा लिनु हुन्छ । त्यसैले हामीले जुन जनसत्ताको कुरा गरिरहेका छौँ, निर्माण गर्न खोजिरहेका छौँ त्यसको साइनो र सम्बन्ध धेरै टाढासम्म जोडिएको छ । यसका बहुआयामिक पक्षहरू छन् र दूरगामी महत्व छ । आज सत्ताको कुरा गरिरहँदा यसको बहुआयामिक र दूरगामी महत्व राख्ने पक्षहरू छन् । तत्कालको सन्दर्भमा जनताको सेवा, सुरक्षा, न्याय र विकास निर्माण गर्ने कुरा त छँदैछ, त्यसरी मात्र बुझ्दा अपुग हुन्छ ।

पहिलो, जनसत्ता हाम्रो कार्यनीति हो भने वैज्ञानिक समाजवाद हाम्रो रणनीति हो । रणनीति कार्यनीतिसँग जोडिने कुरा र रणनीतिलाई कार्यनीतिले सेवा गर्ने कुरा सत्य हो । त्यसैले अहिले निर्माण गर्दै गरेको जनसत्ता पूर्ण रूपमा विजय प्राप्त गरिसकेपछि निर्माण गरिने वैज्ञानिक समाजवादी व्यवस्थाको प्रारम्भिक रूप अर्थात् भ्रूण हो । दोस्रो, हामी क्रान्तिकालमा छौँ । पूर्ण रूपमा सत्ता प्राप्त नगरेको सन्दर्भमा जनसत्ता मूल सङ्घर्षको साधनका रूपमा व्यक्त हुने गर्दछ । तैपनि माथि केन्द्रमा हस्तक्षेपकारी, तल कार्यकारी भूमिका रहनेछ तर पार्टीको विस्तार र पार्टी बलियो हुँदै जाँदा कार्यकारी भूमिकामा रूपान्तरित हुँदै जानेछ । सधैँं सङ्घर्षको साधनका रूपमा रहिरहनेछैन । तेस्रो, सत्ताका सन्दर्भमा अर्को महत्वपूर्ण पक्ष कसरी वैज्ञानिक प्रभावकारी र सशक्त बनाउने भन्ने हुँदो रहेछ । आज जनसत्ता सञ्चालनमा जति सफल हुन सक्छौँ भोलि त्यत्ति नै सत्ता सञ्चालन प्रभावकारी र सक्षम बन्ने हुन्छ । त्यसैले अहिले जनसत्ता निर्माणको आवश्यकता र महत्व अहम् रहेको छ । जनसत्ताको आवश्यकता र महत्वको सन्दर्भमा कुरा गरिसकेपछि तत्काल जनसत्ताका कामलाई कसरी अगाडि बढाउने र व्यवस्थित गर्नेबारे जोड गर्न आवश्यक छ ।

वर्तमान परिवेशमा सत्तासम्बन्धी कामलाई अगाडि बढाउँदा पहिलो प्राथमिकता वैचारिक–राजनीतिक पक्षलाई बुझाउनुपर्दछ । वैचारिक–राजनीतिक रूपमा स्पष्ट भएर मात्र अरू प्रक्रियामा अगाडि बढाउन र बढ्न सकिन्छ । अझ ठोसमा भन्दा विचारको हतियारद्वारा जित्नु भनेको अर्को अर्थमा युद्ध जित्नुजस्तै हो । त्यसैले, तत्कालीन अवस्थामा हेर्दा जनसत्ताको आवश्यकता र महत्व बुझाउने अनि रणनीतिक दृष्टिले हेर्दा वैज्ञानिक समाजवाद कस्तो हुन्छ, के हुन्छ भन्ने बुझाउने । कुन अर्थमा दलाल पुँजीवादी व्यवस्था, साम्राज्यवादी व्यवस्था भिन्न छ भन्ने कुरा स्पष्ट पार्नुपर्दछ । अहिलेकै सन्दर्भमा के पनि स्पष्ट पार्नुपर्छ भने माके–एमालेले भनेको समाजवाद र नेपाल कम्युनिस्ट पार्टीले भनेको वैज्ञानिक समाजवादका बीचमा भिन्नता के छ ? यी विषयमा आमजनता, मध्यमवर्ग, बुद्धिजीवी, राष्ट्रवादी र विरोधीलाई समेत यसका बारेमा बुझाउनुपर्दछ । यो व्यवस्था गलत छ । जनसत्ता र वैज्ञानिक समाजवाद सही छ भन्ने बनाउनुपर्छ । दोस्रोमा सङ्गठनात्मक पक्ष हो । सङ्गठनात्मक काम भनेको महत्वपूर्ण काम हो । सङ्गठन भनेको बल हो । सङ्गठनबिना कुनै पनि नीति र योजना लागू गर्न सकिँदैन । त्यसकारण जनसत्ता निर्माणको कामलाई तीव्रतामा लैजानुपर्दछ ।

हाम्राअगाडि सङ्गठन निर्माणका दुई तरिका छन् : अहिले हामीले प्रयोग गरेको तरिका भनेको माथिबाट संरचना खडा गर्दै तलतिर जाने छ, तलबाट निर्माण गर्दै माथि ल्याउने होइन । त्यसैले पहिला जनसत्ताको संरचना तल (जमिन) सम्म पु¥याउन जोड लगाउनुपर्दछ । सङ्गठन निर्माण गर्दै जोड गर्ने महत्वपूर्ण पक्ष, एकीकृत जनक्रान्तिको कार्यदिशाले निर्देश गरेझैँ गाउँ मात्र होइन, सहरमा पनि जनसत्ता निर्माण गर्नुपर्छ । जे होस्, गाउँदेखि सहरसम्म, माथिदेखि तलसम्म सबै ठाउँमा जनसत्ता निर्माण गरिनुपर्दछ । हाम्रो सत्ता निर्माण हुनु भनेको दलाल सत्ता कमजोर हुनु हो । जति हाम्रो सत्ता निर्माण हुन्छ, बलियो बन्छ, त्यति दलाल पुँजीवादी सत्ता कब्जा र ध्वस्त हुन्छ । तेस्रो, सत्ताले सङ्घर्षका विषयमा पनि आफ्नो कामलाई केन्द्रित गर्न आवश्यक छ । सङ्घीयताका बारेमा छलफल गर्दा होस् वा व्यावहारिक रूप दिँदा हरेक क्षेत्र र ठाउँ, आम र विशिष्ट छुट्ट्याउनुपर्दछ । त्यसो गर्दा आमविषय केन्द्रले जोडिदिने हुन्छ, स्वायत्त प्रदेश र जिल्लाहरूले त्यहीँको विशिष्ट मुद्दामा केन्द्रित हुनुपर्दछ । त्यसका साथसाथै गाउँ र सहरको सङ्घर्षको तालमेल र सङ्घर्षको उठानमा छनोट गर्नुपर्दछ । गाउँ र सहरमा उस्तै नहुन सक्छ । बलियो आधार क्षेत्र र श्वेतइलाकामा एकै नहुन सक्छ । जे होस् यी कुरालाई ख्याल गर्दै अगाडि बढ्नुपर्छ । प्रचारको क्षेत्रलाई व्यापक बनाउनुपर्दछ । अपिलद्वारा पर्चा, वालपेन्टिङ, होर्डिङ बोर्ड इत्यादि तरिकाद्वारा सत्ताको विषयलाई व्यापक बनाउनुपर्छ । चौथो, आर्थिक विषय महत्वपूर्ण विषय हो । आर्थिक आधार हो, राजनीतिक उपरिसंरचना हो ।

यसको महत्व र व्यापकतातिर अहिले जान चाहेको होइन । जनसत्ता निर्माणसँगै आर्थिक केन्द्रित गर्ने, बजेट निर्माण प्रणालीमा अगाडि बढ्नुपर्छ । जति सक्छौँ, यो प्रक्रियालाई अगाडि बढाउनुपर्दछ । सत्ता भन्नासाथ आर्थिक पाटो पनि जोडिएको हुन्छ । बिस्तारैबिस्तारै उत्पादनप्रक्रियामा पनि अगाडि बढ्नुपर्छ, बरु दुईवटा कुखुरा र एउटा खसी नै किन नहोस् । पाँचौँ, विकास निर्माणकार्यलाई पनि अगाडि बढाउन जरुरी हुन्छ, चाहे एक किलोमिटर बाटो किन नहोस्, एउटा भवन किन नहोस्, बिस्तारै विकासको पूर्वाधार बनाउँदै लग्नुपर्दछ । छैटौँ, न्यायको कामलाई, जनताको न्यायलाई सशक्त प्रभावकारी बनाउनुपर्दछ जसले गर्दा अन्यायमा परेका जनतालाई न्याय दिलाउन सकियोस् ।
२०७५ साउन ६ गते बिहान १० : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :