उद्घाटित गोपनीयता : पूर्ण विराम

आत्मको अपघात भएको दुःखद् घटनामा समेत यो वर्ष
सार्वजनिक रूपमा हुन पाइएन
सभा र समारोहमा समेत यो वर्ष लिन पाइएन
महान् मानिसका नामहरू
सहिदहरू जन्मेका दिनहरूमा समेत
सहिदका पटहरू बोकेर सहरको परिक्रमा गर्न पाइएन
पटहरूमा ताजा प्रसूनका पत्रहरू चढाएर
चुँडेर श्रद्धासमेत अभिव्यक्त गर्न पाइएन
प्रकृतमा निकै रोइयो यो वर्ष
अत्यन्तै गोपनीयता कायम गरेर
र रोदनपश्चात् अत्यन्तै कठोर पनि भइयो
प्रतिशोधलाई अत्यन्तै गोप्य रूपमा
बेस्करी आँगालो मारियो र किरिया पनि खाइयो
हिंसाको जबाफमा झीर तताएर तातो झीर प्रयोग नगरेमा
सपूत नभनियोस्, कपूत भनियोस्
यो वर्ष देशमा
खतरनाक छिमेकीले हस्तक्षेप गरेको विरोधमा
वाक्स्वतन्त्रता संयमित साथ प्रस्तुत गरेकोमा समेत
हातमा हतकडी लगाइयो
जनजीविकाको सवालमा जिब्रो चलाएको हुनाले
मानसिक र शारीरिक यातनासमेत पाइयो
यस कुरालाई गरिएन मनबाट विलुप्त
प्रकृतमा यस कुरालाई अत्यन्तै गम्भीरताका साथ
आफ्नो ढाडमा बोकियो
दिनहुँजसो यस कुराको सम्झना गरियो र
भएभरका खकार निकालेर थुक्नुसम्म थुकियो
यो वर्ष गौरवको भाव पनि अत्यन्तै गोप्य रूपमा दिनका दिन भनेजस्तो लिइयो
एकान्तमा सदिच्छा पनि जाहेर गरियो
महान् मानिसहरूलाई कतै चोट नलागोस् भनेर
खान बस्ता मुलुकका निम्ति जोखिम उठाउँदै
लालटिन बोकी हिँडिरहेकाहरूको पनि सम्झना गरियो
उनीहरूले भोजन पाए कि पाएनन्
यस्तो चिन्ता पनि गरियो
उनीहरूले भोजन प्राप्त गर्न सकेनन् भन्ने ठहर पनि
आफूले कयौँ दिन लिइयो
यस्तो ठहर लिएको दिनमा बाहुना पनि बोकियो
आफ्नो उदरमा गडबड भएको र
जति खानुपर्ने त्यति नखाएर
यो वर्ष नयाँ चिन्तामा पनि रुमल्लियो
यो वर्ष क्रान्तिको विगुल बजाउनेहरूलाई
अत्यन्त गोप्य रूपमा दिनहुँजस्तो अभिवादन गरियो
देशका निम्ति आमूल परिवर्तन गर्न खोज्ने महान् विचारकका विचारहरू
अत्यन्तै व्यग्र रहेर यो वर्ष जताततै खोज्ने काम गरियो
पाइएको क्षणमा अत्यन्तै खुसी लागेको महसुस गरियो
नपाउँदा उदास पनि भइयो र
भोक लागेको बेलामा खाने कुरा नपाएको जस्तो
विचारकका विचार नपाउँदा
अनौठो किसिमको नवीन अनुभूति पनि लिइयो
फ्लिन्र्स स्ट्रिट, मेलवर्न,
भिक्टोरिया, अस्ट्रेलिया
२०७५ असार २१ गते बिहीबार दिउँसाे २ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :