सम्पर्कद्वारा सङ्घर्षको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले पार्टी नेता र सङ्गठनका कार्यकर्तालाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष रत्न मगरले मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन् ।

गत शनिबार काठमाडौँको नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आयोजना सङ्गठनले आयोजना गरेको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रमबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य, जनपरिषद् नेपालका उपप्रमुख एवम् पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजका अध्यक्ष रत्न मगरलगायत ४२ जनालाई गिरफ्तार गरी हिरासतमा राखिएको घटनाका विरुद्ध मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खुला कार्यक्रमबाट गिरफ्तार गर्ने, हिरासतमा राख्ने र झूट्टा मुद्दा लगाउने सरकारको निरङ्कुश रबैयाप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । केपी सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गरी गिरफ्तार गर्नु र झूट्टा मुद्दा लगाउनु सामाजिक फासिवादको अभ्यास हो । यो घटनाको जति निन्दा गरे पनि कमै हुन्छ ।’

‘गिरफ्तारीमा परी झूट्टा मुद्दा लगाइएका नेकपाका केन्द्रीय नेताहरु र यस सङ्गठनका सदस्यसहित सातैजनालाई बिनासर्त तत्काल रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन कडा सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । सङ्घर्षबाट उत्पन्न हुने परिणामको जबाफदेही यही दलाल संसद्वादी सरकार हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रमबाट केन्द्रीय सचिव पूर्ण श्रेष्ठ, कोषाध्यक्ष अर्जुन कटुवाल, केन्द्रीय सदस्यहरु हरि श्रेष्ठ, सुशील बलम्पाकी, नरोत्तम पाण्डे, शिव राई, राजु कार्की, गणेश बस्नेत, रणबहादुर पुन मगर, पदम मगर, शम्भु आचार्य, दानबहादुर कुमाल, विक्रम पौडेल, ध्रुवीकरणमा आउनुभएका लालबहादुर मगर (एलबी) लगायत ४२ जनालाई कायरतापूर्वक गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको थियो ।

यसमध्ये पार्टीका पोलिटब्युरो सदस्यद्वय पदम राई र भरत बम, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक सम्पर्क मञ्चका शिव राई, केदार राई, नरोत्तम पाण्डे र रणबहादुर पुन मगरलाई प्रहरीले ५ दिनको म्याद थपी सार्वजनिक मुद्दा लगाएर हिरासतमै राखेको छ । विज्ञप्तिको पूर्णपाठ –


२०७५ असार १९ गते मंगलबार अपरान्ह ५ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :