के फेरि अर्को विश्वयुद्ध होला ?

पछिल्लो समयमा विश्व विस्फोटक बन्दै गइरहेको छ । विश्वका विभिन्न भागमा घोषित अघोषित युद्धहरू भैरहेका छन् । आर्थिक असमानता चरम भएको छ । शक्तिशाली राष्ट्रहरूका बीचमा एकअर्का विरुद्ध वक्तव्य बाजी चलिरहेको छ । युद्धहतियारको निर्माण र विकास पनि परिमाणात्मक र क्षमतात्मक रुपमा कैयौं गुना बढेर गएको छ । वैभवशाली र महाशक्तिशाली कहलिएका राष्ट्रहरू तीब्र ध्रुवीकृत भएका छन् । वर्तमान विश्वमा यी विशेषताहरूले अनिष्टताको संकेत गर्दछ । यो संकेतलाई हेरेर केही मान्छेहरू अब तेस्रो विश्वयुद्ध हुन्छ भन्दै छन् भनें केही ९० को दशकमा अन्त भएको शितयुद्धको पुनः शुरुआत भएको भन्न थालिएको छ । जसरी विभिन्न क्रियाप्रतिक्रियाहरू आइराख्दा विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढि अशान्त बन्न पुगेको कुरा चाँहि सही हो ।

यसअघिका विश्व युद्धहरू

मानव इतिहास नै युद्ध नै युद्धले भरिएको छ । त्यसमा पनि विश्वले यस अघि दुईवटा विश्व युद्ध भोगिसकेको छ । पहिलो विश्वयुद्ध शुरु हुनुभन्दा पहिला विश्व तीब्र ध्रुवीकरणतिर गएको थियो । त्यसमा पनि पहिलो विश्वयुद्धको मुख्य केन्द्र र प्रभावित क्षेत्र युरोपका विभिन्न देशहरूका बीचमा सन्धि÷सम्झौता हुने गरेको भएपनि पुनः भत्किएर ती देशहरू युद्धमा गएका थिए । युद्धसँगै फरकफरक देशहरूका बीचमा गठबन्धनहरू बन्ने गरेका थिए । जस्तै उदाहरणका लागि सन् १९१० देखि १९१७ सम्म फ्रान्स–रसिया, बृटेन–रसिया, बृटेन–फ्रान्सका बीचमा सम्झौता हुँदै भत्किदै गरेका थिए । यसैगरी १८८८ देखि विश्व युद्ध भरी अष्ट्रिया–हंगेरी–इटाली, इटाली–जर्मनी, अष्ट्रिया–जर्मनीसँग यस समयमा त्रिपक्षीय गठगन्धन भैराखेका थिए । यसरी गठबन्धन हुने र भत्कनुको मुख्य कारण पहिलो आर्थिक रहेको थियो भनें दोस्रो सैन्य होड रहेको थियो । यद्यपी पहिलो विश्व युद्धको निमित्त कारण अष्ट्रिया–हंगेरीका राजकुमार आर्कड्युक फ्रान्ससिस फर्डिनान्ड र उनी श्रीमती सोफियाको हत्या बन्न पुगेको थियो ।

यस युद्धमा युरोपका धनी राष्ट्र प्रायः सबै, एशियाको धनी राष्ट्र भनेर चिनिएको जापानको सहभागिता रहेको थियो भनें विश्वका केही देशहरू बाहेक अरू तानिन पुगेका थिए । तर त्यो विश्व युद्ध मुख्यरुपमा साम्राज्यवादतिर उन्मुख भएका वा साम्राज्यवादी कहलाएका देशहरूका बीचमा चलेको थियो । यो
विश्वयुद्ध हुनाका कारणले पुरानो बृटिश साम्राज्यवाद कमजोर हुन पुगेको थियो । बलियो बन्न लागेको जर्मन, रुसी साम्राज्यवादहरूले ठूलो धक्का खाएको थियो भनें अमेरिकी साम्राज्यवादले तीब्र आर्थिक उन्नति गर्न पाएको थियो । भनिन्छ २ सय करोड पौण्ड ऋणमा रहेको अमेरिकाले हतियार, सेना बेचेर ३ सय करोड पौण्डको धनी हुन पुगेको थियो ।
सबैभन्दा पनि महत्वपूर्ण कुरा साम्राज्यवाद उन्मुख रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भई पहिलो पटक सर्वहारा वर्गको अधिनायकत्वमा समाजवाद स्थापना भएको थियो ।
त्यसैगरी पहिलो विश्वयुद्ध सकिएको २१ वर्षपछि दोस्रो विश्वयुद्धको शुरुआत भएको थियो । खराव शान्ति स्थापना, विग्रिएको भर्साइलस सन्धि–शान्ति लाद्नु, जर्मनीमा नाजीको उदय, इटलीमा फासीवादको उदय, जापानमा सैन्यवाद र विस्तारवादको उदय, अन्तर्राष्ट्रिय लिगले शान्ति कायम राख्न असफल हुनु, निशस्त्रीकरणको प्रयास असफल हुनु, राष्ट्रको अल्पसंख्यकको समस्या, गोप्य गठबन्धनहरूको खराव राजनीनि, १९३०को दशकको आर्थिक मन्दि, वैचारिक द्वन्द्व, तुष्टिपूर्ण पश्चिमा नीतिहरू नै दोस्रो विश्व युद्धका कारणहरू मानिएको छ ।

दोस्रो विश्वयुद्धका धेरै कारणहरू मध्ये समाजवाद स्थापना भएको सोभियत संघलाई साम्राज्यवादीहरू मिलेर ध्वस्त पार्नु थियो । हिटलरले समाजवाद कै नारा दिएर विश्व कब्जा गर्ने युद्धअभियान नै सञ्चालन गरेका थिए । त्यसबेला पुँजीवादी विश्वमा १९३०को दशकमा चरम आर्थिक संकट देखा परेको थियो । तर सोभियत संघले भनें आर्थिक विकास तीब्र पारिरहेको थियो । समाजवादी राज्यप्रणालीको विकास र विस्तार पनि भैरहेको थियो । प्रथम विश्वयुद्धबाट थिलोथिलो भएका पुराना साम्राज्यवादीहरूले पनि सोभियत संघको पतन होस् भन्ने सोचेका थिए । साथै आफ्नो आर्थिक संकटलाई समाधान गर्ने उपाय सोच्दै थिए । त्यसैले आफूले युद्ध बेहोर्नु नपरोस् र उनीहरू जर्मनीले मात्र आक्रमण गरेर सोभियत संघलाई ध्वस्त पारोस भन्ने चाहाना राख्दथे । यही चाहाना अनुरुप जर्मनीले पोल्याण्डलाई कब्जा गरेर सोभियत संघतिर प्रवेश गर्ने योजना बनाएको थियो । तर युद्ध उन्माद सबैलाई जित्ने अभियानमा हिडेको हिटलरलाई केवल सोभियत संघले मात्र परास्त गर्न सक्दथ्यो । हुन पनि त्यस्तै भयो ।

हिटलरको अन्त्यसँगै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । युरोपका शक्तिशाली राष्ट्रहरू युद्धले तहसनहस भएसँगै जापानी साम्राज्यवाद बलियो भएर देखा पर्दै थियो । यहीक्रममा दोस्रो विश्वयुद्धमा प्रत्येक्ष सभहागि नभएको अमेरिकाको पर्ल हार्बरमाथि जापानले आक्रमण गरेको थियो । बाहिर हेर्दा अमेरिकाले त्यसैको बदला लिएको तर वास्तविकतामा संसारकै सबैभन्दा शक्तिशाली र फासीवादी हिटलरलाई हराएको सोभियत संघलाई धम्की दिन जापानको हिरोसिमामा ६ अगस्त र ९ मा नागासाकीमा लिटिल ब्वाय र फ्याट म्यानले आक्रमण गरेसँगै दोस्रो विश्वयुद्धले विश्राम लिएको थियो ।

पहिलो विश्वयुद्ध अघि २ सय करोड पौण्ड ऋणमा डुवेको अमेरिका युद्ध सकिदै गर्दा ३ सय करोड पौण्डको धनी हुन पुगेको थियो । यो युद्धपछि अमेरिका साम्राज्यवादी देशका रुपमा उदायो भनें पहिलो र दोस्रो विश्वयुद्धका समयमा विश्व अधिकांश देशहरू उपनिवेशबाट मुक्त भएका थिए । युद्धको समाप्तीसँगै कैयौं देशहरूमा समाजवाद स्थापना हुन पुगेको थियो । यसरी प्रथम र दोस्रो विश्वयुद्ध मुलतः साम्राज्यवादी देशहरू बीचको युद्ध भएता पनि, अन्ततः साम्राज्यवादी फासिवाद र समाजवादको भीडन्तमा गएर टुङ्यिएका यी युद्धहरूको समाप्तीसँगै फासीवादको अन्त भएर समाजवादको स्थापनाको लहर सिर्जना भएको थियो ।

दोस्रो विश्वयुद्ध पछिको विश्व

दोस्रो विश्वयुद्ध लगतै विश्व शित युद्धमा प्रवेश गरेको थियो । पूर्व सोभियत संघको ब्लक(गुट) र अमेरिकी पश्चिमी ब्लक(गुट)का बीचमा भएको भूराजनैतिक तनावलाई शितयुद्ध भन्ने गरिएको थियो । दोस्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४७ देखि शुरु भएर पूर्व सोभियत संघको विघटन सन् १९९१ सम्म त्यो तनाव रहिरहेकाले यो काललाई शितयुद्ध काल भनियो । एक जना अंग्रेज साहित्यकार जर्ज ओर्वेलले दोस्रो विश्व युद्धको समाप्ती भैसकेपछि उनले लेखेको प्रसिद्ध निवन्ध “तिमी र परमाणविक बम”मा शित युद्ध भन्ने पदावली प्रयोग गरेका थिए । त्यहाँदेखि शितयुद्ध भन्ने चलन नै चल्यो । यो कालमा सोभियत संघ र अमेरिकाका बीचमा भौतिक युद्ध त भएन । तर दुवै देशले युद्धको तयारी भयानक रुपमा गरेका थिए । यी दुई शक्तिको आडमा धेरै युद्धहरू भएका पनि थिए । तर यहीकालमा चीन, भियतमान, उत्तर कोरिया, क्युवा जस्ता देशमा क्रान्ति सफल भएको थियो ।

२६ दिसेम्बर १९९१ का दिन सोभियत संघको विघटन भएको थियो । हुन त स्टालिनको निधनसँगै सोभियत संघमा वैचारिक विचलन शुरु भएको थियो । लेनिन र स्टालिनले स्थापना गरेको समाजवादी राज्य प्रणाली जसले फासीवादलाई पराजित मात्र गरेको थिएन, बरु विश्वसमाजवादी क्याम्पको धुरी बनेको थियो, त्यसलाई अमेरिकी साम्राज्यवादको गुरुयोजनालाई निखिता ख्रुश्चेव, ब्रेजनेव हुँदै गार्वाचोवसम्मका संशोधनवादीहरूले तोड्न सकेनन् । यसरी लेनिनले विकास गरेको माक्र्सवालाई प्रयोग गरेर सफल भएको र स्टालिनको नेतृत्वमा भएको फासीवाद विरुद्धमा जमेर लडेका करोडौं साभियत रुसका जनताको रगत र पसिनाद्वारा स्थापित र संरक्षित सोभियत संघ एउटा गोली पनि खर्च नगरिकन ढलेको थियो ।

९/११ पछिको विश्व

सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको न्युयोर्कमा रहेको विश्व व्यापार केन्द्रको जुम्ल्याह टावरमाथि हवाई जहाजद्वारा आक्रमण गरियो । अमेरकाले लामो समय लगाएर तयार पारेको ओसमा विन लादेनको अल कायदाद्वारा आक्रमण गरिएको आरोप लगाइएको त्यो घटनामा २ हजार ९ सय ९६ जनाको ज्यान गएको थियो भनें ६ हजार जति घाइते हुन पुगेका थिए । त्यसमा १० अर्ब अमेरिकी डलर बराबरको भौतिक संरचना ध्वस्त हुन पुगेको थियो । उक्त आक्रमणमा अमेरिकी सैन्य केन्द्र पेण्टागन, राष्ट्रपति कार्यालय ह्वाइट हाउस पनि परेका थिए । यो आक्रमणबाट अमेरिकामा भौतिक क्षति मात्र भएको थिएन, यसले पछिल्लो क्रममा अमेरिकाको आर्थिक, भौतिक र मानवीय क्षति मात्र हुन पुगेको थिएन, यसले अमेरिकाको साख नराम्रोसँग गिरेको थियो ।

अमेरिका शितयुद्धको शुरुआतदेखि ९÷११ को आक्रमणसम्म एकध्रुवीय साम्राज्यवादका रुपमा रहेको थियो । हुन त त्यसपछिको आफैले हुर्काको सद्दाम हुसैनको इराकमाथिको अमेरिकी गठकन्धनले उनलाई सत्ताच्युत गरेन कि पुँजीवादी कानूनहरूलाई पनि च्यातेर सद्दामलाई फाँसी दिएर मात्र अमेरिका शान्त हुन पुगेको थियो । ओसामा विन लादेनको षडयन्त्रपूर्ण हत्या, इराकमा सद्दामको अन्त गरेर पनि अमेरिका उस्तै बलियो छैन । बरु दिनप्रतिदिन कमजोर हुँदै गएको छ । बिना युद्ध यसरी किन अमेरिका कमजोर भैराखेको छ त ?

विश्व साम्राज्यवादको चरित्रमा केही फेरवदल आएको छ । लेनिनले सन् १९१६को मध्यतिर “साम्राज्यवादः पुँजीवादको चरम अवस्था” लेख्नु भएको थियो । साम्राज्यवादको चित्रण गर्दै लेनिनले १—उत्पादनको केन्द्रीकरण र पुँजीको विकासले यस्तो एकाधिकार सिर्जना गर्छ जसको आर्थिक जीवनमा निर्णायक भूमिका खेलेको छ । २—“वित्तीय पुँजीको” आधारमा औद्योगिक पुँजी र बैंक पुँजीको बीचमा विलय भयो र “वित्तीय कुलिन”मा परिणत भयो । ३—पुँजीको निर्यात, निर्यातित बस्तुबाट अलग गरिएको थियो, जुन अति महत्वपूर्ण थियो । ४—अन्तर्राष्ट्र भरी पुँजीवादको एकाधिकार, जसलाई उनीहरूले विश्वभरीमा विभाजन गरेका छन् । र, ५—विश्वलाई उनीहरूले प्रादेशिक विभाजन ठूला पुँजीवादीहरूका बीचमा गरेका, बताउनु भएको थियो ।
साम्राज्यवादको चरित्रका बारेमा लेनिन अहिले पनि ठीक हुनुहुन्छ । तर उहाँले चरित्रिकरण गरेका विशेषताहरूमा केही थप हुँदै गएको छ । पछिल्लोक्रममा नवउदारीकरण, निजीकरण, ब्यापारीकरण र भूमण्डलीकरणद्वारा विश्वव्यापी लुट मच्चाउनको लागि निगम पुँजीवादको उदय भएको छ । यो एकाधिकार पुँजीवाद कै दत्तक रुप हो ।

यसको चरित्र आधारभूतरुपमा परम्परागत साम्राज्यवादी भन्दा फरक देखिएको छ । यसको सरकारहरूलाई निरही बनाउने र केवल सहजकर्ताका भूमिकामा सिमित बनाउने, हरेक क्षेत्रमा अति केन्द्रीकरण र अति विशिष्टीकरण गर्ने, एउटै डालोबाट विश्व मानव समाजका सवै पक्षमा हस्तक्षेप गर्ने, सत्ताको सबै प्रमुख अवयवको खरिद गर्ने, नेपालको सम्बन्धमा सरकारसँग कम्पनीको हैसियतमा सन्धी सम्झौता गर्ने (जि.एम.आर., अपरकर्णाली), सरकारद्वारा आफ्नो हितमा नियम कानुन पास गर्न लगाउने, सरकारको आलोचना पनि गर्ने र एन.जिओ.आइ.एन.जी.ओ.हरू परिचालन गर्ने, विचार र प्रविधिलाई अलग गर्ने विशेषता रहेको छ । त्यसैले यसलाई उत्तर साम्राज्यवाद भन्ने गरिएको छ । यसको वैचारिक पक्ष भनेको “शक्तिलाई उज्यालोमा राख्नु हुदैन किन भने वाष्फिकरण हुन्छ” भन्ने विचारद्वारा परिचालित छ । अहिले औपनिवेशिक चरित्र पनि बदलिएको छ । नवऔपनिवेशिक हुन पुगेको छ । मार्केनटाइलवाद फेरि हावी भएको छ । सत्रौं शताब्दमिा राष्ट्रको व्यापार बृद्धिका लागि सुन र चाँदी संकलन गर्ने आर्थिक नीतिलाई नै मार्केनटाइलवाद भन्ने गरिएको थियो । अहिले त्यो मार्केनटाइलवादले पनि रुप बदलेर नवमार्केनटाइलवाद आइपुगेको छ । हुन त यसलाई विसौं शताब्दीको आर्थिक जसलाई नवशास्त्रिय अर्थतन्त्र भनी पुँजीपतिहरूले भन्ने गरेका छन् । यो प्रविधिमा आधारित रहेर तीब्ररुपमा आर्थिक विकास गर्ने उद्देश्यमा केन्द्रीत रहेको छ । यसले राज्यको कर प्रणालीलाई विस्थापित गर्ने, अनुदान, खर्च र सामान्यतः दर–सुची र कोटालाई नियमति गर्न अधिकार दिन्छ, राज्यलाई व्यापारमा अति शक्तिशाली हुनबाट बचाउँछ ।

सन् २००० पछिको विश्वमा देखा परेका यी विशेषताहरूले विगतमा नदेखिएका नयाँ अन्तर्विरोधहरू देखिएका छन् । पुँजीपतिहरूले अहिले चौथो औद्योगिक क्रान्ति भैरहेको बताएका छन् । चौथो औद्योगिक क्रान्ति कितावका लेखक एवं विश्व आर्थिक मञ्च(धयचमि भ्अयलयmयअक ँयचगm)का कार्यकारी अध्यक्ष एवं प्रोफेसर क्लाउज स्क्विबले चौथो औद्योगिक क्रान्तिलाई विशेष जोड दिएका छन् । उनका अनुसार इन्टरनेट बस्तु, रोबोटिज्, भर्चुअल रियालिटी, आर्टिफिसियल इन्टेलजेन्सहरूले मानव जीवनको कार्यप्रणालीलाई विद्युत र वातावरणमा भएको विकासले बदलिदिएको छ । जब कि तेस्रो औद्योगिक क्रान्ति जसलाई कहिलेकाँहि डिजिटल रिभोल्यसन पनि भन्ने गरिन्थ्यो, विसौं शताब्दीको मध्यदेखि कम्प्युटर र सूचना प्रविधिको विकासमा व्यस्त रह्यो ।

अहिले विज्ञान प्रविधिमा भएको विकासलाई औद्योगिकरण गरिएको छ । यसलाई उपभोग्य बस्तुका रुपमा ल्याइयो । यसैको फलस्वरुप राज्य भन्दा केही कर्पोरेटहरू धनी हुन पुगेका छन् भनें शक्तिशाली राष्ट्रहरूमा आवधिक आर्थिकचरम संकटहरू देखिइराखेका छन् । एंगेल्सले समाजवाद के हो भन्ने एक सन्दर्भमा भन्नु भएको थियो “अहिले युरोपमा प्रत्येक १० वर्षमा आर्थिक संकट आउने गरेको छ ।” तर अहिले त प्रत्येक ५ वर्षमा संकट देखा पर्न थालेको छ ।

सन् १९३०को दशकमा विश्वभरी नै चरम आर्थिक संकटपछिको ठूलो आर्थिक संकट अमेरिकामा देखा परेको थियो । सन्२००७–२००८ को वित्तीय संकट र सन् २००७–२००९ सम्मको १९ महिने सुप्रिम मार्टेज संकट देखा परेको थियो । यसको आफ्नै कथा छ । उनीहरूले बाहिर भन्ने र भित्र भएको कुरासँग धेरै तालमेल खाएको भेटिएको छैन । उनीहरूले वित्तीय पुँजी छायाँ बैंकिङ पद्दतिमा चल्यो भन्ने छ । घर निर्माण जस्तो अनुत्पादक क्षेत्रमा ठूलो रकम खर्च हुनु यस्तै यस्तै कारण देखाएका छन् । तर डोनाल्ड ट्रमले राष्ट्रपतिको पद सम्हालेपछि उनका अभिव्यक्तिहरूले अमेरिकामा चरम संकट परेको देखाएको छ । उनले चुनाव सकिने बित्तिक्कै “अगेन अमेरिका फस्ट” भन्ने नारा दिएका थिए । उनको यो भनाईले अमेरिका फस्ट नभएको स्पष्ट पारेको छ ।

विश्वको नयाँ अन्तर्विरोधहरू

पहिलो विश्वयुद्धबाट साम्राज्यवादी क्याम्पमा खडा भएको र दोस्रो विश्वदेखि साम्राज्यवादी क्याम्पको नेतृत्व गर्दै आएको अमेरिकाको आर्थिक, सैन्य शक्ति, बजार प्रभुत्व र प्रभाव दिनानुदिन खस्कदैँ गएको छ । सन् २००० पछि अमेरिकाले ठूल्ठूला आर्थिक संकट पनि बेहोरिरहेको छ । बाहिरी देशमा रहेका उसका बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूको बजार सांगुरिन पुगेको छ । देश भित्र कर्पोटहरूमा देखा परेको आर्थिकमन्दिको परिपूर्ति गर्नु पर्ने दवाव सिर्जना भैराखेको छ । त्यसले गर्दा आर्थिक विकासमा चरम संकट परिरहेको छ । देश भित्र विदेशी उत्पादनको बजार ह्वात्तै बढेर गएको छ । त्यसमा पनि चिनीयाँ बजारको प्रभुत्व दिनदिनै बढेको छ ।
पहिलो विश्वयुद्ध देखिनै हतियार उत्पादन र त्यसको बजारबाट आर्थिक उन्नति गरेको अमेरिका हतियार बजार खुम्चिन पुगेको छ । मुलरुपमा इराक युद्धपछि अमेरिकाको एकलौटी हतियार बजार खुम्चदै गएको छ । पाकिस्तानसँग त सम्बन्ध नै नराम्रो भैसकेको छ ।

विश्वका पछिल्लोक्रममा शक्तिशाली बन्दै गएको चीन, पहिलादेखि नै बलिया रुस र आणविक हतियारमा तीब्र विकास गरेको उत्तर कोरियाले घोषित वा अघोषितरुपमा अमेरिकामाथि मोर्चाबन्दि आक्रमण गरिराखेका छन् । बाहिर घोषणा नगरेको भएता पनि उनीहरूको व्यावहार हेर्दा रुसले कुटनीतिक, चीनले आर्थिक त्यसमा पनि व्यापारिक र उत्तर कोरियाले आणविक मैदान जमाएको देखिन्छ । यसरी अमेरिका इतिहासमा नै ठूलो घेराबन्दिमा परेको स्पष्ट छ । “त्जभ ग्लष्तभम क्तबतभक एचयदबदथि ज्बक ःयचभ ँयचभष्नल ःष्ष्तिबचथ द्यबकभक त्जबल ब्लथ इतजभच एभयउभि, ल्बतष्यल, यच भ्mउष्चभ ष्ल ज्ष्कतयचथ” शिर्षकको लेख अनुसार अमेरिका बाहेकका अन्य देशहरूमा ८ सय वटा अमेरिकी सैन्य क्याम्प भएको बताउका छन् । उनका अनुसार यी क्याम्पहरू ८० वटा देशमा रहेका छन् र यिनीहरूका लागि मात्र कम्तिमा पनि १ सय ५६ बिलियन डरल खर्च गर्नेगरेको छ । पछिल्लो क्रममा चीनले गरेको आर्थिक विकास, उत्तर कोरियाले गरेको आणविक हतियारको विकास र रुसको नयाँ रुपको पुनर्ताजगीले गर्दा अमेरिकाले बेहोर्नु परेको आर्थिक, व्यापारिक र सैन्य चुनौतिलाई उसले सहन गर्नै नसक्ने देखिन्छ ।

साउथ चाइना सिको तनाव

अहिले साउथ चाइना सिमा टापु र सामुद्रिक विषयलाई लिएर विवाद चरमचुलीमा छ । त्यो सामुद्रिक क्षेत्रको सार्वभौमिकतालाई लिएर चीन, फिलिपिन्स र भियतनाका बीचमा विवाद रहेको छ । यति मात्र नभएर विश्व व्यापारको ५ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार यहि बाटो भएर जान्छ । एक ट्रिलियन भनेका १० खर्ब हुन्छ । त्यस क्षेत्रको दावी नगरिराखेका कैयौं देशहरूले यस चाइना सिलाई अन्तर्राष्ट्रिय पानीका रुपमा हुनु पर्ने तर्क राखिरहेका छन् । अमेरिका जस्ता देशहरूले यस क्षेत्रलाई “स्वतन्त्र जलयातायात”को रुपमा उठाएका छन् । टापु विवादका साथै त्यहाँ रहेको चट्टान, त्यो क्षेत्रका ६ सय वर्ग माइल वरिपरिका असंख्य द्विपहरू, पैराकल(१३० को आसपासमा रहेका) द्विप, टोनकिन तटहरूमा विवाद रहिएको छ । त्यसैगरी इण्डोनेसियाको नजिक रहेको नाटुना द्विपको आसपासमा माछा मार्ने विषयमा विवाद रहेको छ । त्यहाँको कोरा तेल र प्राकृतिक ग्यासको उपभोगको साथै रणनैतिक रुपमा जाहजी यात्राको विवादका रहेको छ । २०१० मा चीनले आधिकारिक रुपमा नै संयुक्त राष्ट्र संघलाई चाइना पिस को विवाद कुनै जल यात्रा स्वतन्त्रताको विषय नभएर ताइवान र तिब्बतप्रतिको चाहाना हो भनेको थियो । त्यसैले यो क्षेत्र चीनले कुनै हालमा नछोड्ने देखिन्छ र पछिल्लोक्रममा चीनले हैकमवद्ध तरिकाले कब्जा गर्न खोजेर यो क्षेत्र तनाव ग्रस्त रहेको छ ।

सिरिया युद्ध

अहिले विश्वका शक्तिशाली राष्ट्रहरू सिरियालाई लिएर विभाजित र विवादित रहेका छन् । गएको अप्रिल ४ मा अमेरिका, बेलायत र फ्रान्सको गठबन्धनको मिलिमतोमा सिरियाको दमास्कसमा अमेरिकी सेनाले १ सय ३ वटा क्रुज मिसाइलद्वारा आक्रमण गरेको र विहान हुन नपाउँदै राष्ट्रपति डोनाल्ड ट्रमले मिसन एकम्प्लिस भनी ट्वीट गरेका छन् । तर त्यसको प्रतिवाद गर्दै रसियाले उसको ७१ वटा क्रुज मिसाइलहरूलाई आकासमा नै ध्वस्त पारेर अमेरिकाको आक्रमणलाई निस्प्रभावी बनाइ दिएको घोषणा गरेको छ । पछिल्लो यो परिघटनाले अमेरिकी र रसिया ध्रुवहरू फौजी रुपमा नै आमनेसामने भैराखेका छन् ।

सन् २०१३ देखि २०१५ सम्ममा सिरिया युद्धका कारण २ लाख ५० हजार जनाको ज्यान गैसकेको युएनले आधिकारिक तथ्याङ्क बाहिर ल्याएको छ । दमासकसमा रसायनिक हतियारको प्रयोग भैरहेको भनिएको छ । ४५ लाख सिरियालीहरूले देश छाडिसकेका छन् ।

सिरियाली राष्ट्रपतिका विरुद्धमा इस्लामिक स्टेटको जन्म गराउने नै अमेरिका हो भन्ने तथ्यहरू छन् । बाराक ओवामाको पछिल्लो कार्यकालमा मन्त्री बनेकी हिलारी क्लिन्टन यस योजनाका मुख्य योजनाका मानिन्छिन् । अमेरिको चाहाना विरुद्ध सिरियाका राष्ट्रपति बन्न पुगेका बसर–अल–असादका विरुद्ध लड्न तयार इस्लामिक स्टेटको एउटा समूहलाई हतियार, तालिम र आर्थिक सहयोग अमेरिकाले गरिरहेको कुरा जगजाहेर नै छ । त्यहाँ युद्ध शुरु हुँदै गर्दा अमेरिकाको नेतृत्वमा जर्मनी, फ्रान्स जस्ता शक्तिशाली राष्ट्रहरू पनि पछिलागेका थिए । इस्लामिक स्टेट “आतंककारी” रहेको भन्दै आएको अमेरिकाले त्यसैको एउटा समूहलाई बसरको सत्ता पलट्न प्रयोग गरिराखेको छ । रुसले पनि त्यही भनेर बसरको सत्ता टिकाइराख्न सैन्य लगायतका सहयोग गरिाखेको छ । यो युद्धमा आसपासका लिविया, टर्कीहरू पनि सामेल हुन पुगेका छन् । मध्यपश्चिममा अवस्थित एशिया र युरोपका देशहरूमा तनाव कायम छ ।

सिरिया युद्ध आन्तरिक रुपमा बसरको सत्ता र इस्लामिक स्टेटका बीचमा भएको जस्तो देखिएता पनि अमेरिका र रुसले पछिल्लो क्रममा निर्माण गरेका अत्याधुनिक सैन्य हतियारको परिक्षण स्थल बनिराखेको छ भनें रुस र अमेरिकाले शक्ति प्रदर्शन गरि एकअर्कालाई र बाँकी विश्वलाई ध्वांस दिने उपयुक्त तरिका हुन पुगेको छ ।
चाइना सिको तनाव र मध्यपश्चिमको तनावमा संयुक्त राष्ट्र संघ जुन पहिलो र दोस्रो विश्वयुद्ध ताका लिग अफ नेशनको रुपमा थियो त्यही हैसियतमा सीमित हुन पुगेको छ ।

विश्व युद्ध होला ?

एक जना लेखक सेबास्टियन केटलीले २४ अगस्त २०१७ मा एउटा रिपोर्ट तयार पार्दै भनेका छन् “विश्व युद्ध” शुरु भैसकेको छ । उनका अनुसार उत्तर कोरियाको “अनियन्त्रित आणविक युद्ध”का कारण विश्वयुद्ध भएको बताएका छन् । यद्यपी हालै मात्र किम जोङ उनले आफूहरूले “आणविक हतियारको उत्पादनको काम रोकेको” भनेका छन् । पछिल्लो क्रममा उत्तर र दक्षिण कोरियाका बीचमा एकताका विषयलाई लिएर आरामदायी वातावरण बनिरहेको छ । २७ अप्रिलको विहानै दक्षिण कोरियाको पानमुनजोरमा किम जोङ्ग उन र मुन जेई इनका बीचमा भेट भएर कोरियाली प्रायः द्विप र कोरिया बीचमा १९५३ देखिको द्वन्द्व समाधान गर्ने प्रतिबद्धता जारि गरेका छन् । ट्रमले सावधानीका साथ स्वागत गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् “यो काम स्वाग योग्य छ । तर उत्तर कोरिया पूर्णरुपले आणविक रहित नभएसम्म अमेरिकाले दवाव दिइराख्छ ।” युद्धको धम्की दिन छाडेका छैनन् । हुन त उत्तर कोरियाका मार्शल र अमेरिकी राष्ट्रपतिका बीचमा भेटवार्ता हुने जनाइएको पनि छ । तर यी वार्ताहरूले अहिलेको विश्वका समस्याहरू समाधान हुँदैनन् । बरु यस्ता वार्ताहरूले शक्ति सञ्चित गरेर युद्धलाई अझ घनिभूत बनाएका विगतका परिघटनाहरूले पुष्टि गरेका छन् । विगत १ महिना विश्व अलि शान्त जस्तो देखिएको छ । त्यसलाई धेरैले आँधी आउनु अघिको शान्ति भन्ने गरेका छन् ।

जसरी अमेरिकाको गुरुयोजनामा र विचारमा भएको भयानक विचलनका कारण पूर्व सोभियत संघ एउटा गोली पनि नचलिकन ढल्यो, ठीक त्यसैगरी मुलरुपमा भ्लादिमिर पुतिन त्यसैगरी अमेरिकी साम्राज्यवादलाई सिंहासनबाट खसाल्न चाहान्छन् । यो गुरुयोजनामा चीन र उत्तर कोरिया पनि सहभागि भएको तथ्यहरूले पुष्टि गरिरहेको छ ।
यी बाहेक पछिल्लो क्रममा विश्वमा इतिहासमा नै सबैभन्दा बढि आर्थिक असमानता, पँुजीको अतिकेन्द्रीकरण, केही कर्पोरेटहरूको नियन्त्रणमा ठूला भनिएका राष्ट्रहरू रहनु, साम्राज्यवादी देशहरूको संख्या बढ्नु, ठूला, धनी र शक्तिशालीहरू बीचको द्वन्द्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा उत्कर्षमा पुग्नु, अत्याधुनिक र प्रविधि जडित सैन्य हतियारको निर्माण हुनु र प्रदर्शनी एवं परीक्षण भैराख्नु, धनी र शक्तिशाली राष्ट्रहरूमा ध्रवीकरण हुनुले अर्को विश्वयुद्धलाई अवश्यम्भावी बनाएको देखाएको छ । तर आणविक हतियारलाई कम्प्युटरको सहायताबाट सूचनाप्रविधि जडान गरिएका कारण युद्ध घोषणाले “न रह्यो बाँस न बज्यो बाँसुरी” हुने डर बीचमा आएको छ । जेहोस्, यो परिवेश वर्तमान विश्वका सच्चा कम्युनिस्टका लागि बस्तुगत अवस्था परिपक्क बनेको छ ।  स्रोत : दृष्टिकोण निर्माण मासिक, अंक ४ बाट
२०७५ असार १९ गते  दिउँसाे १२ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :