बलात्कारपछि युवतीको हत्या

 

काठमाडौं : नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत एक जवानले प्रेमको नाटक गरी एक युवतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले गत जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटको सुनकोसी किनारमा रामेछापकी २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्रहरीले पुष्टि गरेको रामेछापका पत्रकार राजन गाउँलेले जनाएका छन् । जेठ ११ गते रामेछापको मन्थली नगरपालिका ७ की २४ वर्षीया शिक्षक वसुन्धरा खड्काको शव सुनकोसी किनारमा प्रहरीले फेला पारेको थियो ।

अनुसन्धानका क्रममा भैरवनाथ गणमा कार्यरत दोलखा तामाकोसी ७ हावागैरीका ३६ वर्षीय लालबहादुर ढुंगेलले यौन प्रस्ताव राखेको र युवतीले नमानेपछि उनको हत्या स्वीकार गरेको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले पुष्टि गरेको जानकारी पनि उनले दिएका छन् । ‘प्रहरीको विशेष अनुसन्धान टोलीले ढुंगेललाई भैरवनाथ दलबाटै पक्राउ गरेर ल्याएको थियो । अनुसन्धानका क्रममा ढुंगेलले आफूले यौन सम्पर्क गर्न प्रस्ताव राख्दा नमानेपछि ढुंगाले टाउकोमा हिर्काएर युवतीको हत्या गरेको स्वीकारेका छन्’, प्रहरी प्रमुख यादवले उनीसँग भनेका छन् । 

युवतीको हत्या गर्ने ढुंगेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । युवतीको हत्यापछि उनको मोबाइल फोन, ह्यान्ड ब्याग, पर्स, सुनका गरगहनालगायत सामग्रीसहित फरार ढुंगेललाई प्रहरीले ती सामग्रीसहित सार्वजनिक गरेको हो । प्रहरीले ढुंगेललाई जेठ ३० गते नै पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सोही सैनिक दलका जवान रामेछाप लिखु तामाकोसी ६ का सुरेश बुढाथोकी पनि तानिएका थिए । तर बुढाथोकीलाई निर्दोष ठह¥याइएको यादवले बताएका थिए ।

‘युवतीको टाउकोमा चोट लागेको, कालो रुमालले घाँटीमा बाँधेको, घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको अवस्थामा सुनकोसी किनारमा शव फेला पारेपछि अनुसन्धान क्रममा बुढाथोकीलाई नियन्त्रणमा लिइएको भए पनि उनी निर्दोष देखिएपछि उनलाई छाडिएको छ’, प्रहरी प्रमुख यादवले भने ।
युवतीको हत्या गरेर गहना, पैसा, पर्स र मोबाइलसमेत लुटेर लगेको अवस्थामा हत्यारा ढुंगेलले आफ्नो सबै मोबाइल अफ गरे पनि युवतीको फोन अफ नगरेको अवस्थामा उनको फोनको लोकेसनका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

ढुंगेलले सैनिक दलभित्रै लुकाएर राखेको अवस्थामा केही केटीको नागरिकता, अश्लील फोटो र १३/१४ वटा सिमकार्डसमेत बरामद गरेको जानकारी प्रहरीले दिएको छ । 

स्मरणीय छ, भैरवनाथ गण हत्या, यातना र आतंकका लागि विगतदेखि नै अत्यन्त कुख्यात मानिन्छ । जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादीका सयौँ नेता–कार्यकर्तालाई उक्त गणभित्रै यातना दिएर मारिएको थियो भने कतिपयलाई त्यहीँबाट बेपत्ता बनाइएको थियो । हत्या र आतंकमा संलग्नहरुलाई कुनै कारबाही नभएपछि त्यहाँका आपराधिक मनोवृत्तिका सैनिकको मनोबल बढिरहेको सर्वत्र चर्चा चलिरहेको थियो । युवती हत्याकाण्डका बारेमा सम्बन्धित सैनिक गणले भने केही खुलाएको छैन ।

२०७५ असार १८ गते सोमबार अपरान्ह ३ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :