ख्वामितका आँखा : ढुण्डीराज अधिकारी


असारको धमाधममा मैले पनि
हलोजुवा सिरान लगाएको थिइनँ नि हजूर
झमझम झरी परिरहेको बेला
एक हल गोरु थर्काएकै थिएँ नि हजूर
कोदालो र कोदाली पनि चलाएकै थिएँ नि हजूर
तर खै ख्वामितको आँखा ममा परेन नि हजूर !

ख्वामितले चप्लेटी ढुङ्गामा बसेर
आदेश फर्माएको बेला
हजूरकै आँखाअगाडि घुँडा धसेर
ब्याडमा बीउ काढेकै थिएँ नि हजूर
बीउका मुठा रोपाहारका हातहातमा
बाँडेकै थिएँ नि हजूर
खै हजूरले म गरिबमाथि निगाहा गरिबक्सेन नि हजूर !

तराईदेखि हिमालको फेदसम्म
परिश्रम गरेकै थिएँ नि हजूर
काँधमा हलोजुवा बोकेर उकालो चढ्दै
ओरालो झरेकै थिएँ नि हजूर
जीर्ण शरीरले सकी–नसकी हजूरको
भकारी भरेकै थिएँ नि हजूर
तर मालिकको आँखा टेढिँदा मेरो श्रम
बालुवाको पानी भयो नि हजूर !

मैले जति नै इमानदारीपूर्वक काम गरे पनि
तपाईंको मन जित्न सकिनँ नि हजूर
मेरो रगत–पसिना तपाईंकै लागि
बगाएको थिएँ नि हजूर
तर किन हजूरको आँखामा बस्न सकिनँ नि हजूर !!

२०७५ असार ५ गते मंगलबार बिहान १० : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :