आठ विद्यार्थी संगठनद्वारा थप आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बिहीबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले ओली सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले नीजि विद्यालयले मुल्य वृद्धि गरेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको तर सरकारले बेवास्ता गरेको भन्दै सरकारको घोर आपत्ति जनाएका छन् । शान्तिपूर्ण तवरबाट मूल्य वृद्धि फिर्ता गर्न र नीजि शिक्षाका सञ्चालकहरुले चर्को रुपमा बढाएको शुल्क फिर्ता गर्न आठ विद्यार्थी संगठनले गरिरहेको आन्दोलनलाई सरकारले सुनुवाई नगरेकोले जस्तोसुकै संघर्ष गर्न बाध्य हुने बताएका छन् । त्यसैगरी यही जेठ २७ गते संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया गर्ने, निजी शिक्षामा तीव्र गतिमा बढिरहेको नीजि तथा व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष कार्यक्रम तय गर्न र सार्वजनिक शिक्षामा नागरिकको पहुँच वृद्धि गराउन एउटा शक्तिशाली कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल क्रान्तिकारी नेतृत्व सहभागी थिए ।

विज्ञप्तिकाे पूर्णपाठ


२०७५ जेठ २४ गते बिहीबार बेलुका १० : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :