केपी सरकारको उपहार जनतामा मूल्यवृद्धिको मार

काठमाडौं : गत १९ गते राती १२ बजेदेखि लागू हुने गरी केपी शर्मा ओलीको सरकारले तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसरी गरिएको मूल्य वृद्धिले जनताले उपयोग र उपभोग गर्ने प्रत्येक वस्तुको मूल्य स्वतः बढ्ने गरेको छ । आफूलाई वामपन्थी भनेर भँजाउने र समाजवाद उन्मुख राज्य प्रणालीको स्थापनामा लागेको भन्ने यस सरकारले यसरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको ढाड सेकिरहेको छ ।

चुनाव सकिएर पनि देउवाले सरकार नछाडेपछि तत्कालीन एमालेका जनवर्गीय सङ्गठनहरूले पेट्रोलियम पदार्थको मूल्य बढेको निहुँमा सडक आन्दोलन गरेको धेरै दिन भएको छैन । तर केपी शर्मा सरकारमा पुगेको सय दिनभित्र ३ पटक मूल्य वृद्धि गर्दा पनि उनका आसेपासे कसैले विरोध गरेका छैनन् । सडकमा विरोधका स्वरहरू गुन्जिरहेका छन् । तर लोकतन्त्रको दुहाइ दिएर नथाक्ने यो सरकारले सुन्ने कान लगाएको छैन ।

नेपालको सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँ भनेको नेपाल आयल निगम हो । भर्खरै मात्र पनि जग्गा खरिदको विषयलाई लिएर त्यहाँ ठूलो भ्रष्टाचार भएका समाचारहरू आइरहेका छन् । यस्तो भ्रष्टाचारको अखडाले सरकारकै निर्देशनमा नियमितजस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिराखेको छ । अहिले पूर्व माओवादी नेता मातृका यादव आपूर्तिमन्त्री छन् । उनले यत्रो मूल्य वृद्धि हुँदा रोक्नुको साटो मैले केही गर्न सकिनँ, मलाई टेर्दैनन् भन्ने लज्जास्पद रुवाइ व्यक्त गरिराखेका छन् ।

सरकारले महँगी नबढेको दाबी गरिराखे पनि अहिले सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । यसको मुख्य कारण हो, पेट्रोलियम पदार्थमा भैराखेको मूल्य वृद्धि । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायात, ढुवानी, औद्योगिक उत्पादन र कृषि उत्पादनको मूल्य स्वतः बढ्दछ । त्यसैले एकातिर श्रम गर्ने जनताको दैनिक आय घटिरहेको छ । बेरोजगारी बढेको बढ्यै छ, जनताको व्यक्तिगत सम्पत्ति खिइराखेको छ । तर अर्कोतिर पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सबै वस्तुमा भएको मूल्य वृद्धिले जनताको आर्थिक समस्या झनै बढेर गएको छ । यो मूल्य वृद्धिले सरकारको असली रूप जनविरोधी भएको प्रस्टिएको छ । त्यसैले यो सरकारविरुद्ध सबैतिर तीव्र विरोध र आक्रोश पैदा भैराखेको छ ।
२०७५ जेठ २३ गते बुधबार मध्यान्न १२ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :