वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव

गताङ्कबाट क्रमश
हामी आज जस्तो समाज, अर्थ–राजनीतिक सम्बन्ध र वर्गहरूको विशेषतामा छौँ, लेनिन र माओले क्रान्ति गर्नुहुँदाको जस्तो विशेषतामा छैनौँ । हामी फरक र नयाँ खालको विशेषतामा छौँ । लेनिनभन्दा एक सय वर्षअगाडि र माओभन्दा पौने सय वर्षअगाडि आउँदा विश्व सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिक र सांस्कृतिक सम्बन्धहरूका दृष्टिले निकै फरक र नयाँ विशेषतामा पुगेको छ । त्यसैले पनि हाम्रो क्रान्ति लेनिनले जस्तो सहरबाट या माओले जस्तो गाउँबाट मात्र क्रान्ति हुने अवस्था छैन । जस्तो आज विश्वको आर्थिक, राजनीतिक, यातायात, प्रविधि, सूचना–सञ्चारजस्ता विशेषताले गाउँ र सहरका सीमाहरू मेटिँदै गएका छन् । वर्ग–उत्पीडन र अन्तर्विरोध पनि गाउँमा मात्र बढी केन्द्रित या सहरमा मात्र बढी केन्द्रित प्रकारको छैन । कुनै एक भूगोलसँग राज्यको अन्तर्विरोध प्रधान नभएर समग्र श्रमिक जनता र राज्यको बीचको अन्तर्विरोध मुख्य बन्दै गइरहेको छ । यस्तो परिस्थितिमा कुनै एक तरिकाद्वारा मात्र क्रान्ति गर्ने सोच्यौँ भने त्यो एकल प्रकारको हुन पुग्ने र समग्र समाजको विशेषताबाट कट्न पुग्नेछ । समाजको कुनै एक विशेषतामा मात्र केन्द्रित हुन पुग्नु या समग्र सामाजिक विशेषताबाट अलग हुनु भनेको जनताको बीचबाट अलग हुने पनि हो । एउटा क्षेत्रका जनता नै छुटिसकेपछि क्रान्ति स्वतः कमजोर हुन पुग्नेछ । तसर्थ, हामीले परिकल्पना गर्ने क्रान्ति सुरुमै समग्र क्षेत्रका जनतालाई एकताबद्ध गर्न नसक्ने खालको हुनु हुँदैन, त्यो सबै विशेषतः श्रमिकवर्गलाई सबैतिरबाट राज्यका विरुद्धमा सङ्गठित गर्ने र सत्तासीन–वर्गका विरुद्ध क्रान्तिमा गोलबन्द गर्ने विशेषतासहितको हुनुपर्छ ।

हामीले क्रान्तिका सन्दर्भमा यसरी सोच्दा नयाँ बहस उठ्नु स्वाभाविक हुन्छ र उठिरहेको पनि छ । केही कूपमण्डुक र रुढिवादीले त आफ्नै ‘सिङमा’ हानेको जस्तो पनि मानेका छन् र उतरङ्गे तर्क गर्दै, कुनै तुक नभएका विश्लेषण गर्दै हिँडेका छन् । उनीहरू तातोपानीमा परेको कुकुरजस्तो उफ्रिन पनि सक्छन् तर हामीलाई यसबारे कुनै पर्वाह छैन र हुनुहुँदैन । क्रान्तिका सन्दर्भमा सोच्ने जिम्मा संशोधनवादी, अवसरवादी, सुधारवादी भगौडा र कुवाको भ्यागुताजस्ता कुँजिएका कूपमण्डुक र रुढिवादीहरूको होइन, यो काम सच्चा क्रान्तिकारीहरूको हो, जति नै चाप पैदा भए पनि यसमा सोच्नैपर्छ । यस सन्दर्भमा लेनिनले भन्नुभएको थियो, “पूर्वेली देशहरूमा जसको जनसङ्ख्या रुसको भन्दा कता हो कता धेरै छ र जसको सामाजिक स्थितिमा कता हो कता बढी विविधता छ, अब जुन क्रान्तिहरू हुनेछन् निःसन्देश तिनमा रुसी क्रान्तिको दाँजोमा कता हो कता बढी विशिष्टताहरू प्रकट हुनेछन् भन्ने कुरा हाम्रा युरोपेली कूपमण्डुकहरू मनमा पनि देख्न सक्तैनन्”, (लेनिन, सङ्कलित रचना, भाग ८, हाम्रो क्रान्तिबारे ‘नि. सुखानोभका टिप्पणीहरूको प्रसङ्गमा’, पृ. ११३) । यसबारेमा त स्वयम् माक्र्सले सन् १८७२ मा कम्युनिस्ट पार्टीको घोषणापत्रको भूमिका लेख्दा उल्लेख गर्नुभएको एउटा भनाइ यहाँ निकै सान्दर्भिक रहेको छ । उहाँ लेख्नुहुन्छ, “गत पच्चिस वर्षभित्र परिस्थिति जतिसुकै बदलिएको भए तापनि यस घोषणापत्रका आम सिद्धान्तहरू वर्तमान समयमा पनि खास रूपमा उत्तिकै सही छन् । एक–दुई ठाउँमा साना–तिना केही सुधार ल्याउन सकिन्थ्यो । स्वयम् घोषणापत्रमा भनिएझैँ यसका मूल सिद्धान्तहरूको व्यावहारिक क्रियान्वयन जहाँसुकै र जहिले पनि विद्यमान रहेका ऐतिहासिक परिस्थितिहरूमा निर्भर रहनेछ”, (माक्र्स–एङ्गेल्स, पेरिस कम्युन, २४ जुन १८७२, सन् १८७२ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रको जर्मन संस्करणको भूमिका, पृ. ३४१) । त्यसैगरी माओले परिस्थितिलाई ख्याल गर्ने सन्दर्भमा, “माक्र्सवादी सिद्धान्तका आधारमा चल्नुपर्छ र विगतका गल्ती दोह¥याउनुहुँदैन । तिनले जडसूत्रवादलाई त्याग्नुपर्छ र पुस्तकका तम्तयार वाक्यांशहरूमा सीमित रहनुहुँदैन”, (माओ, सङ्कलित रचना, नेपाली संस्करण, भाग ३, पार्टीको कार्यशैली सुधार गर, पृ. २२) । माओले अझ अगाडि भन्नुभयो, “माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो तर माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने धेरै मानिसले यसलाई निष्प्राण सूत्र ठान्छन् र यसरी तिनको सिद्धान्तको विकासलाई अवरुद्ध पार्दछन् र आफू र अरू कामरेडहरूलाई हानी गर्छन्”, (माओ, सङ्कलित रचना, भाग ३, कार्यशैली सुधार गर, पृ. २३) । यो कुरा निकै मार्मिक रहेको छ । हामीले गुरुहरूका उक्त संश्लेषणहरू यहाँ उल्लेख गर्नुको खास उद्देश्य त्यही हो कि अब विश्वमा गर्ने क्रान्ति र नेपालमै गर्ने क्रान्ति पनि विगतका कार्यदिशाका आधारमा मात्र सम्भव छैन । त्यसमा नयाँ विकास कम्तीमा विशिष्ट परिस्थितिअनुरूप विकास वस्तुगत रूपले नै अनिवार्य बनेको छ । हामीले गरेको विश्लेषण र संश्लेषणअनुसार आज विश्वपरिवेश र अर्थ–राजनीतिक विशेषताहरूजस्ता छन्, ती आधारबाट विश्लेषण गर्दा हामीले सञ्चालन गर्ने क्रान्तिको कार्यदिशाका विशेषता निम्न हुनुपर्छ ः
(क) सहर र गाउँ दुवैलाई जोड्ने
(ख) जनता र जनसेनालाई मिलाउने
(ग) मध्यम वर्ग र किसान–मजदुर मिलाउने
(घ) देशभक्त र कम्युनिस्टहरूलाई जोड्ने
(ङ) वैज्ञानिक प्रविधि र सचेत मानवशक्तिलाई मिलाउने
(च) वर्ग, राष्ट्र, समुदाय र लैङ्गिक एकता कायम गर्ने
(छ) कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका

हामीले प्रस्तुत गरेका यी विशेषताहरू आजको वस्तुस्थितिलाई सही प्रकारले प्रतिबिम्बित गर्ने विशेषता हुन् तर यी विशेषताहरू लेनिन र माओसम्मले विकास गरेका क्रान्तिका मान्यताबाट पूरै अलग र भिन्न नभएर पुँजीवादी राज्यविरुद्ध सञ्चालन गरिने क्रान्तिका आधारभूत विचारसँग अन्तर्सम्बन्धित छन् । यद्यपि यी नयाँ परिस्थितिअनुरूप विकास गरिएका विकसित विशेषता हुन् । हामीले यी विशेषताहरूलाई क्रान्तिमा ठीक तरिकाले प्रयोग गर्दा यसको केन्द्रीकृत अभिव्यक्ति ‘एकीकृत जनक्रान्ति’ हुन्छ । ‘एकीकृत जनक्रान्ति’ ले एकातिर दलाल पुँजीवादी राज्य र श्रमिक जनताबीचको अन्तर्विरोधलाई धु्रवीकृत गर्नेछ भने अर्कोतिर क्रान्तिलाई समग्र क्षेत्रबाट अगाडि बढाउनेछ ।


माक्र्सले पुँजीवादका विरुद्ध क्रान्तिको विचार दिँदा भन्नुभएको थियो, “कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्छन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्, सम्पूर्ण वर्तमान सामाजिक अवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्रै उनीहरूको उद्देश्य पूर्ति हुन सक्छ । साम्यवादी क्रान्तिको डरले शासकवर्गहरू थर्कमान होऊन् । सर्वहारावर्गले आफ्ना हतकडीसिवाय अरू केही गुमाउनुपर्दैन । बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्दछन्”, (माक्र्स–एङ्गेल्स सङ्कलित रचनाहरू, कम्युनिस्ट घोषणापत्र, पृ. ८५) । यसको तात्पर्य थियो, पुँजीपतिवर्ग आफ्नो इच्छाले शोषण सत्ताबाट पन्छिँदैनन्, त्यसलाई सर्वहारावर्गले बल प्रयोग गरेर मात्र हटाउन सक्छ र त्यसको स्थानमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न सकिन्छ । यद्यपि माक्र्सले यसरी यताबाट लड्नुपर्छ भन्ने कुरा बोल्नुभएको थिएन । यो किन पनि जरुरी थिएन भने माक्र्सको समयमा पुँजीपतिवर्ग र सर्वहारावर्ग अर्थ–राजनीतिक सम्बन्धका दृष्टिले विपरीत वर्ग–टक्करमा थिए र त्यहाँँ पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी–सत्ता मानवजातिका लागि अनिवार्य छ भन्ने सावित गर्नेसँग माक्र्सको जिम्मेवारी विशेष प्रकारले जोडिएको थियो । त्यहाँँ राजनीतिक सत्ताको सङ्घर्ष दैनिक कार्य सूचीमा आइसकेको थिएन ।

लेनिनको समयमा पुग्दा पुँजीवादसँगको सङ्घर्ष यति घनीभूत भयो कि त्यहाँ केवल वर्ग पक्षधरताको बहस प्रमुख नभएर राज्यसत्तामा कसरी क्रान्ति गर्न सकिन्छ भन्ने विषय तात्कालिक विषय बनेर आयो । कम्युनिस्ट पार्टीहरू चारैतिर निर्माण हुने क्रम देखियो भने पुँजीवादका विरुद्ध क्रान्ति सञ्चालन गर्ने विषय पनि सबैका प्रस्ताव बन्न थाले । यो क्रमले हर–पार्टीभित्र क्रान्ति कसरी सञ्चालन गर्ने भन्ने विषयमा बहसहरू तिखो भएर आए । यही भएर लेनिनले क्रान्तिका लागि आवश्यक सर्तहरू क्रान्तिकारी तरिकाले प्रस्तुत गर्नुभयो । उहाँले क्रान्तिका लागि क्रान्तिकारी पार्टी, क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी सङ्घर्षमा जोड दिनुभयो । सर्वहारावर्गको घनत्व र आवश्यकतालाई हेरेर लेनिनले क्रान्तिको केन्द्र सहरलाई बनाउनुभयो ।

लेनिनको विचारमा क्रान्तिकारी पार्टीको अर्थ वैज्ञानिक समाजवाद–साम्यवादको सिद्धान्त, आदर्श, राजनीति, राज्यसत्ताप्रति सुस्पष्टका साथै, आफ्नो उद्देश्यमा समर्पित पार्टीको निर्माण भन्ने थियो । क्रान्तिकारी सिद्धान्तको अर्थ वैज्ञानिक समाजवाद–साम्यवादलाई आत्मसात् गरेको, पुँजीवादी राज्यसत्तालाई सर्वहारावर्गको तागतद्वारा मिल्काएर वैज्ञानिक समाजवाद स्थापना गर्ने मान्यता र वर्ग–सत्तालाई सर्वहारा अधिनायकत्वसहित वर्ग समाप्त गर्दै जाने वैज्ञानिक विचार भन्ने थियो । त्यसैगरी, क्रान्तिकारी सङ्घर्षको अर्थ श्रमिकवर्गमाथि पुँजीवादी–वर्गद्वारा लादिएको पुँजीवादी–सत्तालाई सदाका लागि मिल्काउन सङ्घर्ष सङ्गठित गर्ने, सर्वहारावर्गको मुक्तिका लागि निरन्तर सङ्घर्षरत रहने र मानवजातिलाई वैज्ञानिक समाजवाद–साम्यवादतिर लैजाने सङ्घर्ष गर्ने भन्ने थियो ।

माओले क्रान्तिका सन्दर्भमा लेनिनभन्दा पनि अगाडि बढेर ठोस विचारहरू विकास गर्नुभयो । उहाँले विकास गर्नुभएको विचारको सम्बन्ध पुँजीवादी देशमा मात्र नभएर अर्धसामन्ती र अर्धऔपनिवेशिक देशहरूमा पनि क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्नेसँग थियो । त्यसका लागि माओले क्रान्तिका लागि सही विचार, क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी मोर्चा चाहिने विचार राख्नुभयो । पुँजीवाद जसरी सर्वहारावर्ग, श्रमिकवर्गीय मुक्ति–सङ्घर्षका विरुद्ध योजनबद्ध दमनमा आयो, त्यसलाई परास्त गर्न सर्वप्रथम जनता, मित्र र दुश्मनलाई सही प्रकारले बुझ्न सक्ने विचार चाहिने उहाँको जोड थियो । त्यसैगरी, श्रमिक जनताले भरोसा राख्ने र विचारअनुसार सर्वहारावर्गीय पार्टी, पार्टीको नेतृत्वमा चल्ने विचारसहित जनमुक्ति सेना आवश्यक पर्ने, ती सबैसँग तालमेलमा क्रान्तिमा साथ, सहयोग गर्न सक्ने देशभक्त, लोकतन्त्रवादीहरूसहित क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गर्नुपर्ने विचार माओले निर्माण गर्नुभयो । साथै, यी यसै क्रान्तिकारी साधनको जगमा चीनजस्तो देशमा दीर्घकालीन जनयुद्धको कार्यदिशाद्वारा क्रान्ति सञ्चालन गर्नुपर्ने दृष्टिकोण दिनुभयो । सोहीअनुरूप क्रान्ति सञ्चालन गरेर नै चीनमा यति महत्वको नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । नयाँ जनवादी एवम् समाजवादी क्रान्तिका सन्दर्भमा माओले विकास गर्नुभएका यी विचारहरू क्रान्तिकारी आन्दोलनका नयाँ आयामहरू थिए ।

क्रान्तिका सन्दर्भमा हामीले आजको परिस्थितिमा माक्र्सले व्यक्त गर्नुभएका विचारदेखि लेनिन–माओसम्मका विचारहरूलाई अध्ययन गर्दै ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा संश्लेषण गरेका छौँ । हाम्रो यो संश्लेषणका पछाडि आजको नेपाली परिस्थितिमा क्रान्ति कसरी सम्पन्न गर्न सकिएला र सही विचारको विकास गरेर नै क्रान्ति गर्न सकिन्छ भन्ने उद्देश्यसँग सम्बन्धित छ । हामीले माथि नै विश्लेषण ग¥यौँ कि केही विश्व परिस्थितिसँग जोडिएका विशेषतः नेपाली परिस्थितिसँग सम्बन्धित ७ वटा विषय निकै महत्वपूर्ण छन् । त्यसमा पहिलो विशेषता भनेर हामीले ‘गाउँ र सहर’ भन्ने सामाजिक विशेषता विश्व अर्थ–राजनीतिक सम्बन्ध र नेपाली विशेषताकै कारणले पनि धेरै बदलिइसकेको छ । अबको क्रान्ति गाउँबाट मात्र या सहरबाट मात्र भन्ने सामाजिक विशषतामा बाँधिएर सम्पन्न हुन सम्भव छैन । समाजको विशेषता नै गाउँ र सहरभन्दा फरक भएर विकास हँुदै गएको छ । मुख्यतः सूचना–प्रविधिमा भएको क्रान्ति, यातायात र शिक्षाको विकास, सांस्कृतिक र आर्थिक विशेषताहरूले गर्दा यो अवस्था बन्न पुगेको छ । त्यसैले हामीले भनेको छौँ, अबको क्रान्तिले गाउँ र सहरभन्दा पनि पुँजीवादी, दलाल पुँजीवादी राज्यसत्ता र श्रमिक जनताका बीचको अन्तर्विरोधका आधारमा क्रान्ति सञ्चालन गर्नुपर्छ । दोस्रो विशेषतामा आजको विश्वमा श्रमिकवर्गको क्षेत्र मजदुर र किसानमा मात्र सीमित छैन, त्यो बदलिएको छ । खासगरी शिक्षा क्षेत्रमा आएको विकास, विज्ञान र प्रविधिले गरेको अद्भूत विकास, विश्व अर्थ–बजारको चरित्रले गर्दा नयाँ श्रमिकवर्ग पनि पैदा भएको छ भन्ने हाम्रो निष्कर्ष छ । सामान्यतया पढे–लेखेकालाई हाम्रोजस्तो देशमा बुर्जुवा भन्ने र त्यसलाई श्रमिकमा नगन्ने प्रचलन थियो तर अब शिक्षाको लहरले किसान–मजदुरका सन्तान पनि शिक्षित बन्ने अवस्था बनेको छ । तर, ती पढे–लेखे पनि जनताकै छोराछोरी र श्रमिकवर्गकै विशेषताभित्र छन् । श्रमको क्षेत्र पनि विस्तार भएर तान, मेसिन, भट्टी, खेतबारीबाट आधुनिक श्रमिक जो कम्प्युटरसम्ममा काम गर्नुपर्ने हुन्छ र विभिन्न क्षेत्रमा श्रमकार्य गर्नुपर्ने हुन्छ, मा पुगेको छ । त्यसैले हामीले भनेका छौँ, अब गरिने समाजवादी क्रान्तिमा मजदुर–किसानलाई मात्र होइन, यो नयाँ श्रमिकवर्गलाई पनि साथमा लिनु अनिवार्य छ । यो आफ्नै आवश्यकताले पनि क्रान्तिमा आउने स्थिति छ । तेस्रो विशेषतामा क्रान्तिमा विज्ञान र प्रविधिलाई एक प्राविधिक विषयको रूपमा मात्र नहेरेर विचारसँग जोडिएको विषयमा लिनुपर्छ । विगतमा जस्तो विचार भएका मान्छे भए पुग्छ भन्दै प्राविधिक क्षमता र दक्षतालाई सामान्य ठान्ने तरिकाले क्रान्ति गर्न सकिँदैन । सचेत श्रमिकवर्ग र प्रविधिको सम्बन्ध अनिवार्य बनाएर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । चौथो विशेषतामा हामीले समाजवादी क्रान्तिका लागि श्रमिकवर्गमा मात्र भर परेर पूरा गर्न सकिँदैन । आजको राजनीतिक एवम् सामाजिक जागरण, उत्पीडनका सामाजिक क्षेत्र, जनसमुदायका सामुदायिक मनोविज्ञान र उत्पीडनको विशेषता सबैलाई हेरेर उत्पीडित जाति, राष्ट्र र समुदायलाई पनि क्रान्तिमा अनिवार्य रूपले जोड्नुपर्छ । वर्ग र राष्ट्र या जातिलाई विपरीतमा जान नदिएर पूरक भूमिकामा राख्नुपर्छ र सत्ताको विषय वर्गसँगै उत्पीडित राष्ट्रसँग पनि जोडिएको विषय हो भन्ने बोध गराउनैपर्छ भन्ने रहेको छ । नेपालको सन्दर्भमा हामीले भनेका छौँ, क्षेत्री–ब्राह्मण, जनजाति, मधेसी र दलित चार समुदायलाई क्रान्तिप्रति अपनत्व पैदा नगरेसम्म विशेषतः उत्पीडित जातिलाई विश्वस्त नपारेसम्म क्रान्ति सम्भव रहँदैन, भए पनि जनताका बीचमा लोकप्रिय रहन सक्दैन । पाँचौँ विशेषता, नेपालजस्ता देशहरूमा कम्युनिस्ट र श्रमिकवर्गलाई मात्र क्रान्तिमा सहभागी बनाएर पुग्दैन । साम्राज्यवादीहरूबाट देश उत्पीडित भइरहेको स्थितिमा देशभक्त शक्ति अनिवार्य हुन्छन्, ती शक्तिलाई पनि वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी बनाउने नीति हुनुपर्छ । उनीहरूलाई मोर्चामा मात्र सहभागी बनाउने नभई सत्तामा साझेदारी गर्दै जाने तहसम्म सहमत हुनुपर्छ । छैठौँ विशेषता, हाम्रोजस्तो देशमा क्रान्ति या क्रान्तिकारी युद्धको चरित्र विगतमा जस्तो दीर्घकालीन या अल्पकालीन भन्ने हँुदैन । यो आफ्नै विशेषताको हुन्छ । कुनै बनिबनाउ तरिकालाई भन्दा आफ्नै विशेषतासहित हुनुपर्छ भन्ने रहेको छ । सातौँ विशेषतामा, नेपालजस्तो देशमा क्रान्तिको मुख्य निशानामा दलल पुँजीपति वर्ग र दलाल पुँजीवादी सत्ता हुनुपर्छ । विगतमा जस्तो परम्परागत खालको निशाना हुनुहँुदैन । प्रायः निशानाहरूमा परिस्थितिअनुरूप परिवर्तन आउने हुन्छ भने दलाल पुँजीवादी सत्तासँग भने वैज्ञानिक समाजवादी क्रान्ति पूरा नहुँदासम्म स्थिर खालको अन्तर्विरोध कायम रहनेछ । यदि परिस्थितिले दलाल पुँजीवादी सत्ताविरुद्ध कुनै पनि शक्ति एकीकृत जनक्रान्तिमा सहमत हुन्छ र सहकार्यमा आउन तयार हुन्छ भने, त्यो पनि असम्भव हुनुहँुदैन । यसले जनताको मुख्य अन्तर्विरोधलाई समाधान गर्न सघाउ पु¥याउनेछ । हाम्रा यी संश्लेषणहरू कुनै मनोगत चाहनाका विषय नभएर अन्तर्राष्ट्रिय क्रान्तिहरू विशेषतः नेपाली जनयुद्धदेखि यहाँसम्मको उतार–चढाव एवम् अनुभवहरूको संश्लेषणद्वारा गरियको ‘ठोस वस्तुको ठोस विश्लेषण’ सहित क्रान्तिकारी संश्लेषण हो । हाम्रो विचारमा यो नै आजको माक्र्सवादी–लेनिनवादी–माओवादी एवम् क्रान्तिकारी कार्यदिशा पनि हो । एकीकृत जनक्रान्ति जनविद्रोह र जनयुद्धको नयाँ र उच्च संश्लेषण हो । यो नै वर्तमान पुँजीवाद र दलाल पुँजीवादलाई परास्त गर्ने क्रान्तिको वैज्ञानिक मार्गदिशा हो ।

याे पनि पढ्नुहाेस्

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

साभार : वैज्ञानिक समाजवाद – विप्लव

२०७५ जेठ १४ गते सोमबार अपरान्ह ६ :०६  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :