लाल सलाम इच्छुक

कमरेड कृष्ण सेन ‘इच्छुक’ ले सहादत प्राप्त गरेको १६ वर्ष पुग्यो । नेपाली माओवादी आन्दोलनका अथक योद्धा, नेता तथा कवि तथा सौन्दर्य चिन्तक इच्छुकलाई तत्कालीन शाही सरकारको सुरक्षा फौजले २०५९ जेठ ६ गतेका दिन नयाँ बानेश्वरबाट गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिई जेठ १३ गतेका दिन हत्या गरेको थियो । कृष्ण सेन ‘इच्छुक’ को नेपालको कम्युनिस्ट आन्दोलनमा त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान रहेको छ । मूल रूपमा नेपालको क्रान्तिकारी कम्युनिस्ट संगठन निर्माण, विस्तारका लागि आवश्यक पर्ने राजनीतिक र वैचारिक काममा अग्रणी भूमिका रहेको छ । नेपालको पश्चिम पहाडका विकट ग्रामिण भू–भागमा घर–घर पुगेर इच्छुकले माक्र्सवादको प्रचार–प्रसार गर्नुभयो । उहाँको भगिरथ मिहिनेतको फलस्वरूप राप्ती क्षेत्रमा पार्टीबको बलियो संगठन निर्माण भएको थियो । त्यसैले महान् जनयुद्धको तयारी र सुरुआतमा महत्वपूर्ण भूमिका खेलेको थियो । क्रान्तिको दौरानमा सयौं नेता र कार्यकर्ताहरूको लामबन्दी हुन पुग्यो ।

सेनजी आफैँ कम्युनिस्ट आन्दोलनको मुख्य नेतृत्वमा त रहनु भएन तर उहाँ सर्वहारावर्गीय आन्दोलनको धरोहर हुनुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको माथिल्लो तहमा चयन गर्दा पनि बस्न नमानेका वृत्तान्तहरू पनि रहेका छन् ।
इच्छुक राजनीतिक, वैचारिक र सांगठनिक काममा पोख्त हुँदाहुँदै पनि उहाँले नेपालको विशेष दखल साहित्यमा रहेको थियो । साहित्यमा पनि कवितामा उहाँको रुचि र क्षमता रहेको छ । निबन्ध, सस्मरण, समीक्षा लेखनमा इच्छुकको विशेष चाख र चासो रहेको थियो । उहाँका कविता पढेर, सुनेर कैयौं युवा जनयुद्धमा लामबद्ध भएका थिए । शोषण, दमन, उत्पीडनका विरुद्ध उहाँका कविताले आगो ओकल्दथे । शक्तिशाली बमको धमका दिन्थे । कविताका श्लोकहरू दावालन भएर तेर्सिन्थे । त्यसैले पञ्चायत काल होस् या पछिल्लो संसदीय काल वा ज्ञानेन्द्र शाही काल उहाँलाई प्रशासनले देखिसहेन । गिरफ्तार गर्ने, वर्षौं जेलमा कोच्ने र चरम यातना दिने काम गरिराख्यो । इच्छुकको सशक्त कलमबाट डराएर शेरबहादुर देउवाको सरकारले गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिएर हत्या गरेको थियो । तत्कालीन शासक यति कायर थियो कि उहाँको हत्या गरेर पनि सार्वजनिक गर्न सकेको थिएन । यसरी स्पष्ट दृष्टिकोणसहित नेपाली जनवादी साहित्यमा विशिष्ट योगदान गर्नुभएका इच्छुक नेपाली माक्र्सवादी सौन्दर्यशास्त्री पनि हुनुहुन्थ्यो ।

यसरी इच्छुक एक जना अद्वितीय नेता, कुशल संगठक, माक्र्सवादी सौन्दर्यशास्त्री हुनुहुन्थ्यो । साथै, उहाँ एक जना क्रान्तिकारी पत्रकार र सम्पादक पनि हुनुहुन्थ्यो । भीषण जनयुद्धका समयमा उहाँ आफैँले जनादेश र जनदिशाको सम्पादन गर्नुभएको थियो । माओवादी जनयुद्धको तयारीदेखि नै प्रगतिशील साहित्यको मुखपत्र ‘कलम’ को सम्पादन गर्नुभएको थियो । जनयुद्धको विस्तार, विकास र सम्प्रेषणमा जनादेश, जनदिशा र माक्र्सवादी साहित्य र सौन्दर्यशास्त्रको प्रचार–प्रसारको संवाहक कलमको सम्पादन गरेकै कारण उहाँ प्रतिक्रियावादी सत्ताको आँखाको कसिङ्गर बन्न पुग्नुभएको थियो ।

इच्छुकले वैचारिक रूपमा नेपालका सबै खाले रूप र रङमा रहेका संशोधनवादीहरूका विरुद्ध जेहाद छेड्नुभएको थियो । २०५२ सालमा जनयुद्ध सुरु गर्दैगर्दा नेपालको संशोधनवादी एमाले र अन्य छद्यसंशोधनवादका विरुद्ध भीषण वैचारिक संघर्ष चलेको थियो । तिनीहरूलाई पूर्णरूपले परास्त गरेर मात्र जनयुद्ध अघि बढेको थियो । इच्छुकले त्यतिबेला पनि संशोधनवादका विरुद्ध जेहाद छेड्नुभएको थियो । उहाँ जीवितै रहँदा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड—बाबुराम—बादलहरूले युगान्तकारी जनयुद्धलाई अन्त गरिदिए । उनीहरूले नै नवप्रतिक्रियावादी भनेर किटान गरेको एमालेको टाङमुनि प्रचण्ड—बादल छिर्न पुगेका छन् । यसरी प्रचण्ड—बादलहरूले वर्गघात त गरे नै, साथै इच्छुकलगायतका हजारौं सहिदहरूको रगतमा होली खेलेका छन् ।
कृष्ण सेन ‘इच्छुक’ ले नेपाली श्रमजीवी जनताको मुक्ति र नेपाली राष्ट्रिय सार्वभौमिकताका लागि गर्नुभएको बलिदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिन्छ । लाल सलाम इच्छुक ! सम्पादकीय

२०७५ जेठ १० गते बिहीबार मध्यान्न १२ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :