माके, विसर्जनवाद र कम्युनिस्ट : खेम थपलिया

 

आमुख

विश्व कम्युनिस्ट आन्दोलनमा ‘विसर्जनवाद’ रुसी क्रान्तिकारी आन्दोलनबाट सुरु भयो । रुसी सामाजिक जनवादी मजदुर पार्टीभित्र भएको अन्तर्सङ्घर्षबाट मेन्सेभिकहरूमा देखापरेको विसर्जनवाद चिनियाँ क्रान्तिको सन्दर्भमा चाङको थाउमा देखियो । थाउले कम्युनिस्ट पार्टी नै छोडे । भारतमा के भेनु र नेपालमा केशरजङ्ग रायमाझीले विसर्जनवादको नेतृत्व गरे । ‘वाम एकता’ को नाममा विसर्जनवादको पछिल्लो कडी पुष्पकमल दाहालमा जोडिन पुगेको छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनमा विसर्जनवादको मतियारमा दर्ज हुनुभएको छ । माके र त्यसको मूल नेतृत्व पुष्पकमल दाहाल अहिले कम्युनिस्ट–सर्वहाराक्रान्तिको विरोध गर्न पुग्नुभएको छ । उहाँ वैज्ञानिक समाजवादी–साम्यवादी विचारको विरोध तथा कम्युनिस्ट नीति र कार्यक्रमको विरोध गर्न पुग्नुभएको छ । उहाँले श्रमिकवर्गीय आन्दोलनप्रति भ्रम छर्दै जनताको ध्यान वैज्ञानिक समाजवादबाट मोडेर संसद्वादतिर ल्याउने प्रयास गरिरहनुभएको छ । दलाल संसदीय व्यवस्थाको पृष्ठपोषक बन्दै आफू, आफ्नो पार्टी र सिङ्गो आन्दोलनलाई संसद्वादी आहालमा डुबाउनका निमित्त ज्यान छाडेर लाग्ने उहाँको परिचय बनेको छ । उहाँले सरकारमा बसेर देशभक्त तथा क्रान्तिकारी पङ्क्तिलाई दमन गर्नुभएको छ । साम्राज्यवाद–फासिवादी शक्तिको दलाली गर्नु उहाँको दैनिकी बनेको छ । केही साक्ष्य हेरौँ ः

साक्ष्य : एक

माके र यसका नेतृत्व सैद्धान्तिक–दार्शनिक रूपमा विसर्जन भएको प्रमाण यथेष्ट रहेका छन् । यसलाई अनेक कोणबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा यस किसिमका विश्लेषण हुँदै आएका पनि छन् । नेपालमा यससम्बन्धी अनेकौँ लेख लेखिएका छन्, कार्यपत्र पेश भएका छन्, विविध बहस भएका छन् । ‘फुटाऊ र राज गर’ को सूत्र प्रयोग गरेर उत्पीडित तथा श्रमजीवी जनताको वैचारिक हतियार माक्र्सवाद–लेनिनवाद–माओवादलाई माटोमा मिलाउन विश्व साम्राज्यवाद जोडतोडले लागिपरिरहेकै बेला दाहाल आफैँ त्यसको मतियार बन्न पुग्नुभएको छ । केपी ओली पहिल्यैदेखि भारतीय साम्राज्यवादको ‘ओर्जिनल’ दलालको भूमिकामा हुनुहुन्थ्यो नै, अहिले आएर दाहाल पनि त्यसको मतियार बन्नु उदेकलाग्दो कुरा हो । त्यसैले अर्का मतियार नारायणकाजी श्रेष्ठ त झन् ज्यूँकात्युँ भइहाल्ने कुरा भयो । दाहाल र श्रेष्ठले सबै किसिमबाट माओवाद छोडिसक्नुभएको छ । माओवाद छोड्नुको अर्थ अन्तर्विरोधको कम्युनिस्ट दर्शन र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त परित्याग गर्नु हो । बेमौसमी रतन्धो हुन पुग्नुभएका दाहाल, श्रेष्ठ र थापाहरू ओलीको विसर्जनवादी भतेरमा लामबद्ध हुन पुग्नुभएको छ । उहाँहरू विसर्जनवादी–आत्मसमर्पणवादी मलामी बन्नुभएको छ । वर्ग र वर्गपक्षधरता निकै ठूलो कुरा हो । दाहालले यो कुरामा भयङ्कर बेइमानी गर्नुभएको छ । उहाँले समाज वर्गीय छ, राज्यसत्ता वर्गीय हुन्छ, विश्वमा उत्पीडित तथा श्रमिक जनताविरुद्ध शोषण–उत्पीडन जारी छ, आज पुँजीवाद समाजवादको मुटु हालेर बाँचिरहेको छ, एवम् वैज्ञानिक समाजवादी–साम्यवादी राज्य–व्यवस्थाले मात्र पुँजीवादले निम्त्याएको सङ्कटलाई समाधान गर्न सक्नेछ भन्ने यथार्थलाई पूर्णतः इन्कार गर्न पुग्नुभएको छ ।

कम्युनिस्टहरू बहुदलवादी हुन सक्छन् तर कुनै पनि हालतमा बहुलवादी हुन सक्तैनन् । एमाले बहुलवादी पार्टी भएकोले सैद्धान्तिक र दार्शनिक रूपमा नै ऊ कम्युनिस्ट रहेन भनेर नेपालको कम्युनिस्ट आन्दोलनले संश्लेषण गरेको उहिल्यै हो । वर्गसङ्घर्षबाट वर्गसमन्वय हुँदै सम्झौतावादमा फस्नु बहुलवादी मान्यता हो । कम्युनिस्ट भनेको भौतिकवादी विश्वदृष्टिकोणसित सम्बद्ध कुरा पनि हो । एमाले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट गम्भीर रूपले विचलित पार्टी हो । एमालेपन्थ बहुलवादी चिन्तनधारामा आधारित छ । विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्तलाई बहुलवाद भनिन्छ । उत्तर–आधुनिकतावादी दर्शनको प्रमुख आधारशिला बन्न पुगेको बहुलवाद युरो–कम्युनिजम हुँदै नेपालमा आइपुग्यो र त्यसलाई एमालेले अङ्गीकार ग¥यो । अहिले माके त्यसैमा विलय हुन जोड गरिरहेको छ । नेपालमा उत्तर–आधुनिकतावादको प्रवेशसँगै बहुलवादको बहस पनि तीब्र बन्दै गएको छ । सच्चा कम्युनिस्टको दर्शन ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद हो । बहुलवादको मूल उद्देश्य शोषणकारी दलाल व्यवस्थालाई दार्शनिक जामा लगाउँदै वैज्ञानिक समाजवादको गला रेट्नु हो । माके सैद्धान्तिक–दार्शनिक रूपमा विसर्जनमा भासिनु माके–प्रचण्डीय विसर्जनको पहिलो साक्ष्य हो ।

साक्ष्य : दुई

पुष्पकमल दाहालले भैँसी पूजा गर्नुभयो । उहाँले भौतिकवाद र अध्यात्मवादको फ्युजनको कुरा गर्नुभयो । सार्वजनिक कार्यक्रममा ‘कम्युनिस्टको धर्म त क्रिस्चियन हो’ भन्नुभयो । यो कुरा उहाँमा आएको गम्भीर सांस्कृतिक विचलन तथा विसर्जनको परिणाम हो । नारायणकाजीको बगलामुखी पूजाअर्चना गर्नु, पम्फा भुसालले माताबाट आशीर्वाद थाप्नु तथा कृष्णबहादुर महराले पास्चरसँग आशीर्वाद माग्नु आदि सन्दर्भले उहाँहरूको गम्भीर सांस्कृतिक परिस्थितिलाई उजागर गर्दछ ।

संस्कृतिलाई जबर्जस्ती धर्मसित जोड्नु बिल्कुल गलत कुरा हो । माक्र्सले भन्नुभएको छ, “धार्मिक व्यथा एकसाथ वास्तविक व्यथाको अव्यिक्ति तथा वास्तविक व्यथाको प्रतिवाद दुवै नै हो । धर्म उत्पीडित मानिसको सुस्केरा हो । हृदयहीन संसारको मर्म हो साथै, निरुत्साह परिस्थितिको उत्साह पनि हो । यो जनताका लागि अफिम हो ।” लेनिनले भन्नुभएको छ, “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मान्नुपर्दछ तर जहाँसम्म पार्टीको सवाल हो, हामी धर्मलाई कुनै पनि प्रकारले व्यक्तिगत मामिला मान्न सक्तैनौँ । हामीले धर्मको विरोध गर्नुपर्दछ ।” माओले भन्नुभएको छ, “प्रशासनिक आदेशद्वारा धर्मलाई उन्मूलन गर्न सकिँदैन ।” नेपालमा राजनीतिक तथा अन्य स्वार्थका कारण धर्म परिवर्तन भइरहेको छ । यसले राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पु¥याएको छ । माकेका कतिपय नेता चौपट्टै धर्मभीरु हुनुले उनीहरूको सांस्कृतिक मनोदशालाई नै प्रतिबिम्बित गर्दछ । सांस्कृतिक विचलन तथा विसर्जन माकेको परिचय बन्न पुगेको छ । माकेमा सांस्कृतिक क्रान्तिको कुरा हुन छोडेको धेरै भइसक्यो ।

जनयुद्ध सांस्कृतिक क्रान्ति पनि थियो । जनयुद्धमा मालेमावादको अध्ययन र स्कुलिङ तथा आलोचना–आत्मालोचनाको संस्कृति थियो । पुरानो विचारधारा, संस्कृति, चालचलन, बानीबेहोरा, साहित्य तथा कला, सामाजिक चिन्तन, धर्ममाथि क्रान्ति नै सांस्कृतिक क्रान्ति हो । जसले महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई मान्दैन, ऊ मालेमावादी हुनै सक्तैन । जो मालेमावादी हुन सक्तैन, ऊ कम्युनिस्ट पनि हुन सक्तैन । त्यसकारण माकेको सांस्कृतिक विसर्जनको दोस्रो साक्ष्य हो ।

साक्ष्य : तीन

पुष्पकमल दाहालले आफ्नो पार्टीमा सङ्गठनात्मक र सामूहिक रूपमा निर्णय लिने प्रक्रिया नअपनाउनुभएको धेरै भयो । उहाँले एकल रूपमा बृहत् शान्तिसम्झौता गर्नुभयो । उहाँले एकल रूपमै जनमुक्ति सेना विघटन गरिदिनुभयो । एमालेसित एकताको प्रक्रियामा पनि उहाँ एक्लै हाबी देखिनुभयो । उहाँले सङ्गठनात्मक वा पार्टीगत रूपमा आवश्यक बहस, छलफल र निर्णयको कुनै आवश्यकता नै महसुस गर्नुभएको देखिएन । उहाँले झन्डै ५ हजार सदस्य सङ्ख्या रहेको केन्द्रीय समिति बनाउनुभयो । ५ हजारको केन्द्रीय समिति सदस्य हुनु विश्वमै अनौठो परिघटना थियो, जो कुनै दर्शन, विचार, सिद्धान्तपरक थिएन । ‘बृहत् कम्युनिस्ट केन्द्र’ बनाउने कथित लोकप्रिय नारा त ल्यायो तर उसले अनायासमा मालेमावाद परित्याग गरियो । ‘बृहत कम्युनिस्ट केन्द्र’ बनाउने नाममा उहाँको पार्टीलाई सङ्गठनात्मक रूपमा नै विसर्जन गराउने चालबाजी थियो । पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म नहुनु त्यसैको परिणाम थियो । आफूलाई ४० र एमालेलाई ६० को अनुपातमा उम्मेद्वार मिलाउनु सङ्गठनात्मक स्वरूपमा माके निकै कमजोर भइसकेको स्वीकारोक्ति थियो । एमालेसित कथित निर्वाचनमा कार्यगत एकता नगरेको भए माकेको मुस्किलले प्रत्यक्षमा ४ सिट मात्र जित्थ्यो । अहिले प्रचण्ड ओलीसित ५०–५० अनुपातमा एकता गर्नुपर्ने रोइलो गरिरहनुभएको छ, प्रचण्डको यो रोइलोलाई एमालेले सुनेको नसुन्यै गरेको छ । यी सबै तथ्यले उसको विसर्जनलाई नै प्रतिबिम्बित गर्दछ ।

सङ्गठन भनेको वैचारिक शक्तिलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने महत्वपूर्ण साधन हो । पेसागत हकहित संरक्षण र संवद्र्धनका लागि सङ्गठनले सङ्घर्ष गर्दछ । सङ्गठनले सरोकारवालाबीच सम्बन्ध बलियो र विश्वासिलो बनाउँछ । सङ्गठन सम्बन्धमा लेनिन भन्नुहुन्छ, “सर्वहारावर्ग त्यतिबेला मात्र अजेय बन्न सक्दछ र अवश्य बन्नेछ जुन बेला माक्र्सवादी सिद्धान्तले उसमा प्रादुर्भाव गरेको वैचारिक एकतालाई एक त्यस्तो सङ्गठनको भौतिक एकताले सुदृढ तुल्याउनेछ । जसले लाखौँलाख श्रमजीवीहरूलाई मजदुरवर्गको एक सेनामा आवद्ध गर्नेछ । … सङ्गठन अस्थिर र अविकसित प्रकारको भयो भने सारतत्वको भावी विकासको पाइला चाल्न असम्भव हुन्छ, काममा लज्जास्पद, गतिमा शून्यता आउँछ । काम–कुरामा अन्तर देखापर्दछ ।” आज माके महान् लेनिनले भन्नुभएजस्तै यही रोगबाट गम्भीर रूपमा ग्रस्त भएको छ । माकेको सङ्गठन भद्रगोल र अस्थिर छ । काम–कुरामा भयानक अन्तर्विरोध छ । माकेको रहेका मानिसको त कुरै छाडौँ, सङ्गठनात्मक अवस्थालाई मात्र हेर्दा पनि त्यहाँ कुनै पनि कम्युनिस्ट सङ्गठनको आभाससमेत हुँदैन ।

मूलभूत रूपमा सङ्गठनभित्र अन्तर्सङ्घर्ष ३ किसिमले अभिव्यक्त भइराखेका हुन्छन् ः एकता–सङ्घर्ष–फुट, एकता–सङ्घर्ष–सम्झौता तथा एकता–सङ्घर्ष–रूपान्तरण । माकेभित्र एकता–सङ्घर्ष–सम्झौताका रूपमा सङ्गठनात्मक अन्तर्सङ्घर्ष अभिव्यक्त भइरहेको छ । कम्युनिस्टहरूले सधैँ लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुरूप पार्टीमा सङ्गठनात्मक सेटिङ मिलाएका हुन्छन् तर माकेकोे पछिल्लो पार्टी–जीवनमा यी कुनै पनि कुरा देख्न पाइँदैन । लम्पट बुर्जुवाले पनि नगरेको वा गर्न नसकेको वा गर्न लाज मानेको काम अहिले माकेले गरिरहेको छ । यो सङ्गठनात्मक रूपमा अराजकताको भद्दा मजाक त हो नै, साथै यो उसको तीब्र विघटन र विसर्जनको पराकाष्ठा पनि हो । त्यसैले माकेको सङ्गठनात्मक विसर्जन तेस्रो साक्ष्य हो ।

साक्ष्य : चार

कम्युनिस्ट आन्दोलनमा आधार र उपरीसंरचनाको बारम्बार धेरै प्रसङ्ग आइरहन्छन् । आर्थिक क्षेत्रलाई आधार र अन्यलाई उपरीसंरचना मानिन्छ । ती सबैलाई समग्रतामा राजनीतिले कमान्ड गरिरहेको हुन्छ । आज संसारको आधा सम्पत्ति आठजना मानिसको हातमा आइपुगेको छ । शोषण दोहन र लुटखसोट गरेर विश्वमा भइरहेको आर्थिक असमानताको खाडल बढाई मानव दुनियाँलाई खतरनाक दुर्घटनामा पु¥याइँदैछ । विश्वमा गरिब झनै गरिब हुँदै र धनी झन् धनी हुँदै जाने परिस्थिति छ । यसलाई हामीले सीमित धनीहरूले सिङ्गो संसारको राजनीति र अर्थतन्त्र कब्जामा लिएको अर्थमा बुझ्नुपर्दछ । विश्व आर्थिक मञ्चको वार्षिक बैठकअघि ‘अक्सफाम’ ले सार्वजनिक गरेको प्रतिवेदनमा संसारका आधा जनसङ्ख्यासँग भएको सम्पत्तिभन्दा आठजना धनी व्यक्तिहरूको सम्पत्ति बढी रहेको अध्ययनमा उल्लेख गरेको थियो । यी धनीहरूमा छजना अमेरिकी तथा स्पेन र मेक्सिकोका एक–एकजना गरी आठजना रहेका छन् । अक्सफामले फोब्र्सको धनी व्यक्तिहरूको सूचीका आधारमा यी आठजना धनी व्यक्तिहरूसँग संसारका आधा जनसङ्ख्यासँग भएको सम्पत्तिभन्दा बढी सम्पत्ति रहेको जनाएको छ । वर्ष २०१६ मा फोब्र्सको सूचीमा बिल गेट्स, अमान्सिया ओर्टेगा, वारेन बफेट, जेफ बेजोज, चाल्र्स कोच, डेभिड कोच, कार्लोस स्लिम, मार्क जुकरबर्गलगायत संसारका मुख्य धनी व्यक्तिका रूपमा गणना गरिए । भारतमा मात्रै एक प्रतिशत धनीहरूले कूल सम्पत्तिको ५८ प्रतिशत ओगटेको जनाइएको छ ।

विश्व–अर्थतन्त्रमा जस्तै नेपालमा पनि निगमीय पुँजीवादले गम्भीर प्रभाव पारेको छ । नेपालमा बिनोद चौधरीलगायत सीमित मानिसमा अकूत सम्पत्ति जम्मा हुन पुगेको छ । नेपालका धनी मानिसमध्ये प्रचण्डको नाम पनि अग्रपङ्क्तिमा पर्दछ । जानकारहरू भन्छन्, प्रचण्डले विभिन्न क्षेत्रमा अरबौँ लगानी गर्नुभएको छ । प्रचण्डले अहिले आफ्नो पार्टीको आर्थिक जीवनमा न्यूनतम आर्थिक अनुशासनलाई समेत भताभुङ्ग मात्र पार्नुभएको छैन, त्यसलाई पूराका पूरा अपारदर्शी बनाइदिनुभएको छ । माके र त्यसका मूल नेतृत्व पुष्पकमल दाहाल आज राजनीतिक नोकरशाही पुँजीपतिवर्गमा रूपान्तरित भइसक्नुभएको छ । उहाँहरू अब चाहेर पनि माक्र्सवादलाई विकास गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । माकेमा बोगटी आयोग र अमिक शेरचनको आयोगले दिएको प्रतिवेदन यसै लुकाइएको होइन । माकेमा गरिब र धनीको खाडल सोच्नै नसक्नेगरी फराकिलो भएको छ । हिजो जनयुद्ध लडेका योद्धाहरू आज भोकै छन् तर केही सीमित नेता आलिसान महलमा पुगिसके । यसकारण विघटित आर्थिक अवस्थिति माकेको विसर्जन चौथो साक्ष्य हो ।

नेपालका धनी मानिसमध्ये प्रचण्डको नाम पनि अग्रपङ्क्तिमा पर्दछ । जानकारहरू भन्छन्, प्रचण्डले विभिन्न क्षेत्रमा अरबौ“ लगानी गर्नुभएको छ । प्रचण्डले अहिले आफ्नो पार्टीको आर्थिक जीवनमा न्यूनतम आर्थिक अनुशासनलाई समेत भताभुङ्ग मात्र पार्नुभएको छैन, त्यसलाई पूराका पूरा अपारदर्शी बनाइदिनुभएको छ । माके र त्यसका मूल नेतृत्व पुष्पकमल दाहाल आज राजनीतिक नोकरशाही पु“जीपतिवर्गमा रूपान्तरित भइसक्नुभएको छ । उहा“हरू अब चाहेर पनि माक्र्सवादलाई विकास गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।

साक्ष्य : पाँच

नेपालमा सामन्तवादको नाइकेको अन्त्य भए पनि यसका तमाम अवशेष रहिरहेका छन् । सांस्कृतिक रूपमा नेपालमा सामन्तवाद जब्बर नै रहिरहेको छ । यस्तो परिस्थितिमा एमालेसित माकेको कथित एकताको सन्दर्भले एकैपटक धेरै कुरा सतहमा ल्यादिएको छ । एमाले २०४४ सालमा माओविचारधारालाई टुकुचामा फालेर पञ्चायतसँग राजनीतिक बार्गेनिङमा लिप्त भएको शक्ति हो । त्यही एमालेसित अहिले माकेको कलाविहीन एकताको नाटक गरिरहेछ । राजनीतिमा यो असामान्य परिघटना हो, गम्भीर विसर्जन हो । एमाले भाइ कांग्रेस बनेको उहिल्यै हो । हिजो आफैँ एमालेलाई दुत्कारेको कुरालाई चटक्कै बिर्सिएर ‘प्रभु’ को इशारा र आदेशका भरमा त्यही एमालेमा विलय हुन खोज्नु माकेको भयानक विसर्जन हो । कम्युनिस्टका आधारभूत प्रस्तावनालाई छाडेर बुर्जुवा पार्टीमा हामफाल्नु तथा त्यो नै अन्तिम सत्य हो जस्तै गरी घृणित गतिविधि गर्नुले माकेको वैचारिकी हैसियत प्रस्ट हुन्छ । एमाले त सामाजिक फासिवादी पार्टी थियो नै, अहिले माके पनि सोही चरित्र प्रदर्शन गरिरहेको छ । ऊ सामाजिक दलाल पुँजीवादीमा फेरिएको छ ।

लेनिनले भन्नुभएको छ, “कम्युनिस्ट सङ्गठनको पार्टीका हरेक सदस्य र प्रत्येक क्रान्तिकारी कार्यकर्तालाई भविष्यको क्रान्तिकारी सेनाको भावी सैनिकका रूपमा हेर्नुपर्दछ । यसकारण सङ्गठकले उसलाई त्यस्तो ठाउँमा राख्नुपर्दछ, जुन उसको भविष्यको भूमिकाका निम्ति उपयुक्त होस् । उसको वर्तमान क्रियाकलापले पार्टीको वर्तमान कार्यको लागि आवश्यक उपयोगी सेवाको रूप ग्रहण गर्नुपर्दछ, न कि आजको व्यावहारिक कार्यकर्ताले अस्वीकार गर्ने अनावश्यक तालिमको रूप । के कुरा पनि बिर्सनुहुन्न भने यो किसिमको क्रियाकलाप प्रत्येक कम्युनिस्टका लागि अन्तिम सङ्घर्षका अनिवार्य आवश्यकताहरूका निम्ति सर्वाेत्तम तयारी हो ।” गलत कार्यदिशा लिएपछि हुने यस्तै हो । यसर्थ, सामाजिक दलाल पुँजीवादमा फेरिनु माकेको विसर्जनको पाँचौँ साक्ष्य हो ।

अन्त्यमा

जनयुद्धीय दस्तावेजमा प्रचण्डले भन्नुभएको छ, “द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा इतिहासको व्यापक छानबिनपछि वर्गीय समाजमा हिंसाको क्रान्तिकारी भूमिका र त्यसको अनिवार्यताका सम्बन्धमा माक्र्स–एंगेल्सले वैज्ञानिक प्रस्थापना अघि सार्नुभयो । सशस्त्र सङ्घर्षको अनिवार्यतासम्बन्धी त्यही प्रस्तावनालाई माक्र्स–एंगेल्सका सम्पूर्ण शिक्षाको सार मानेर त्यसलाई व्यवस्थित रूपमा वर्गसङ्घर्षमा प्रयोग गर्ने प्रक्रियामा लेनिनले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलतापूर्वक नेतृत्व गरेर क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवादी मान्यतालाई अझै विकसित पार्नुभयो । रुसी क्रान्तिको तयारी, विकास र त्यसको परिणामको सुदृढीकरणका सन्दर्भमा लेनिन र स्टालिनले साम्राज्यवादका विशेषताहरूको विशद् व्याख्यासहित त्यसलाई युद्धको स्रोत प्रमाणित गरी त्यसका विरुद्ध क्रान्तिकारी युद्ध अपरिहार्य रहेको कुरा स्पष्ट गर्नुभयो । माक्र्सवाद–लेनिनवादका यिनै वैज्ञानिक सिद्धान्तलाई चिनियाँ समाजको वर्गसङ्घर्षको ठोस व्यवहारमा लागू गर्ने प्रक्रियामा माओ त्से तुङले क्रान्तिकारी हिंसासम्बन्धी स्थापनालाई, जनयुद्धको सम्पूर्ण सिद्धान्तका रूपमा विकास गरी त्यसको सार्वभौम चरित्र रहेको कुरा प्रमाणित गरेर देखाउनुभयो । यसरी माओ त्से तुङले माक्र्सवादी–लेनिनवादी सैन्यविज्ञानलाई गुणात्मक रूपले नयाँ उचाइ मात्र प्रदान गर्नुभएन, बरु साम्राज्यवादको युगमा जनयुद्ध सञ्चालन गर्नु भनेको संसार बदल्ने दार्शनिक एवम् राजनीतिक मान्यताको केन्द्रविन्दु बन्न पुगेको कुरासमेत स्पष्ट पार्नुभयो ।” जनताका सङ्घर्षसम्बन्धी मूलभूत नियमबारे माओ भन्नुहुन्छ, “गडबडी गर्नु, असफल हुनु, फेरि गडबडी गर्नु, फेरि असफल हुनु … जबसम्म ध्वस्त हुँदैनन्, यो साम्राज्यवादीहरू र संसारभरिका तमाम प्रतिक्रियावादीहरूद्वारा जनताका क्रियाकलापहरूको सामना गर्दा अपनाइने तरिका हो र उनीहरू यो तरिकाको विरोधमा कहिल्यै जान सक्दैनन् । यो एउटा माक्र्सवादी नियम हो ।” त्यसैमा अगाडि माओ भन्नुहुन्छ, “सङ्घर्ष गर्नु असफल हुनु, फेरि सङ्घर्ष गर्नु, फेरि असफल हुनु … जबसम्म विजय हासिल हुँदैन, यो जनताको तरिका हो र उनीहरू पनि यो तरिकाको विरोधमा कहिल्यै जान सक्तैनन् । यो दोस्रो माक्र्सवादी नियम हो ।” आज माके र प्रचण्डहरू माथि उल्लिखित कुनै पनि दस्तावेजीय स्पिरिटमा छैनन् । माके र प्रचण्डपन्थीहरू मालेमावादी प्रस्तावनाबाट गम्भीर रूपमा विलचित र विसर्जित हुन पुगेका छन् । भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणको दौरानमा ओली–दाहालहरूले देखाएको लम्पसारवादी चिन्तनधारा र व्यवहारधाराले उहाँहरूमा कहीँ कतै कम्युनिस्टको गन्धसमेत देखापर्न सकेन ।

वास्तवमा एमाले–माके ‘एकता’ अत्यन्त भद्दा एवम् गैर–कम्युनिस्ट भागदौड हो । यो कम्युनिस्ट–सर्वहारावर्गीय–कम्युनिस्ट निष्ठा तथा आफ्नो वर्गबाट गम्भीर च्यूत हुनुको परिणति हो । नेपालमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद–साम्यवाद ल्याउन क्रान्तिकारी पहलकदमी अघि बढिसकेको छ । विसर्जवादविरुद्धको सङ्घर्षमा नेपाल कम्युनिस्ट पार्टीले मुक्तिकामी जनतामा उत्साह भर्दै लगेको पनि छ । कथित तीनैतहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले आफ्नो सशक्त र महान् प्रतिरोधी क्षमता देखाइसकेका छन् । त्यसैले आउनुहोस्, विसर्जनवाद तथा सामाजिक दलाल पुँजीवादका विरुद्ध निर्णायक सङ्घर्ष गरौँ, वैज्ञानिक समाजवादी राज्य–व्यवस्था स्थापना गरौँ । माओले भन्नुभएजस्तै ठूलो छाती भएको कम्युनिस्ट बनौँ, नम्र र सक्रिय होऔँ, क्रान्तिको हितलाई केन्द्रमा राखौँ, क्रान्तिलाई नै आफ्नो जीवनको सम्पूर्र्ण इच्छा बनाऔँ, व्यक्तिगत जीवन क्रान्तिमा समर्पित गरौँ, जहाँ पनि जहिले पनि ऊ सधँै सिद्धान्तप्रति निष्ठावान तथा प्रतिबद्ध बनौँ, गलत विचार र व्यवहारका विरुद्ध अथक सङ्घर्ष गरौँ, पार्टीको सामूहिक जीवनलाई सङ्गठित गरौँ, पार्टी र जनताको सम्बन्ध सुदृढ गरौँ, आपूm र आफ्नो व्यक्तिगत जीवनभन्दा पार्टी र जनताप्रति बढी चासो व्यक्त गरौँ । जनता–कम्युनिस्टको विजय सुनिश्चित छ ।

२०७५ जेठ २ गते बुधबार दिउँसो १ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :