कुर्सीको महिमा : गोरख पाण्डे

Gorakh-pandey-kavitakosh

– गोरख पाण्डे 

      कविता

ऊ जमिनमा हुँदासम्म
कुर्सी खराब ’थ्यो
कुर्सीमा जब ऊ विराजमान भो
जमिन भो खराब ।

उसको नजर कुर्सीमा ’थ्यो
कुर्सी लागेको ’थ्यो
उसको नजरलाई
ऊ नजरबन्द गर्छ उसलाई
महिलालाई नजरबन्द गर्नेलाई ।

फगत ढाँचा होइन त्यो
फलाम या काठको
कद हो कुर्सी त
कुर्सी अनुसार
सानो ठूलो छ त्यो
स्वाधीन छ या अधीन छ
खुस छ या नाखुस
कुर्सीमा लिसोझैँ टाँसिन्छ
एक लिप्त मानिस ।

फाइल दब्दै रहन्छन्
न्याय टालिन्छ
भोकासम्म दाल भात पुग्दैन
बिरामीलाई ओखती
अपराध नगरेर पनि
सुलीमा चढाइन्छ
यसैबीच
कुर्सी नै हो
जो घुस र प्रजातन्त्रको लेखा राख्छ ।

कुर्सी खतरामा छ त प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ त देश खतरामा छ
कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ
कुर्सी बचेन त
भाँडमा जाओस् प्रजातन्त्र
देश र दुनियाँ ।

खुनको समुद्रमा सिक्का राखिएका छन्
सिक्कामाथि कुर्सी
कुर्सीमाथि तानाशाह
एकपटक फेरि नरसंहारको आदेश दिन्छ ।

अविचल रहिरहन्छ कुर्सी
माग र सिकायतको दुनियाँमा
चोट र आँसुको दुनियाँमा
मुर्दातुल्य रहन्छ कुर्सी
आफ्नै खुट्टामा आगो नलागेसम्म ।
मातेको मान्छेझैँ डङ्ग्रङ्ग ढल्छ ऊ
नालीमा आँखा खोल्छ
जब नशाजस्तै कुर्सीको मोहभङ्ग हुन्छ ।

कुर्सीको महिमा
बखान गर्ने
यो एक थोत्रो प्रयास हो
लिसोझैँ टाँसिनेलाई सोधे हुन्छ
कुर्सी भूगोल हो
कुर्सी इतिहास हो ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :