राष्ट्रघात र निरङकुशताविरुद्ध नेकपाद्वारा वैशाख २२ गते नेपाल बन्द / बन्दलाई माओवादी केन्द्रको समर्थन

 

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केपी ओली नेतृत्वको सरकार चरम फासिवादी बन्दै गएको भन्दै विरोधस्वरूप यही वैशाख २२ गते नेपाल बन्द घोषणा गरेको छ । उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार प्रेसवक्तव्य जारी गर्दै सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक आन्दोलनमा सहभागी भइरहेका दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, बेपत्ता पार्ने र झूटा मुद्दा लगाएको बताएका छन् । साथै विप्लवले आफ्ना १२ जना नेता–कार्यकर्तालाई सरकारले बेपत्ता पारेकाले वर्तमान सरकारलाई फासिस्ट र निरङ्कुश बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारको उक्त दमन, धरपकड र फासिस्ट शैलीको विरोधमा यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरिएको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नागरिकको स्वतन्त्र रूपमा विचार राख्ने, सभाजुलुस तथा राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि बन्देज लगाएको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचारी, कालोबजारीको विरोध गर्दै जनतालाई सङ्गठित बनाउने काम भेला, सम्मेलन, अन्तक्र्रिया गरिरहेका बेला बाटो र कार्यक्रमस्थलबाट सरकारले प्रहरी लगाएर अपहरणशैलीमा नेकपाका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई गिरफ्तार गर्ने तथा बेपत्ता पार्ने काम गरिरहेको छ ।
यसैगरी सोही विज्ञप्तिमा बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दासमेत केपी सरकार मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् । घोषित कार्यक्रमअनुसार वैशाख १९ गते बुधबार विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ भने २० गते बिहीबार विभिन्न ठाउँमा कोणसभाहरू सम्पन्न भएका छन् भने आज अर्थात शुक्रबार साँझ मशालजुलुस निकालीएको छ । २२ गते अर्थात शनिबार बिहानै देखि नेपाल बन्द हुने छ । बन्द कार्यक्रमलाई साथ नेकपाले न्यायप्रेमी, देशभक्त, वामपन्थी र प्रगतिशील पक्षहरूसँग अपिलसमेत गरेको छ ।
बन्दलाई माओवादी केन्द्रको समर्थन
यसैबीच पुनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले वैशाख २२ गतेका लागि नेकपाले आह्वान गरेको नेपाल बन्दलाई समर्थन गरेका छन् । मङ्गलबार पे्रसविज्ञप्ति जारी गर्दै नेता किराँतीले सरकार र नेकपाबीच वार्ता हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महान् जनयुद्धद्वारा स्थापित क्रान्तिका मुद्दाहरू कार्यान्वयन गर्न सङ्घर्षरत राजनीतिक सङ्गठन हो । तर चारु मजुमदारको रगत पिउने ज्योति वसुको भूत सवार खड्ग ओली सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएर त्यसका नेताहरूविरुद्ध मुद्दा हाल्ने, गिरफ्तार गर्ने, बेपत्ता पार्नेजस्ता जघन्य दमन गरिरहेको छ । माओवादी कम्युनिस्ट मास्ने दलाल पुँजीवादी राज्य दमनविरुद्ध नेकपाद्वारा आयोजित ‘नेपाल बन्द कार्यक्रम’ लाई नीतिगत समर्थन गर्दै नेपाल सरकार–नेकपा वार्ताका लागि आह्वान गर्छ ।’

२०७५ वैशाख २१ गते शुक्रबार बेलुकी ९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :