क्रान्तिकारी ट्रेड युनियन महासङ्घको छैटौँ राष्ट्रिय सम्मेलन

 

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङको छैटौँ राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि कास्कीको पोखरामा सुरु भएको छ । महासङ्घले १२९ औँ मे दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । ‘एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्ट्रघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिका लागि छैटौँ राष्ट्रिय सम्मेलन !’ नाराका साथ सम्मेलन सुरु हुनुपूर्व पोखरा सहरका विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो । जुलुसमा हजारौँ प्रतिनिधि, पर्यवेक्षक र जनता सहभागी भएका थिए ।

नेकपाका स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगर ‘विषम’ ले सम्मेलन उद्घाटन गरेका छन् । त्यस्तै सम्मेलनमा नेकपाका सल्लाहकार समतिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधिसभाकी सभामुख उमा भुजेल ‘शिलु’, नेकपाका धौलागिरि इन्चार्ज विप्लव, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्द, तमुवान राष्ट्रिय मुक्तिमोर्चाका प्रमुख किसानसिंह गुरुङ, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीकी प्रतिमा बजगाईंलगायतको उपस्थिति रहेको जानकारी हाम्रा पोखरा संवाददाता रमाकान्त बास्तोलाले दिएका छन् ।

सम्मेलनका अवसरमा ट्रेड युनियन महासङ्घका संस्थापक अध्यक्ष असारे काकालाई सम्मान गरिएको थियो । सम्मेलनको अध्यक्षता महासङ्घका संयोजक अमर झाँक्री, सञ्चालन विजय दर्नाल र स्वागत मन्तव्य गोकुल दाहालले गरेका थिए । सम्मेलनले टे«ड युनियन महासङ्घको नयाँ केन्द्रीय कार्यसमिति गठन गर्ने जनाईएको छ ।

प्रत्येक वर्ष मे १ तारिख अर्थात् वैशाख १८ का दिन नेपाललगायत विश्वभरि नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । सन् १८८९ मे १ देखि संसारभर यो दिवस मनाउन थालिएको हो । रुसी अक्टोबर क्रान्तिबाट स्थापित सोभियत सङ्घले मजदुरहरूको ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको नारा लागू गरेको थियो । पहिले मजदुर दिवस मजदुरहरू र साम्यवादीहरूले मात्र चाडका रूपमा मनाउने गरेको भए पनि अहिले प्रत्येक देशका सरकारहरूले नै उक्त दिनमा सार्वजनिक बिदा दिने गरेका छन् । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख १९ गते बुधबार मध्यान्न १२ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :