ओलीको तरिका पनि महेन्द्रको भन्दा फरक छैन : आनन्दस्वरूप बर्मा वरिष्ठ भारतीय पत्रकार तथा वामपन्थी लेखक

 

 

आनन्दस्वरूप भारतीय पत्रकार हुन् । उनी नेपालको राजनीतिक परिघटनाका बारेमा जानकारी राख्दछन् । त्यसमा पनि नेपालको वामपन्थी आन्दोलनलाई नजिकबाट नियालिराखेका छन् । केपी ओलीको भारत भ्रमण र नेपालको पछिल्लो राजनीतिक परिघटनालाई लिएर रातो खबरका निर्देशक गुणराज लोहनीले लिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक

»» हालै केपी ओलीको भारत भ्रमण भएको छ । ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध कस्तो रहन्छ ?

यो प्रश्नको जबाप लामो हुन्छ । केपी शर्मा ओलीको भारत भ्रमण भयो । यो एकदम महत्वपूर्ण छ । महत्वपूर्ण कुन अर्थमा भने जब नेपालमा नाकाबन्दी भयो त्यसयता नेपाल–भारत सम्बन्ध निकै नै बिग्रेको थियो । त्यसपछि भारतीय सत्ता पक्षले नेपाल भारतको सम्बन्ध बिग्रिनुमा केपी ओली दोषी छन् भन्ने देखेको छ। ओलीले चीनसँग सम्बन्ध विस्तार गरेका कारण नेपाल–भारत सम्बन्धमा तिक्तता आयो । दोस्रो, भारतीय सत्ताधारीहरूको आरोप यो पनि थियो– ओलीले नेपालमा एउटा कस्तो राष्ट्रवाद पैदा गरे भने त्यो भारतको विरोधमा उत्रियो । सबै जनता भारतविरोधी भए । त्यो राष्ट्रवाद जो भारतको बिरुद्ध थियो त्यसको जगमा टेकेर ओलीले सफलता प्राप्त गरे । जब ओलीको सरकार ढाल्न प्रचण्डले भूमिका निर्वाह गरेका थिए त्यसको पछाडि भारतीय र नेपाली राजनीतिज्ञ तथा जनताले के सोचे भने प्रचण्डले भारतको दबाबमा सरकार ढाले । यसरी अनौठो तरिकाले फेरबदल आयो । प्रचण्ड भारतविरोधी मानिन्थे । आज उनी भारत समर्थक मानिन थाले । ओली भारतका समर्थक मानिन्थे । आज भारतविरोधीका रूपमा चिनिन्छन् । यस्तो जटिल परिस्थितिमा ओलीको भारत भ्रमण भयो । कस्तो लाग्थ्यो भने प्रधानमन्त्री मोदी आपैmँ विमानस्थल जान्छन् तर त्यस्तो भएन । ओलीको स्वागत गृहमन्त्री राजनाथ सिंहले गरे । देखावटी रूपमा उच्च सम्मान गरेजस्तो गरी राम्रो खुवाए । बस्ने व्यवस्था मिलाइयो तर ओलीका विदेशमन्त्री प्रदीप ज्ञवाली थिए । उनको अन्तर्वार्ता नेपालका मिडियामा छापियो । त्यसमा केही महत्वपूर्ण कुरा थिए ः १. अब नेपाल–भारत सम्बन्ध पुनःपरिभाषित गर्न जरुरी छ । दोस्रो, भारत सहयोगी देश हो र नेपाल सहयोग लिने देश हो । तेस्रो, विगतमा हामीले जे ग¥यौँ, ठीक ग¥यौँ । विशेषगरी भारतले नेपालमा नाकाबन्दी गरेको बेला । हाम्रा लाखौँ नेपाली भारतमा रोजगारी गर्दछन् । उनीहरू करोडौँ पैसा नेपाल पठाउँछन् । त्यसकारण भारत देनदार देश हो र हामी लेनदार देश हौँ । यसरी नेपाल आज एसल्ट (आक्रामक) बन्दै छ कि नेपाल सार्वभौम देश हो । यो कुराले भरतीय शासक वर्गमा त्रास पैदा ग¥यो । त्योभन्दा पनि जब एमाले–माओवादी केन्द्रका बीचमा चुनावी मोर्चा भयो । त्यसले भारतीय शासक वर्ग सत्तापक्ष त्रसित भयो तर हामी के देख्छौँ भने वाम गठबन्धन छ जसले चुनावी मोर्चाभन्दा बढी केही गर्न सक्दैन । नेपाली जनतालाई पनि यी पार्टीले केही गर्दैनन् भन्ने बुझेका छन् तर भारतजस्तो देश जहाँ हिन्दु धर्मको राजनीति चलेको छ त्यस्तो देशमा नाम मात्रैको वामपन्थी सरकारमा आए पनि हैरानी बन्छ नै । भारतलाई (सत्ताधारी) हैरानी यो नाम मात्रैले सरकार र पार्टी एकताले मात्र हो । जहाँसम्म नेपाल–भारत सम्बन्ध कस्तो रहन्छ भन्ने प्रश्न छ ओलीको भारत भ्रमणले केही नयाँ सम्झौता गरेको छैन । जहाँसम्म कुरा छ पुराना सन्धिहरूलाई चालू गर्ने । त्यसबाहेक नयाँ सम्झौता भएका छैनन् । भारतको रक्सौलबाट वीरगन्जसम्म रेल ल्याउने कुरा छ त्यो हावा कुरा हो ।

»» विगतमा नेपालका प्रधानमन्त्री भारत गएर जे गर्ने गर्दथे त्योभन्दा केही नयाँ त भएकै छ नि ?

केपी शर्मा ओल्को पहिलो भारत भ्रमणको बेला भारतले गलमभचनचयगलम जस्तै राखेको थियो यद्यपि अहिले भ्रमणमा केही तडकभडक दखाइयो । तर सारमा केही पनि फरक छैन विगतभन्दा । जसले रूपमा परिवर्तन आओस् । गुणात्मक परिवर्तन आउने केही नयाँ चीज भएको छैन ।

»» प्रधानमन्त्री ओलीले २०७४ साल चैत २० गते नेपालको संसद्मा देशका नाममा सम्बोधन गरेको कुरालाई तपाईं के भन्नुहुन्छ ?

ओलीले भारत भ्रमणपूर्व अब नेपाल विकासको मुहान फुटाउने कुरा गरे त्यो कुरा नेपाल फर्केपछि कहीँ, कतै पनि गरेका छैनन् । त्यो मात्रै होइन, माथिल्लो कर्णाली विवाद थियो जस्ताको तस्तै रहन्छ । पञ्चेश्वरका विषयमा पनि कुरा उठेन । उनको भारत भ्रमणको बेला नेपाल–भारतको बीचमा जुन सीमा विवाद थियो त्यस विषयमा पनि केही कुरा भएन । मेरो व्यक्रिगत बुझाइ के थियो भने मुख्यमुख्य विवादित ठाउँ लिपुलेक, कालापानी र सुस्ता जो नवलपरासीमा पर्दछन् त्यस विषयमा पनि केही कुरा भएन । यद्यपि नेपाल भारतको बीचमा धेरे ठाउँमा सीमा विवाद छ । गत वर्ष दोकलाम विवाद भयो । यस्तो परिस्थितिमा पनि त्रिदेशीय नाका विषयमा ओलीजीले उठाएनन् । यसरी प्रदीप ज्ञवालीको विज्ञप्ति खोक्रो साबित भयो । ओलीले कालापानी, सुस्ताको कुरा उठाएनन् किनभने यो विषय उठाउँदा भारत रुष्ट हुन्छ । प्रदीप ज्ञवालीको विज्ञप्ति जसले नेपालको हित हुने कुरा दमदार रूपमा उठाउने कुरा थियो त्यो कुरा ओलीले नउठाएपछि ज्ञवालीको विज्ञप्तिले हावा खायो । यसरी चीनको बोली र व्यवहारमा अन्तरविरोध देखिन्छ । ओलीको लोकप्रियता नाकाबन्दीको समयमा अडान लिएको कारणले नै भएको थियो । तर उनले आफ्नो असली अनुहार खुलस्त पारे– नाराअनुसार नै ओलीलाई मान्ने हो भने दोकलाम विवाद उठिरहेको बेलामा कालापानी र सुस्ताका बारेमा बोल्नुपथ्र्यो ।

»» अरुण–३ को शिलान्यास भारतबाटै गर्ने भन्ने थियो तर अन्तिममा गरिएन । किन होला ?

त्यस विषयमा म जानकार छैन । म पत्रकार भएको कारणले न नेपाली संस्थापन, न त भारतको संस्थापन, दुवैले विश्वास गर्दैनन् । हामी शाश्वत् रूपमा नै विद्रोही प¥यौँ । पहिलेपहिले नेपाली दूतावासले भोजमा बोलाउने गर्दथ्यो । यसपालि भने बोलाएन । त्यस विषयमा मलाई कुनै पनि जानकारी छैन ।

»» नेपालमा ओलीको भारत भ्रमणपूर्व भारताट ठूलो सहयोग ल्याउँछौँ र विकास गर्छौं भनेर हल्ला मच्चाइयो । अहिले के देख्नुहुन्छ ?

कुनै एक घटना पनि भएका छैनन् जसले नेपाल–भारतको समग्र क्षेत्रमा गुणात्मक परिवर्तन ल्याओस् । तर जब ओली प्रधानमन्त्री बने त्यो अवस्थादेखि नै भारतलाई दबाबमा राख्ने प्रयत्न गरे । ओली प्रधानमन्त्री बनेपछि उनले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई एयरपोर्टमा स्वागत गरे । जब नेपालको प्रधानमन्त्री चुनिन्छ परम्परागत रूपमा पहिलो विदेश भ्रमण भारतमा हुन्छ जस्तो कि मन्दिरमा गएर मूर्ति ढोगेजस्तो । यो संस्कार एकदम गलत हो । भारत यस्तो देश हो आफ्ना छिमेकीहरूले चीनसँग सम्बन्ध राखेको मन पराउँदैन । म्यानमरदेखि नेपालसमम । वान बेल्ट वान रोडको त विरोध गरिरहेको छ । यस्तो अवस्थामा ओलीले हामी कमजोर होइनौँ है भन्ने देखाउन पाकिस्तानी प्रधानमन्त्रीलाई बोलाए ।

ओलीले महेन्द्रको जस्तै छिमेकीसँग कार्ड खेलिरहेका छन् । जसरी हिजो महेन्द्र चीनसँग नजिकिने भारतलाई तर्साउने र भारतसँग एकथरी कुरा गरेर चीनलाई आफ्नो पक्षमा पार्ने गर्दथे । ओलीको तरिका पनि महेन्द्रको भन्दा फरक छैन । यसरी ओलीले आफ्नो नेतृत्वको सरकार ५ वर्ष रहन्छ भनेर विश्वास दिलाउन खोजिरहेका छन् । व्यक्तिगत रूपमा म अर्थशास्त्री त होइन तर केही अर्थशास्त्रीसँगको कुरामा मैले के थाहा पाएको छु भने नेपालको अर्थतन्त्र ध्वस्त भैसकेको छ । नेपालका बैङ्क टाट पल्टिएका छन् । भित्रभित्रै नेपालका बैङ्कले विदेशी बैङ्कबाट ठूलो ऋण लिइरहेका छन् रे । यस विषयमा तपाईंहरू पनि पत्ता लगाउनुहोस्, हामी पनि छौँ । यसरी नेपाल अन्तर्राष्ट्रिय ठूला वित्तीय संस्थाको बन्धक बन्न पुगेको छ । यसरी नेपालमा केही भयो भने त्यसको तरङ्ग भारतको सत्तामा पर्ने गर्दछ । भारतको सत्ताधारी वर्ग कति ढुक्क छ भने नेपालको राजनीतिमा जस्तोसुकै फेरबदल आए पनि सजिलै नियन्त्रणमा लिन सकिन्छ । अहिले हेर्न सक्नुहुन्छ । एमाले र माओवादी केन्द्रले वैशाख ९ गते पार्टी एकता गर्ने भनेका छन् । म त पार्टी एकता हुने नै देख्दिनँ । एकता भैहाले पनि खासै महत्व राख्नेवाला छैन । पार्टी एकता भैहाले पनि नेपालका क्रान्तिकारीहरूमाथि दमन गरिनेछ । दमनको मेसिन धारिलो पारिनेछ । भारत पनि के आत्मविश्वासमा देखिन्छ भने ओलीले एक इन्च पनि यताउता गरे ओली सरकार ढालेरै देखाउँछौँ । सरकार ढाल्नका लागि उसले महरा र वर्षमान पुनलाई प्रयोग गर्ने देखिन्छ । अब कुरा नेपालका जो क्रान्तिकारी छन् तिनीहरू सरकार के गर्छ र भारत के गर्छ ? भारतले के गर्ला भन्ने विषयमा अल्झिनुपर्ने कुरै छैन । क्रान्तिकारीहरूले सङ्घर्षका लागि रणनीति तयार पार्दै अगाडि बढ्नुपर्ने देखिन्छ किनकि सङ्कट नेपालमा मात्रै होइन, ग्लोबल रूपमै राजनीतिक तनाव आउँदैछ । जस्तो हिजो मात्र अमेरिकाले सिरियामा हवाईहमला गरेको छ । ट्रम्पले त्यसको प्रतिक्रिया दिँदै भनेका छन्– एकपटक मात्र हमला गर्ने हो तर त्यसले ठूलो सङ्कट निम्त्याउने देखिन्छ । विशेषगरी साना देशहरूमा नेपालमा मात्रै होइन, भारतका लागि पनि सङ्कट नै आउनेछ । अहिलेको विश्वमा एक देशको युद्धसँग अर्को देशको संलग्नता नहुने भन्ने हुनै सक्दैन । भारत युद्धमा नजाने, अमेरिका जाने, चीन युद्धमा जाने, नेपाल नजाने भन्ने हुँदै हँुदैन । कारण विश्वव्यापी ध्रुवीकरण भइरहेको छ । सरकार दमनमा उत्रन्छ भनेर क्रान्तिकारीहरू पछि हट्ने भन्ने हुँदैन । ओली सरकार बनेको छ, अर्को वर्ष ढल्न सक्छ । फेरि अर्को सरकारमा आउँछ । त्यसले पनि त क्रान्तिकारीहरूमाथि दमन नै गर्ने हो । त्यसकारण नेपाल मात्रै यस्तो देश हो जहाँका अधिकांश जनता समाजवाद तथा साम्यवादमा विश्वास गर्छन् । प्रश्न के हो भने करिब ७५ प्रतिशत जनता साम्यवादका पक्षमा छन् । तर किन क्रान्ति पूरा हुन सकेन ? अधुरो रह्यो ? नेपाली समाज सधैँ विद्रोही नै रहेको छ । लखन थापाको सामन्तवादविरोधी विद्रोहदेखि हालसम्म सधै परिवर्तनका पक्षमा देखिन्छन् जनता । नेपालमा यस्तो पनि भयो । एक चरणमा पुगेपछि व्यापक रूपले पटकपटक यस्तो हुँदा पनि जनता विद्रोहका पक्षमा नै छ । विद्रोहका पक्षमा आन्दोलन सही ढङ्गले उठाउन भने यो परिस्थिति बदलिने आवस्था आउँछ । त्यसकारण क्रान्तिकारीहरु अगाडि बढ्नुपर्छ । सरकारको त लुट्ने, साधनको दुरुपयोग गर्ने काम हो । उनीहरू गरिरहन्छन् तर क्रान्तिकारीहरूलाई मेरो सल्लाह तपाईंहरू आफ्नो काम गर्नुस् । सरकारको काम त लुटपाट गर्ने नै हो । सन् १९९४ मा मनमोहन अधिकारीको पालामा आफ्नो गाउँ आफैँ बनाऊँजस्ता काम भए । त्यस पछाडि त कुनै पनि काम भएन । यसरी देशमा चुनौती पनि छन् अवसर पनि छन् ।

»» अहिले एमले–माओवादी केन्द्र गठबन्धनलाई वाम गठबन्धन भन्ने गरिएको छ । यसलाई तपाईं के भन्नुहुन्छ ?

निश्चय नै यो कुनै वाम गठबन्धन होइन । वाम गठबन्धन हुन कुनै वैचारिक आधार नै छैन ।

»» वाम गठबन्धन बनेको समयपछि एमाले र माओवादी नेताले ३० वर्ष शासन गर्ने बताए तर सरकार गठनपछि गृहमन्त्रीले बादल नै ओलीविरुद्ध थालेका छन् । सरकार निष्पक्ष चलाउन सक्छन् ?

अझै त्यो सम्भव नै छैन । तपाईं हेर्न सक्नुहुन्छ । यहाँ गठबन्धन भयो त्यो केही सुविधाका लािग भएको छ । कुनै क्रान्तिकारी परिवर्तनका लागि भएको होइन । गठबन्धन नभएको भए प्रचण्डलाई ठूलो धक्का पुग्थ्यो होला । एमालेसँग गठबन्धन नगरेको भए प्रचण्डको पार्टीले १० सिट पनि ल्याउँदैनथ्यो । गठबन्धन गरेकाले प्रचण्डको पार्टीको उद्धार भयो । भारतले नेपालमा नाकाबन्दी नगरेकोे भए ओलीको पनि अस्तित्व समाप्त भइसक्थ्यो । त्यो नाकाबन्दीले ओलीलाई नयाँ जीवन दियो । जसरी एमालेले भन्दै आएको छ– उसले जनयुद्धलाई कहिल्यै मान्यता दिएन । एमालेले जनयुद्धलाई सधैँ आतङ्ककारी कारबाही भन्दै आएको छ । एक ठाउँमा त ओलीले फासिस्ट कारबाहीसमेत भने । दोस्रो अक्टोबरमा जब गठबन्धन बनाउने बैठक बस्दै थियो त्यो अवस्थामा माओवादी केन्द्रले कुनै पनि शक्ति एमालेसँग राखेन । कुनै पनि गएगुज्रेको सङ्गठनले पनि न्यूनतम सर्त राख्ने गर्दछ । तर माओवादी केन्द्रले आत्मसमर्पण नै ग¥यो । तेस्रो, जब एमाले र माओवादी केन्द्रका बीचमा गठबन्धनको तयारी हुँदै गर्दा सोही पार्टीका दोस्रो तहका नेता कृष्णबहादुर महरालाई गठबन्धन हुँदैछ भन्ने पनि थाहा थिएन । विशेष सूत्रबाट मैले खबर पाएको थिएँ– कृष्णबहादुर महरा दाङमा हुँदा एमाले नेताले नै महरालाई तपाईं र म मिल्ने भयौँ भनेर सुनाएपछि मात्र महराले थाहा पाए रे । रहस्यात्मक तरिकाले गठबन्धन बनेको थियो ।

एमाले नेताहरू र स्वयम् प्रचण्डले पनि गठबन्धन हुने कुरामा केही बोलेका थिएनन् । योभन्दा पहिला किन यो कुरा बाहिर आएन भन्ने प्रश्नको जबाफ दिंदै प्रचण्डले पहिला यो कुरा बाहिर आएको भए पार्टी एकता भइदिन्थ्यो भने के चोरी, डकैती थियो त ? त्यो गोप्य राख्नलाई गठबन्धन बनाएर चुनाव लड्ने कुरा कुनै अपराध त थिएन होला । यसरी यो रहस्यात्मक ढङ्गले गठबन्धन तथा पार्टीएकता गर्ने सहमति गरियो । यो एकता स्वार्थपूर्तिका लागि थियो । लुटपाटलाई वैधानिक बनाउन थियो । जजसलाई मन्त्री बनाइयो ती सबै लुटपाट मच्चाउनेमध्ये हुन् । यसरी राजनीतिलाई व्यवसायका रूपमा लिइनु देशका लागि दुःखद् कुरा हो ।

»» केपी–प्रचण्डको सरकार छ । यसले विकास र समृद्धिजस्ता नारा दिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

विकास र समृद्धिको कुरा गर्ने हो भने ओलीले नेपाली युवा जो ठूलो मात्रामा विदेश पलायन हुँदैछन् तिनीहरूलाई रोक्न सक्नुपर्छ । ती युवाहरूलाई रोजगारीको अवसर नेपालमै सिर्जना गर्नुपर्नेछ । यसले जनतामा केही प्रभाव पर्नसक्छ । स्थिर सरकार हो भन्ने प्रमाणित गर्नसक्नुपर्दछ । सन् १९९४ मा भूमिसुधारका बारेमा एमालेले गर्न खोजेको थियो । माओवादी केन्द्रले पनि त्यो मुद्दा उठाएको थियो । त्यसपछि लागू गर्न सक्नुपर्नेछ । नेपालमा कुनै पनि जनता भूमि नभएको सरकारी दाबी छ । तर अहिले जुन परिस्थिति आएको छ यसले भूमिहीनहरूको सङ्ख्या बढ्ने देखिन्छ । सरकारलाई काम गर्न त थुप्रै अवसरहरू छन् तर त्यसका लागि तपाईंको नियत ठीक हुनुप¥यो नि तपाईं हेर्न सक्नुहुन्छ । जसरी यो एकता भयो त्यो स्वार्थको भरमा भयो नि । तपाईंमा स्वार्थ छ भने विकास गर्ने इच्छाशक्ति नै हुँदैन । कुरा त गर्न सकिन्छ । हवाई योजना ठूलाठूला गर्न सकिन्छ । जस्तो भारतमा मोदी बुलेट ट्रेनको कुरा गर्दछन् तर त्यसले कसलाई फाइदा छ ? नेपालजस्तो सानो देश जससँग प्रचुर मात्रामा प्राकृतिक स्रोतसाधन छ । कसरी सानासाना उद्योगको विकास गरेर आमजनतालाई रोजगारीको अवसर दिन सकिन्छ ? विकास हुन राजनीतिक इच्छाशक्ति हुन जरुरी छ । तर यिनीहरूको जुन काम गर्ने बाटो छ त्यो नै गलत छ ।

»» जसरी रक्षात्मक तरिकाले गठबन्धन बनाइयो त्यो दुई पार्टीको इच्छाशक्ति भन्दा पनि बाह्य शक्तिको आडमा बन्यो भन्ने सर्वसाधारण जनताको बुझाइ छ । तपाईं के भन्नुहुन्छ यसलाई ?

त्यो कुरा पनि बाहिर सुनियो । कसैले यो एमाले–माओवादी एकता भारतको पहलमा गरियो भन्ने पनि छ । मलाई लाग्छ यो अड्कल हो । एमाले–माओवादी आफूलाई कम्युनिस्ट भन्छन् तर यिनीहरू भनेका सामाजिक जनवादी वा अरू बुर्जुवा पार्टी हुन् । दुवै ठूलो पार्टी मिलेर संसद्मा करिब दुईतिहाइ मत पाए । यो भारतीय सत्तारूढ पार्टीहरूका लागि टाउकोदुखाइ बन्न पुग्यो । जो व्यक्ति व्यापक रुपमा यसका बारेमा बुझ्दैनन् उनीहरूले मनोवैज्ञानिक दबाब महसुस गरे । भारतमा पनि नामधारी वाम पार्टीहरू छन् । उनीहरूलाई राहत मिल्यो– नेपालको संसद्मा दुईतिहाइ कम्युनिस्टहरूको मत पुग्यो । एकातर्फ यस्तो अड्कल पनि छ– नेपालमा वामपन्थीहरूको एकता भयो । त्यसलाई टुटाउन भारतीय गुप्तचर संस्था रअ (रिसर्च एन्ड एनालाइसिस उइङ) ले प्रयत्न गरिरहेको छ । यो गठबन्धन नेपालमै आफ्नो अस्तित्व रक्षा गर्न एमाले–माओवादीले जनतालाई भ्रममा पार्न योजनाबद्ध तरिकाले रचेको वितण्डा नै हो । वाम गठबन्धन बनाउँदा त्यसले केही समय जनतालाई अन्योलतर्फ धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने खेल मात्रै हो । अर्को कुरा जब तपाईं आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नुहुन्छ भने कसरी जनताको हितमा काम गर्नुहुन्छ ? कुनै समय पानी खाएर प्रचण्डलाई गाली गर्ने मातृका यादव ओली सरकारका मन्त्री छन् । मलाई के लाग्दैन भने यादवले प्रचण्डको कार्यदिशा स्वीकारेका छैनन् तर पनि उनको पार्टीमा गएर सरकारमा सहभागी भए । यसकारण मुख्य कुरा तपाईंले व्यक्तिगत स्वार्थ राख्नुहुन्छ कि राख्नुहुन्न भन्ने कुरा नै हो । यो बाटो नै गलत छ । नेपालको संसद्वादी राजनीतिक दलहरूको बाटो नै गलत छ र जनताले केही वर्षपछि यो बाटो गलत छ भन्नेछन् ।

 »» अन्तिममा, ओली सरकारको गठनपछि नेपाल–भारत सम्बन्ध र नेपाल–चीन सम्बन्ध कस्तो रहला ?

नेपाल–भारत सम्बन्ध वा भारत–चीन सम्बन्धमा ओलीको भारत भ्रमण र नेपालमा नयाँ सरकार गठनले खासै फरक पार्दैन । भारत–चीनको प्रतिष्पर्धी कुनै पनि हालतमा होइन । पश्चिमा, युरोपियन र भारतीय अर्थशास्त्रीहरू पनि भारत चीनभन्दा आर्थिक हिसाबले ५० वर्षपछि छ भन्छन् । यसरी सीमामा पनि अलि तनाव देखिनु सामान्य नै हो । भारत त्यसरी नलागेको भए दोक्लाममा विवाद आयो । त्यो विवाद भारतको प्रभुत्ववादी चिन्तनले गर्दा भएको हो । अमेरिका र चीनको बीचमा जुन प्रतिस्पर्धा छ त्यसकारण भारत र चीनको बीचमा अवस्थित भएकाले नेपाललाई न भारतले, न त चीनले सम्बन्ध टाढा बनाउन चाहन्छन् । तसर्थ नेपालमा निःस्वार्थ लिडर सत्तामा आउने हो भने नेपाललाई समृद्ध बनाउन सकिन्छ । नेपालले चीन–भारतसँग समान नीति बनाउने नेपालका नेताहरूले बताउँछन् तर त्यो सम्भव छैन । चीनले सुरु गरेको बाटो एक बाटो एक पाटोका पक्षमा उभिएको छ भने भारत त्यसको विरुद्धमा छ । जसरी नेपालका सत्ताधारी नेताहरू भारतको शरणमा गएर लम्पसार पर्छन् । त्यो कुरा नेपालीहरूले मन पराउँदैनन् । त्यसकारण नेपाली जनतालाई समृद्ध बनाउने नेतृत्वमा क्षमतामा भर पर्ने कुरा हो । स्रोतसाधनको हिसाबले नेपाल समृद्ध छ । त्यसकारण नेपालले भारत र चीन दुवै देशसँग समन्वय गरेरै अगाडि बढ्नुपर्दछ ।
स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख ८ गते शनिबार अपरान्ह ३ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :