कोशी बन्दको दिन कतै बम आतंक कतै सवारी साधनमा तोडफोड

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आइतबार दिनभरी नै कोशीका पाँच जिल्ला ठप्प भए । प्रहरीले शान्तिपूर्ण सभा गरिरहेका आफ्ना पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपा कोशी ब्युरोले एक दिने नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको कारण त्यस क्षेत्रमा दिनभरी नै यातायात, शैक्षिक संस्था, बजार, कलकारखाना बन्द रहे । कोशी ब्यूरो अन्तर्गत पर्ने सम्पूर्ण यातायात ब्यावसायीहरुले यातायात पूर्ण रुपमा बन्द गरेका छन् । संखुवासभा चैनपुर नगरपालिकाको दोभानेमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एक ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको अन्य दुई वटा ठाउँमा पनि सवारी साधनमा तोडफोड गरिएको बताइएको छ । यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले झापाको दमक चियावगान बेतानी पुल नजिकै एउटा बसमा आगजनी गरेका छन् । बस काकरभिट्टाबाट पश्चिमतर्फ जाँदै थियो । बन्दको दिन मोरङको पथरी र उर्लाबारीमा बम विष्फोट भएको खबर छ । बम विष्फोटको खबर र ठाउँठाउँमा बम भेटिएको खबरले कतिपय क्षेत्रको जनजीवन आतंकितसमेत बनेको थियो ।

प्रहरीले नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई, ब्युरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्या बराल, धनकुटा इन्चार्ज आकाश, सेक्रेटरी नवराज भट्टराईलगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा खुल्ला सभा गरिरहेकै बेलामा धनकुटाको हिलेबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले एक विज्ञप्ती जारी गरी पक्राउ गरिएका आफ्ना नेताकार्यकर्ताहरुलाई बिनाशर्त रिहाईको माग गरेका थिए । शनिबार नेकपाका पुर्वी कमाण्ड अन्तर्गतका मेची, सगरमाथा र जनकपुर ब्यूरोले संयुक्त रुपमा पे्रस विज्ञप्ति जारी गर्दै किरण राईलगायतका नेता–कार्यकर्ताहरुलाई रिहाइको माग गरेका थिए । साथै, उनीहरुले आइतबारको बन्द सफल बनाउनको लागि सबैलाई आग्रह समेत गरेका थिए ।
२०७४ चैत १२ गते बिहान गते ११ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :