रङ्गीचङ्गी दुनीयाँमा धमिलो दृश्य : रसुवाली कवि

अन्धकारलाई अन्धकारले नै अँगालो हालेको एक रात
कमरेड आउनुभयो हाम्रो घरमा
पुरानो पाठ्यक्रम अगेनामा हालिदिनुभयो
राता किताबसँगै हामी सजियौँ रातै देशमा
हामी विद्यार्थीबाट बाल छापामार भयौँ ।

पहिलोचोटि मैले यो देशलाई
गर्वले गरेँ लालसलाम

त्यसपछि कष्टकर यात्राका अनेकन मोडहरुमा भौँतारिरहेँ
युगान्तकारी क्षणहरुमा रमाइरहेँ

बारुदी दिनहरु सम्झन्छु
रक्तिम क्रान्तिकारी गीतहरु सम्झन्छु
रमाइलो तर जोखिमको
तुइनजस्तो सहयात्रा सम्झन्छु
त्यो गुराँसको फेदमा चुहिएको रगत सम्झन्छु
सम्झना दिदी
यात्रुको जीवन भन्नु सम्झना रहेछ ।

गाउन छोडेर आफ्नो गीत
रनभुल्ल भएको यात्राबाट म आएको छु
आफ्नो प्रिय कमरेडलाई भेट्न
मलाई अँगालो हाल्दै हाँस्नु छ
अँगालो हाल्दै रुनु छ

कमरेड फेरिनुभएछ
भुँडी भएछ
यो सहरको ठूलो सटरझैं
हापुरे बैठकमा लगाउनुभएको जुत्ता फेरिएछ
धोबीघाट गठबन्धनमा लगाउनुभएको सर्ट पनि फेरिएछ
६ दिने आमहडतालको तेजिलो रबाफ हराएछ
निधारमा रगत हो कि अक्षता लगाउनुभएछ

पुजारी भनौँ कि सहयात्री भनौँ
दोधारमा छु

लाल अभिभावदन मित्र, लाल अभिभावदन
युद्धकालीन शैलीमा भने–
सहरमा बाँच्न सकिएन
बाँच्ने मेसो गरिदिनुस्
मन्त्री निवासको झ्याल
पिच्चपिच्च पान थुक्दै
तातोपानी गिलासमा खन्याएर
मेरो प्रिय सहयात्रीले भने–
तपाईंसँग बुर्जुवा सर्टिफिकेट छैन
ज्ञान छैन बुर्जुवाहरु चलाउने
घर जानुस्
साग छर्नुस्
म व्यस्त छु
डिस्टर्भ नगर्नुस्

म बोलिनँ
बोल्न जरुरी पनि ठानिनँ
ममा उम्लिरहेको छ एउटा आक्रोश
म पनि जलाउन चाहन्छु
कमरेडको नक्कली सर्टिफिकेट
यो सहरले लगाइदिएको लुगा बालेर
म मेरा केटाकेटीलाई
जाडो कटाउन चाहन्छु
म यो क्रान्तिको उल्टो ल्यान्डिङविरुद्ध
फेरि अर्को लडाइँ लड्न चाहन्छु ।

स्रोत : रातो खबर साप्तहिक
२०७४ फागुन २८ गते अपरान्ह ४ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :