क्रान्तिका निम्ति वस्तुगत परिस्थिति तयार : किरण

अम्बिका चन्द / काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ ले नेकपासँग पार्टी एकताको प्रयास भइरहेकाले एकता प्रक्रियालाई मूर्त रूप दिन संयुक्त कार्यक्रमको आयोजना गर्न लागिएको खुलासा गरेका छन् ।

पार्टी एकताबारे बोल्दै किरणले सम्पूर्ण सच्चा वामहरू गोलबन्द हुन आवश्यक रहेको भन्दै प्रचण्डलाई आफूले विश्वास गर्नु सबभन्दा ठूलो भूल भएको बताए । जनयुद्धका नायक कहलिएका प्रचण्ड अहिले महा–फटाहामा परिवर्तन भएको किरणको भनाइ छ । शनिबार नेकपा र क्रान्तिकारी माओवादीले संयुक्त रूपमा चितवन, भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै किरणले नेकपाका नेता विप्लव र कञ्चनको नाममा पक्राउ पुर्जी जारी हुनु, नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई बिनाकारण पक्राउ गर्नुलाई प्रचण्ड–केपीको पराजित मानसिकताको उपज भएको समेत बताए ।

क्रान्तिको निम्ति वस्तुगत परिस्थिति बन्दै गएको एवं जनता क्रान्तिकारीहरूको मोर्चामा गोलबन्द हुँदै गएकोले केपी–पिके हतासिएर क्रान्तिकारीहरूलाई दमन, पक्राउ र विभिन्न मुद्दा लगाई फसाउने षड्यन्त्रमा सरकार लागिपरेकोे बताए । यस्तै, नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ ले आफ्नो पार्टी क्रान्तिका निम्ति जस्तोसुकै परिस्थितिको डटेर सामना गर्न तयार रहेको बताए । माओवादी केन्द्रका नेताहरूलाई भूतपूर्व कमरेडको संज्ञा दिंदै रणवीरले अबको लडाइँ वामको नाममा दलाली गर्ने पिके र केपीविरुद्ध रहने पनि बताए । क्रान्तिकारीहरूको पार्टी एकता अहिलेको अपरिहार्य आवश्यकता भन्दै रणवीरले वर्तमान दलाल संसदीय व्यवस्था विस्थापित गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

घाइते तथा अपाङ्ग समाजका प्रतिनिधि अमरले किरणतर्फ इङ्गित गर्दै जन्युद्धमा आफ्नो नेतालाई डोकोमा बोकेरै मोर्चामा सामेल भएको स्मरण गरे र एकीकृत जनक्रान्तिलाई सफल बनाउन नेताहरूलाई हवाईजहाजमा पनि चढाउन तयार भएको धारणा राखे । क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य अम्बिका मुडवरीको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रिया कार्यक्रमको संचालन नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीले गरेका थिए भने सेक्रेटरी धु्रबले स्वागत गरेका थिए । सहिद–सप्ताहको अवसर पारेर नेकपा र क्रान्तिकारी माओवादीको शनिबार देशव्यापी संयुक्त अन्तक्र्रिया तथा सहिद परिवारलाई अभिनन्दन गरेका छन् । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २३ गते अपरान्ह ५ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :