धेरैले बुझ्दैनन् ज्वालामुखी के हो ? – पूर्ण विराम

ज्वालामुखी ! तिमीले अलिकति लावा छाद्यौ
यथार्थमा ससाना भूकम्पका झड्काहरू छाद्यौ
अट्टालिकाहरूमा निकै कोलाहल छ
कोलाहललाई ध्यानपूर्वक सुन्दा
अट्टालिकामा महाभूकम्प गएको आभास पाइन्छ ।
ज्वालामुखी तिमीले ठीक समयमा लावा छाद्यौ
जिब्रो सुकाउने मौसम लम्बिरहेको ठाउँमा
तिमीलाई नबुझ्नेहरू हात्तीसुँढे बर्सात्को अचानक माग गर्न सक्छन्
प्रकृतमा तिमीले सुक्खा ओठहरूमा
एक अम्खरा पानी छाद्यौ
मलाई आफ्नो इतिहास बनाउन
वर्तमानमा यत्ति नै पर्याप्त छ
र छ विश्वास–
भविष्यमा तृषित ओठहरूका निम्ति
ज्वालामुखी तिमीले महासागर छाद्नेछौ ।
ज्वालामुखी तिमीले अलिकति लावा छाद्यौ
म मनमा छरिरहेछु मुस्कानका बीजहरू
प्रकृतमा बीजहरू नै बिरुवा हुनेछन्
र हुनेछन् बोटहरू
त्यसपछि बोटहरू परिवर्तित हुनेछन् रूखहरूमा
र सदाबहार जङ्गलहरू देखा पर्नेछन्
कत्तिले बुझ्दैनन् ज्वालामुखी तिमीलाई
र भोल्गाको किनाराजस्तै तिमीलाई सम्झिन्छन्
प्रकृतमा तिमी कसैको प्रतिलिपि होइनौ
तिम्रो आफ्नै मौलिकता छ
धेरैले बुझ्दैनन् ज्वालामुखी के हो ?
(स्रोत : ए ! मेरो आदरणीय लेकाली फूल र रातो खबर साप्ताहिक)
२०७४ फागुन २२ गते मध्यान्न १२ :३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :