मालेमावाद र नेपाली क्रान्ति – डा.भगवानचन्द्र ज्ञवाली

वर्तमान युगमा विश्वमा क्रान्ति र रूपान्तरणको नेतृत्व गर्ने एकमात्र पार्टी कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीलाई विचार र व्यवहारमा मागदर्शन गर्ने विचारधारा भनेको माक्र्सवाद, लेनिनवाद र माओवाद नै हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तथापि हामीमध्ये धेरैलाई कम्युनिस्ट विचारधारा वा मालेमावादको वास्तविक अर्थ र प्रयोग के हो र यसका अङ्ग–उपाङ्गहरू के हुन् भन्नेबारे राम्रो ज्ञान नहुनसक्छ । कतिपयलाई त माक्र्सवाद नै माक्र्सवाद लेनिनवाद माओवाद हो भन्ने समेतमा भ्रम हुनसक्छ किनभने कैयौँ कार्यकर्ताको मालेमासम्बन्धी ज्ञान अपूर्ण, अपर्याप्त र सतही रहेको पाइन्छ । मालेमावादलाई बुझ्न त्यसका भित्री तहसम्म पुग्नुपर्ने हुन्छ ।

माक्र्ससँग मिलेर कम्युनिस्ट विचारधाराको प्रथमतः प्रतिपादन र विकास गरिसकेपछि सन् १८४७ मा एङ्गेल्सले द थ्योरी अव कम्युनिजम भनी एउटा लेख तयार पारे । उनले कम्युनिजमलाई बडो सरल भाषामा यसरी परिभाषित गरेका छन्– कम्युनिजम भनेको सर्वहारा वर्गको मुक्तिका लागि पूर्वावश्यकताको सिद्धान्त हो । यस सङ्क्षिप्त परिभाषामा एङ्गेल्सले के व्यक्त गरेका छन् भने कम्युनिस्ट विचारधाराको सार भनेको श्रमजीवी वर्गले अन्तिम मुक्ति प्राप्त गर्न आवश्यक सिद्धान्त हो र त्यस्तो स्वतन्त्रता वा मुक्ति साम्यवादी समाज स्थापित गरेपछि मात्र सम्भव हुन्छ । त्यसै कुरालाई स्टालिनले क्रान्तिलाई प्रकृतिसँग जोड्दै यसरी व्यक्त गरेका छन्–माक्र्सवाद भनेको प्रकृति र समाज विकासलाई अनुशासित गर्ने विधि हो । दमित र शोषित जनसमुदायको क्रान्तिको विज्ञान हो । सम्पूर्ण देशहरूमाथि समाजवादी विजय हासिल गर्ने र साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो । यसरी स्टालिनले अझ अघि बढेर माक्र्सवादका व्यापक क्षेत्रतिरसमेत सङ्केत गरेको प्रस्ट हुन्छ ।

प्रथमतः यो विज्ञान हो जसले समाज सम्बद्ध मात्र हैन प्रकृति सम्बद्ध प्रश्नको पनि उत्तर दिन्छ । त्यसैले माक्र्सवादलाई सर्वव्यापक विज्ञान हो भन्न सकिन्छ । दोस्रो कुरा यो क्रान्तिको विज्ञान हो । यस्तो क्रान्ति विगतमा धनी बुर्जुवाहरूले गरेको पुँजीवादी क्रान्ति जस्तो नभएर यो गरिब श्रमजीवी जनसमुदायले गर्ने क्रान्ति हो । तेस्रो कुरा यो समाजवादी र साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो । त्यसै विज्ञानलाई हामी यसको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्ल माक्र्स, भ्लादिमिर इल्यिच लेनिन र माओत्सेतुङको नामसँग जोडेर माक्र्सवाद, लेनिनवावाद र माओवाद वा मालेमावादका नामले चिन्दछौँ । यसलाई स्थापित र व्याख्या गर्नमा थप योगदान दिने अरू दुईजना महान् गुरुहरू एङ्गेल्स र स्टालिनलाई पनि हामी उनीहरूसँगै नाम लिन्छौँ । एङ्गेल्स माक्र्सलाई माक्र्सवाद प्रतिपादन गर्नमा अत्यन्त नजिकबाट सहयोग गर्ने र माक्र्सको मृत्युपछि त्यसको थप विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माक्र्सका घनिष्ट मित्र हुन् भने स्टालिन लेनिनको मृत्युपछि माक्र्सवाद र लेनिनवादको रक्षा र थप समृद्ध पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन् । माक्र्सवादको मूल पक्ष भनेको द्वन्द्वात्मक भौतिकवादी दर्शन र ऐतिहासिक भौतिकवादको खोजी हो । माक्र्सवादको राजनीतिक अर्थशास्त्रले पुँजीवादी गतिविधिको नियम र त्यसको अन्तद्र्वन्द्व तथा श्रमिकको शोषणको आधार बनेको अतिरिक्त मूल्यको सिद्धान्तलाई प्रकाशमा ल्यायो । यसरी माक्र्सवाद भनेको वर्गसङ्घर्षमा आधारित वैज्ञानिक समाजवादको सिद्धान्त र सर्वहारा वर्गको वर्गसङ्घर्षको विधिलाई निर्धारण गर्ने सिद्धान्त हो ।

लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको माक्र्सवाद हो । यो रुसी क्रान्तिको विकासका सन्दर्भमा विकसित भएको हो । त्यसबेला लेनिनले दोस्रो इन्टरनेसनलको अवसरवादका विरुद्ध लड्दै तेस्रो इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अघि बढाएका थिए । माक्र्सवादको प्रतिरक्षा र विकास गर्दा लेनिनवादले साम्राज्यवादको अधीनमा पुँजीवादका गतिविधि र त्यसले साम्राज्यवादी शक्तिलाई अनिवार्यतः युद्धसम्म कसरी धकेल्छ भन्ने नियम पत्ता लगायो । साथै बुर्जुवा जनवादी क्रान्तिकालमा सर्वहारा वर्गीय क्रान्तिका सिद्धान्त र व्यवहारको गुणात्मक विकाससँगै समाजवादी क्रान्तिको खोजी ग¥यो । यसले सर्वहारा अधिनायकत्वबारे स्पष्ट बोध, समाजवादी संरचनासम्बन्धी प्रथम नियम अनि जातीय आन्दोलन र उपनिवेशहरूमा पीडित जनताका आन्दोलनको सिद्धान्त र मार्गदर्शन गरेको छ र ती जातीय मुक्ति आन्दोलनहरूलाई विश्व समाजवादी क्रान्तिसँग जोडेको छ । अनि नयाँ प्रकारको लेनिनवादी पार्टीको साङ्गठनिक सिद्धान्त प्रतिपादन गरेको छ । लेनिनवादको रक्षा र विकास गर्दा स्टालिनले खास गरेर समाजवादी निर्माणको अवधिमा शासन व्यवस्थासम्बन्धी नियम र सिद्धान्तमा योगदान पु¥याएका छन् ।

माओवाद वर्तमान युगका सन्दर्भमा माक्र्सवाद र लेनिनवादको विकास र विस्तार हो । चिनियाँ क्रान्तिको यात्रामा, समाजवादी निर्माणका प्रक्रियामा, आधुनिक संशोधनवादका विरुद्ध लड्ने क्रममा र विशेषतः महान् सर्वहारवादी सांस्कृतिक क्रान्तिकालमा माओत्सेतुङले यसको विकास गरेका हुन् । माओवादको थप योगदान भनेको अन्तर्विरोधको सिद्धान्त, जनताबाट जनतामा भन्ने मास लाइनको ज्ञान र त्यसलाई सूत्रबद्ध गर्ने सिद्धान्तको प्रतिपादन, नौलो जनवादको सिद्धान्त, उपनिवेश र अर्धउपनिवेशहरूका लागि क्रान्तिको बाटो सूत्रबद्ध गर्ने काम र क्रान्तिका तीन जादुगरी हतियार– क्रान्तिकारी पार्टी, जनसेना र संयुक्त मोर्चालाई सूत्रबद्ध गर्ने काम पनि हो । त्यसका साथै माओवादले दीर्घकालीन जनयुद्धको सिद्धान्त र सैनिक कल्याणको सिद्धान्तको विकास गरेको छ ।

माओवादले दुई लाइनको सङ्घर्षको ज्ञानद्वारा सर्वहारा पार्टीको साङ्गठनिक सिद्धान्तको विकास, आलोचना आत्मालोचनाद्वारा पार्टीको आन्तरिक परिशोधन, सोभियत चिनियाँ अनुभवका आधारमा समाजवादी राजनीतिक अर्थशास्त्रको विकास र समाजवादमा सङ्क्रमणको प्रक्रियामा अन्तर्विरोधलाई ठीक ढङ्गले सञ्चालनका रूपमा समाजवादी निर्माण प्रक्रियामा द्वन्द्ववादी बुझाइको विकास गरेको छ । अनि अर्काे महत्वपूर्ण कुरा अन्ततः समाजवादलाई सुदृढ गर्न सर्वहारा वर्गको अधिनायकत्वमा क्रान्तिलाई निरन्तर जारी राख्ने व्यवहार र सिद्धान्तको विकास गरेको छ । साथै त्यसले आधुनिक संशोधनवाद र पुँजीवादको पुनस्र्थापनाका विरुद्ध लड्ने सिद्धान्त र व्यवहारको पनि विकास गरेको छ । त्यसको ठोस अभिव्यक्ति सर्वहारावादी महान् सांस्कृतिक क्रान्तिमा भएको देख्न सकिन्छ । यसरी माक्र्सवाद, लेनिनवाद र माओवाद पृथक् विचारधार नभएर उही एउटै विचारधाराको निरन्तर विकास र समृद्धि हो भन्ने कुरामा कुनै विवाद रहँदैन ।

अब नेपाली सन्दर्भमा मालेमावादको व्यावहारिक प्रयोग कसरी गर्ने र क्रान्ति सम्पन्न गर्नुका साथै प्रतिक्रान्तिबाट त्यसको रक्षा र समृद्धीकरण कसरी गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको गम्भीर प्रश्न बनेर हाम्रा साम्ने तेर्सिएको छ । २००७ सालमा नेकपाको निर्माण भएपछिका यी ६५ वर्षहरूमा हामीले केके ग¥यौँ र अब के गर्न बाँकी छ भन्ने यसभित्रको मूल आशय हो ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना राणाकालीन समयमा भएको थियो । नेपालमा सर्वप्रथम माओवादको आवश्यकता र औचित्यप्रति कमरेड किरणको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले जोड दियो र नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद लेनिनवाद माओवादप्रति प्रतिबद्धता जनाएको थियो । मालेमावादको नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार– देशभक्तसँगको संयुक्त मोर्चा, जनसेना र सशस्त्र सङ्घर्ष नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् । नेपालको विशिष्ट स्थितिमा अब सशस्त्र सङ्घर्षको स्वरूप के हुने र कसरी कस्तो हुने भन्ने विषयमा बहस र छलफल हुनसक्छ । २०४१ सालमै नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको प्रस्ताव पारित गरे पनि २०५२ देखि सुरु भएको महान् जनयुद्धलाई निष्कर्षमा पु¥याउने हिम्मत हराएका नेतृत्वले पछिल्लो समयमा साम्राज्यवादीहरूको इसारामा दक्षिणपन्थी संशोधनवादी नीति अँगाली नेपाली जनवादी क्रान्तिलाई पथभ्रष्ट पारेर नियोजित रूपमै समाप्त पा¥यो र जनता र क्रान्तिलाई गम्भीर रूपमा विश्वासघात ग¥यो ।

अब नेपाली जनताले पुनः एकीकृत जनक्रान्तिलाई पूरा गर्नु इतिहासका सन्दर्भमा एउटा कर्तव्य बनेको छ । त्यसो गर्न हामीले हाम्रो देशको समाज र अर्थ व्यवस्थाको अध्ययन गर्न आवश्यक हुन्छ । वैज्ञानिक समाजवादी क्रान्ति प्रथमतः उत्पादनका आर्थिक आधारहरूको भौतिक रूपान्तरण न्यायिक, राजनीतिक, कलात्मक वा दार्शनिक र सङ्क्षेपमा वैचारिक रूपमा प्रकृति विज्ञानको प्रामाणिकतासहित गर्नु आवश्यक छ । समाजवादी क्रान्ति सामाजिक क्रान्तिको उत्कृष्ट रूप हो । बुर्जुवा क्रान्तिका विपरीत यस क्रान्तिले अन्ततः मानिसद्वारा गरिने मानिसको शोषणका समस्त रूपको उन्मूलन गर्छ । त्यति मात्र हैन, यसले सामाजिक उत्पादनमा बुर्जुवा आधिपत्य, जातीय उत्पीडन, वर्गवर्गका बीच, सहर र गाउँका बीच अनि बौद्धिक र शारीरिक श्रमिकका बीचको अन्तर्विरोधको पनि अन्त्य गर्छ । लेनिनले आफ्नो रचना (सम्पूर्ण रचना खण्ड ३६ को १७१ पृष्ठ) मा यस्तो क्रान्ति सर्वप्रथम बहुसङ्ख्यक श्रमजीवी जनताको सिर्जनात्मक र स्वतन्त्र ऐतिहासिक भूमिकाद्वारा मात्र सफलतापूर्वक सम्पन्न हुनसक्ने बताएका छन् । नेपाली समाजको सटिक विश्लेषण, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, क्रान्तिका तीन जादुगरी हतियार, बलपूर्वक सत्ताको प्राप्तिको अवधारणाजस्ता कुरालाई नेकपाले छोडेको छैन ।

लेनिनले सत्ता प्राप्ति समाजवादी क्रान्तिका लागि समाजको क्रान्तिकारी रूपान्तरणको थालनी मात्र हो भनेका छन् (उही) । समाजवादी क्रान्ति मालेमाको सिद्धान्त निर्देशित नियमका आधारमा परिचालित हुन्छ । यो क्रान्ति एक विवेकशील, कठिन र जटिल विज्ञान हो (ऐ) । सत्ताधारी वर्गलाई पनि पुरानो तरिकामा परिवर्तन नल्याएसम्म टिकिराख्न कठिन हुन्छ । सत्तासीन वर्ग र उत्पीडित वर्गबीचको अन्तर्विरोधको तीव्रता र सचेत जनसमुदायमा राजनीतिक सक्रियतामा असाधारण वृद्धि हुनु आवश्यक छ । क्रान्ति होला भनेर पर्खिने होइन, क्रान्तिकारीले विद्यमान परिस्थितिलाई धक्का दिएर सिद्धान्तअनुकूल परिवर्तन गर्न लाग्नुपर्छ । आत्मपरक र वस्तुपरक अवस्था अनुकूल भएमा क्रान्ति सफल हुन्छ । उत्पादन सम्बन्धमा परिवर्तन ल्याउने काम श्रमजीवी मजदुर वर्गको हो । त्यो वर्ग उत्पादन साधनमाथिको स्वामित्वबाट कति हदसम्म वञ्चित छ भन्ने कुराले अन्तर्विरोधको निर्धारण गर्छ । के नेपालमा त्यो अवस्था छ ?

हाल हाम्रो समग्र राष्ट्रिय राजनीतिक वृत्त घोषित सिद्धान्त वा पद्धतिबाट निर्दिष्ट नभई पार्टी वा व्यक्ति स्वार्थ, लोभ, उच्चता वा हीनताबोधबाट ग्रसित छ । त्यसैले मुलुकको खास एकनिष्ठ वैदेशिक नीति बन्न सकेको छैन । घरको तीर्थ हेला भन्ने भावनाले पनि त्यो प्रभावित छ । परमुखापेक्षी प्रवृत्तिले वामपन्थीहरूको आत्मचिन्तन नराम्रोसँग प्रभावित छ । अन्तर्मुखी भएर आफ्ना अन्तर्पक्षहरू केलाउने चेतना कम्युनिस्ट नेताहरूमा समेत जागृत भएको छैन । अनि आत्मगत योग्यता, क्षमता निर्माण गर्ने र आफँैबाट समाजलाई आदर्श बाटो देखाउने प्रवृत्ति पनि नेताहरूमा छैन । त्यसैले समग्रमा राष्ट्रवादको जगेर्ना हुनसकेको छैन । वर्तमानमा राष्ट्र निर्माणमा समर्पित हुने एउटा विशिष्ट व्यक्तित्व वा पृथक् राष्ट्रिय शक्तिको निर्माण तत्काल आवश्यक भइसकेको छ । युगीन सन्दर्भमा पृथ्वीनारायण शाह, बहादुर शाह, महेन्द्र वा बीपीका राष्ट्रवाद अपर्याप्त भइसकेका छन् । मूलतः सैद्धान्तिक बेइमानी वर्तमान राजनीतिमा विकारको कारण बनेको छ । नवीन चेतनायुक्त नयाँ राजनीतिक सङ्गठनको निर्माण भएपछि मात्र विषकुम्भं पयोमुखं प्रवृत्तिको अन्त्य गर्दै र वर्तमान विसङ्गतिबाट मुक्ति पाउन सम्भव छ ।

मध्यकालको अन्त्यतिर युरोपमा पोप पादरीहरू आर्थिक नैतिक रूपले कति धेरै भ्रष्ट थिए भने एकातिर उनीहरू संसारका सबै सुख भोग गरिरहेका थिए भने अर्कातिर जनता भोकमरी, अभाव र रोगले असामान्य रूपमा पीडित थिए तथापि तिनको विरोध गर्ने हिम्मत कसैमा थिएन । उनीहरू आपसमै कतिसम्म परस्पर शङ्का थियो भने कुनै समारोहमा जानुपर्दा आफ्नै भान्से र निजी सहयोगी मात्र हैन, पानीसमेत आफैँ बोकेर जाने गर्थे । त्यही हालत नेपालको भएको छ । सञ्चारमाध्यमबाट आवाज उठेका छन् तर कतै सुनवाइ छैन बरु उल्टै तिनै सञ्चाकर्मीहरूलाई नै राज्यकोषबाट कलो बाँडेर मुख थुन्ने प्रयास भएको छ । भ्रष्टाचार र अपराध कर्ममा चुर्लुम्म डुबेका कर्मचारीतन्त्र, पुलिस र नेताबाहेक तल्लो स्तरका कार्यकर्ता र सञ्चारकर्मीहरूसमेत भ्रष्टाचारको आहालमा लडीबुडी खेल्न थालेका छन् । सतर्कताको चौथो अङ्ग पनि जनता र राष्ट्रका समस्यासँग बेखबर छ । यस्तो चौतर्फी विनाशको अवस्थामा एक मात्र विकल्प मालेमावादको जनतान्त्रिक अभ्यास एकीकृत जनक्रान्ति नै हुनसक्छ ।

संशोधनवादी, नवसंशोधनवादी, सारसङ्ग्रहवादी र विसर्जनवादीहरूले आखिर जतिसुकै आरोप लगाए पनि अहिलेको परिस्थितिमा कथित वाम एकीकरणको विकल्पमा सशक्त क्रान्तिकारी शक्तिका रूपमा नेकपाको मूलधार निर्माण भएको छ । समयले कसैसँग पनि लामो प्रतीक्षा गर्दैन । अतः हामीले देश, जनता र क्रान्तिलाई केन्द्रमा राखेर मालेमावादको थप विकाससहितको एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादको स्थापनाका लागि शीघ्र पहल थाल्नु आवश्यक छ । यसै सन्दर्भमा सबै प्रकारका विसङ्गतिबाट वाक्क भएका तर फेरि पनि नेपालमा क्रान्तिको आवश्यकता महसुस गर्ने सबै सक्रिय वा शिथिल कम्युनिस्टहरू यसैमा एकढिक्का भएर क्रान्तिमा लाग्नु आवश्यक देखिन्छ । विचार वा दर्शन व्यवहारमा रूपान्तरण भएपछि मात्र शक्तिमा परिणत हुन्छ । दर्शनलाई आचरणमा नढालेसम्म त्यसको ज्ञानको कुनै महत्त्व हुँदैन । नेपाली क्रान्तिलाई अघि बढाउने सन्दर्भमा नेता र कार्यकर्ताले मालेमावादलाई इमानदारीपूर्वक दैनिक जीवनको अभिन्न अङ्गका रूपमा अभ्यास गर्न अति आवश्यक छ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन २१ गते दिउँसो १ : ०९  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :