समाजिक दलाल पुँजीवाद : संसद्वादी सङ्कटको विकसित रूप – झपेन्द्रराज वैद्य

वाम गठबन्धन साम्राज्यवाद र विस्तारवादले डिजाइन गरेको कम्युनिस्टबिरोधी गठबन्धन हो । गरिबी, अशिक्षा र बेरोजगारीले पिल्सिएका नेपाली जनता भावनात्मक रूपमा कम्युनिस्ट पार्टीमा आस्था राख्छन् । यसैले देशीविदेशी प्रतिक्रियावादीले समाजवादको मीठो नारा दिएर आसन्न सङ्कट टार्न जनतालाई दिग्भ्रमित पारेका छन् । संसारमै असफल संसद्वादलाई ढाकछोप गर्न समाजवादको कार्ड फालेका छन् संसद्वादीहरूले । देखाइएको छ विकास र समृद्धि । शोषक, फटाहा र पार्टीकै सिता खानेहरू त आफ्नै स्वार्थमा लागेर कम्युनिस्टको नारा दिएका छन् भने साधारण जनता कम्युनिस्टको भ्रममा परेका छन् । यसैले ६५ प्रतिशत भोट ल्याएर जितेको बताइन्छ । चुनाव जित्ने आधार एउटा त भ्रम नै हो तर सबभन्दा ठूलो आधार भनेको जनतामा डर, त्रास र बल प्रयोगको तानाशाही नृत्य देखाउनु हो । नेकपाको आस्था बोकेर केही नगरेका, घरैमा सुतिरहेका निर्दोष जनतालाई थुनछेक गर्नु कायरताको पराकाष्ठा हो । बहिष्कार त हुन्छ । यो संविधान प्रदत्त अधिकार हो तर सरकार निकै आतङ्कित बन्यो । सुरक्षामा आजसम्मकै ठूलो धनराशि खर्च भयो । प्रतिपक्षले पनि सरकारलाई मात्र सचेत गराएन, अन्तर्राष्ट्रिय तहमा पनि हारगुहार माग्यो । तानाशाही सरकारमा यो हुने गर्छ । कुनै अनौठो कुरा भएन ।

समाजवाद अहिले जनतामा भ्रम उत्पन्न गर्ने माध्यम बनेको छ । मान्छे गरिब भए पनि उसले धनबहादुर नाम राखेको हुन्छ । नाम मात्रले खास केही फरक पर्दैन । भन्नलाई जे भने पनि हुन्छ । काम, व्यवहार र गुणमा फरक पर्छ । समाजवाद भनेको वास्तवमा योग्यताअनुसार काम र कामअनुसार माम हो भने साम्यवाद योग्यतानुसार काम र आवश्यकतानुसार माम हो । समाजवादमा सबैलाई रोजगारी, शिक्षा, स्वास्थ्य, जनतन्त्र र जनजीविकाको ग्यारेन्टी हुन्छ । राष्ट्रियता सुदृढ र दरिलो हुन्छ । एकपटक समाजवाद आइसकेका देशहरू संशोधनवादको बाटो समाती पुँजीवादमा विलय भए । क्युबा र जनगणतन्त्र कोरिया भने समाजवादकै बाटोमा हिँड्ने कोसिस गरिरहेका छन् । अझै सबल छैनन् । हुनत फ्रान्स, जर्मन, अमेरिकालगायत देशहरूमा पनि क्रान्तिकारी पार्टी नभएका होइनन् तर ती ठाउँहरूमा कम्युनिस्टको सरकार छैन । भारतीय जनता पनि दह्रो तरिकाले समाजवादको अपेक्षा राखेर लडिरहेका छन् ।

नेपाल अहिले दलाल पुँजीवादको पकडमा छ । भारतीय साम्राज्यवादले नेपाललाई दर्जनौँ ठाउँबाट हस्तक्षेप गरिरहेको छ । हालै वीरगन्जमा ५० बिघा जमिन भारतले कब्जा गरिरहेको छ । नेपालको हजारौँ हेक्टर जमिन भारतले हस्तक्षेप गरिराखेको छ । उपल्लो कर्णाली, अरुण तेस्रो आदि योजनाहरू नेपालको हितविपरीत भारतले लिएको छ । सप्तकोसीमा उच्च बाँध बनाउने तरखरमा छ भारत । यसले वर्षामा सम्पूर्ण तराई नै डुबाइदिन्छ । उच्च बाँध नबन्दै त गत वर्ष तराईमा कैयौँ धनजनको क्षति भयो । सयौँ मानिसहरू घरबारविहीन भए । अझ उच्च बाँध बनाएमा केकस्तो अवस्था आउला ? सहजै अनुमान गर्न सकिन्छ । कैयौँ जङ्गे पिलरहरू नेपालतर्फ सारिएका छन् । यस किसिमको हस्तक्षेप हुनु दलालीकरणमार्फत नेपालमाथि नियन्त्रण राख्नुभन्दा अरू केही होइन । चीनलाई दिइसकेको बूढीगण्डकी आयोजना पनि भारतको दबाबमा फिर्ता गरेर नेपाल सरकारले आफैँ बनाउने भनेको छ । विस्तारवाद–साम्राज्यवाद सोझै आउँदैनन् । दलाल नेताहरूले नै आफ्नो स्वार्थ सिद्ध गर्न बोलाउँछन् । राजनीतिको रिमोट भारतकै हातमा रहँदै आएको छ । भारतले नै नेताहरूलाई कुर्सीमा बसालिदिनुपर्छ । चीन नेपालमा नपसोस् भन्ने भारतको चाहना छ । अहिले बिनामौसमको बाजा बजेको छ । सरकार बन्नुपहिले नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज विदेशसचिवका साथमा आएर सरकारलाई उछिनेर सोल्टी होटेलमा गई हुनेवाला प्रधानमन्त्री के.पी. वलीसमक्ष भेट गरिन् । १ घन्टासम्म गरिएको भेटवार्ता गोप्य राखिएको छ । यो कुरा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथलाई समेत पचेको छैन । वान टु वान वार्ता के हो अझै कसैलाई थाहा छैन । जे होस् नक्कली राष्ट्रवादको नारा उदाङ्गो भैसकेको छ । १९५० को असमान सन्धिको समाधान गर्ने कुरा त टाढै छ । हालै भएको हस्तक्षेपका बारेमा समेत सरकार पनि चुप छ प्रतिपक्ष पनि चुप छ । दलाल पुँजीवाद यस्तै हुन्छ । विदेशी हस्तक्षेपविरुद्धको पर्चापम्पलेट सरकारले टिपेर फालिदिन्छ । पर्चा टाँस्नेलाई गिरफ्तार गरेर सरकारले राष्ट्रविरोधी भावना देखाएको छ । विदेशी हस्तक्षेपलाई सेवा गरेको छ ।

आज राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविका बडो पेचिलो बन्दै गएको अवस्था छ । महँगी भ्रष्टाचार, कमिसन, तस्करी बढेर देश लथालिङ्ग अवस्थामा छ । जुन मन्त्रीहरू छन् प्रायः उनीहरू नै भ्रष्टाचारी छन् भने । कसले भ्रष्टाचार नियन्त्रण गर्ने ? प्रश्न गम्भीर छ । सरकारमा गएर कसरी तर मार्ने ? औषधीका नाममा होस् वा विकासका नाममा कसरी देशको राजस्व लुट्ने ? यही ध्यानमा छन् संसदीय पार्टीहरू । केपी वलीको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको छ । स्वास्थ्य जाँच गर्ने नाममा बैङ्ककमा भारतीय रअको एजेन्टलाई भेटेर आएको कुरा मिडियामा प्रशस्त पाइन्छ । कम्युनिस्टको नाम भँजाएर आएको भोटले नपुगेर सत्ताका लागि भारतसँग हारगुहार गर्नुले केपी वली पनि लम्पसारवादमा फसेको बुझिन्छ । बाम गठबन्धनको नयाँ नारा नेपालमा कम्युनिस्टलाई समाप्त पार्ने नयाँ योजना हो । एउटा हरियो घाँसको हरियो सर्प हो यो । खास अर्थमा यो वाम नै होइन । कम्युनिस्टका न्यूनतम आधारभूत मूल्य र मान्यता छैन यसमा । कम्युनिस्ट नाम दिने तर वर्ग समन्वय अपनाउने । बाख्रो र बाघ एउटै खोरमा राख्दा बाख्रो कुन दुनियाँमा रहनसक्छ ? बाख्रो बाँच्छ कि बाँच्दैन ? यो कुराको हेक्का राख्नुपर्छ । अर्को कुराः कम्युनिस्टको सिद्धान्त, कम्युनिस्ट नीति र कम्युनिस्ट विचार हुन्छ । तर यस गठबन्धनमा कम्युनिस्ट सिध्याउने प्रपञ्च छ । शान्तिपूर्ण तरिकाले बलप्रयोग नगरीकन यो दुनियाँमा कहीँ पनि कम्युनिस्टको सत्ता आएको इतिहास छैन । ला भनेर कुनै पनि सत्ताले आफ्नो सत्ता सुम्पँदैन । कम्युनिस्ट भनेको साम्राज्यवाद, विस्तारवादविरोधी हुन्छ । तर यहाँका कम्युनिस्ट शासकहरूको सत्ताका लागि दिल्लीमा दौडधूप हुन्छ । सामाजिक पुँजीवादी आत्मसमर्पणवाद एउटा सिक्का हो । वाम गठबन्धन र प्रजातान्त्रिक शक्ति दुईवटा पाटा हुन् । उनीहरूको वर्गीय चरित्र एउटै हो । तर अहिलेका लागि वाम हरियो सर्प बनेर जनतालाई छक्याइराखेको छ । एमाले र माओवादी केन्द्र कम्युनिट नै होइनन् ।

प्रचण्डको नेतृत्वमा १५।१६ हजार जनता मारिए । हजारौँ बेपत्ता भए भने हजारौँ घायल भए । खै तिनीहरूको हिसाबकिताब ? रगतले साटेर ल्याएको हतियार खै ? तिनीहरूको सपना खै ? के भनेर प्रचण्डले जनयुद्धमा नेतृत्व गरे ? कुन आधारमा छोडे ? विजय सुनिश्चित हुँदाहुँदै बीच बाटोमा ल्याएर प्रचण्डले कार्यकर्तालाई कुकुरले हाड छोडेजस्तै छोड । नेताहरूले भने आलिसान महल बनाउने तर कार्यकर्ताहरूको बस्ने बास छैन । खाने गाँस छैन । बिचल्लीमा छन् उनीहरू । केही नलागेर हजारौँ विदेश पलायन भएका छन् । अरबको खाडीमा पसिना बगाइरहेका छन् । यसरी समृद्धि हुन्छ ? समृद्धि हुन्छ भने नेताहरूको समृद्धि हुन्छ । नयाँनयाँ तरङ्ग, नयाँ लय र नयाँ रङरोगन हुन्छ । संसदीय व्यवस्था असफल भएको देखेर अस्थायी भ्रम नेपाली जनतामा छर्न दलाल नेताहरूले समाजवादको नारा दिएका छन् । वास्तवमा लम्पसारवादी समाजवादी पुँजीवाद भन्नु प्रजातन्त्र र बाम गठबन्धनको एउटै सिक्का हो । उनीहरूको स्वार्थ एउटै छ । लोकमानलाई ल्याउनु र फाल्नु उनीहरूको एउटै स्वार्थ हो— लुटको धन पचाउनु । जबजब पोल खुल्ने डर हुन्छ त्यसबेला महाभियोग लगाएर लोकमानसिंह कार्कीलाई फाल्नु उनीहरूको साझा उद्देश्य थियो । केही कुरा सकारात्मक भए पनि यथास्थितिवादीको साझा अवधारणाअनुसार संविधानको निर्माण भयो । धनको खोलो बग्ने निर्वाचनमा गरिब जनता उठ्नसक्ने अवस्था थिएन । समानुपातिक समावेशीमा पनि धनीमानी वर्ग नै हुन्छन् । राष्ट्रिय सभामा पनि परिवारवादकै बोलवाला छ । जनता उकसमुकुस छन् । हुनेखानेलाई मात्र छ लोकतन्त्र । विचारमा होइन, चाप्लुसी, पदप्रतिष्ठा र धन आर्जनमा चलेका छन् पार्टी । अब एउटै विचार, आस्था र एउटै रणनीति भएका पार्टीहरू ध्रुवीकृत हुनुको कुनै विकल्प छैन । सबभन्दा ठूलो क्रान्ति हो, परिवर्तन हो । समाज रूपान्तरण हो । उत्पीडित जनताको मुक्तिको सवाल हो । सच्चा वामपन्थी, साम्राज्यवाद र विस्तारवादविरोधी देशभक्त शक्तिहरूको एउटै कार्यगत एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका पक्षमा प्रतिक्रियावादविरुद्ध लड्नुको कुनै विकल्प छैन । अहिले ने.क.पा. र क्रान्तिकारी माओवादीबीच ध्रुवीकरण र कार्यगत एकताको सवालमा सहकार्य भैरहेको अवस्था छ । यसमा देशका सचेत युवा, देशभक्त, परिवर्तनकामी बुद्धिजीवी र पत्रकारहरू तथा आधा आकाश ढाक्ने महिला, जातजाति, दलित, उपेक्षित र अल्पसङ्ख्यक वर्गहरू सबै एकढिक्का भएमा अवश्य नै नेपाली क्रान्तिले विजय पाउनेछ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन २० गते दिउँसो २ : ३६ मा प्रकशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :