स्थानीय तह बन्यो जनप्रतिनिधिको कमाई खाने भाँडो 

अनिल नेपाली /अर्घाखाँची :

चुनावको बेला सिंहदरबारको  अघिकार गाउँगाउँमा भन्ने गुलीया नाराले मतदाता रिझाएता पनि  आज भोली स्थानीय तह जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरूको व्यवसाय  नै बनेको छ । जिल्लाको सितगंगा नगरपालिकाका उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित टीका रेश्मी मगरले आफूले डोजर भाडामा लिई नगरपालिकाभित्रको सडक निर्माणमा लगाएका छन् । सितगंगा नगरपालिका १० का वडा अध्यक्ष हिम्मत पौडेल, ५ का कमल पौडेल, १२ का बाबुराम गैरेले आफैं डोजर किनेर नगरपालिकालाई भाडामा लगाएका छन् । यस्तै वडा नम्बर ३ का अध्यक्ष हेमनाथ भुसालले डोजर भाडामा लिएर चलाइरहेका छन् । अर्घाखाँचीकै छत्रदेव गाउँपालिका १ का वडा अध्यक्ष प्रकाश पन्थी, २ का वडा अध्यक्ष राजेश पन्थी र ३ का वडा अध्यक्ष कमल पौडेलले डोजर किनेर गाउँपालिकाबाट सडक निर्माणको जिम्मा लिएका छन् । जिल्लाकै सन्धिखर्क नगरपालिका १ का वडा अध्यक्ष युवराज बञ्जाडेले प्रतीक्षा निर्माण सेवाका नामबाट नगरपालिकाको कृषि भवन निर्माणको ठेक्का लिएका छन् । वडा ८ का अध्यक्ष ईश्वरी भुसालडोजर भाडामा लिएर आफैं सञ्चालन गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट भूमिकास्थान नगरपालिकाको मेयर बनेका रेशम थापाले भाइ प्रेम थापालाई अगाडि सारेका छन् । वडा ९ का अध्यक्ष नारायण खनालले पनि युवराज श्रेष्ठ र मणि पौडेलसँगको साझेरीमा डोजर सञ्चालन गरेका छन् भने वडा १० का अध्यक्ष खगेश्वर पन्थीले पनि डोजर भाडामा लिएका छन् ।

विकास बजेटको ठूलो रकम सडक निर्माणमा विनियोजन गर्ने र त्यसपछि काम आफैंले गरेर रकम कुम्ल्याउने ध्याउन्नमा जनप्रतिनिधि नै लागेका छन् । सितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७४र७५ का लागि रु६३ करोड १५ लाख ९४ हजार बजेट छुट्याएको छ । त्यसमध्ये रु१४ करोड २५ लाख प्रशासनिक खर्च हो भने बाँकी विकास खर्च । नगरपालिकाले आन्तरिकतर्फ रु२ करोड ४६ लाख उठाउने लक्ष्य राखेको छ, बाँकी ६१ करोड सरकारी अनुदान हुनेछ । अनुदानतर्फको बजेटबाट नगरस्तरीय ठूला सडक आयोजनाका नाममा रु ५ करोड र साना सडक निर्माणका लागि रु४ करोड छुट्याइएको छ । त्यस्तै आन्तरिकतर्फको रु २ करोड ४६ लाखमध्ये रु ५१ लाख ७६ हजार पनि सडक निर्माणमा छुट्याइएको छ । नगरपालिकाले सडक निर्माणमा छुट्याएको बजेट मात्र करीब रु १० करोड छ ।२०७४ फागुन ९ गते मंगलबार बेलुका १० : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :