पत्रकार संगठनद्वारा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सम्मेलनलाई जनपक्षीय पत्रकारिताको विकासका लागि बहसमूलक बनाउने निर्णय गरेको अध्यक्ष प्रभात चलाउनेले बताएका छन् । उनले श्रमजीवी पत्रकारहरुको हित प्रवद्र्धन गर्ने विभिन्न मुद्दाहरुका साथै प्रेस, अभिव्यक्ति र विचार स्वतन्त्रताको पक्षमा ठूलो बहस अन्तरक्रियात्मक कार्यक्रम गर्दै सम्मेलन गर्ने जानकारी दिएका छन् । त्यसका लागि संगठनले राजधानीसहित देशका विभिन्न भागमा उच्च स्तरका अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । हाल कान्तिपुर दैनिकमा आन्दोलन गरिरहेको संगठनले ठूला मिडिया हाउसमा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण रुपमा कार्यान्वयन गराउन दवाव दिने र ऐन कार्यान्वयन गर्न नमान्नेमाथि कारबाही गराउन पनि संघर्ष गर्ने संगठनले जनाएको छ । मिडियामा पनि केही भ्रष्ट, दलाल र जासुसी प्रवृति रहेको बताउँदै तिनका विरुद्ध पनि संगठनले अध्ययन गरी तिनको भण्डाफोर गर्ने निर्णय पनि गरेको अध्यक्ष चलाउने बताएका छन् ।

२०७४ माघ २७ गते बेलुका ९ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :