कुशल वैचारिक नेतृत्वको सङ्कट

मुलुक नवऔपनिवेशिक, अर्थराजनीतिक र दलाल संसदीय पुँजीवादी अवस्थामा छ । समन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाह पुँजीवाद नेपाली जनताको अग्रगतिका बाधक बनेका छन् । अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनबाट नेपाली जनता अहिले पनि आक्रान्त बनिरहेका छन् । सयौँ वर्षदेखि नेपाली जनता प्रतिक्रियावादी शासन र शासकका सिकार बनिरहेका छन् । नेपालको इतिहासमा कैयौँ युवकयुवतीले राष्ट्र र जनताका पक्षमा उभिँदा बलिदान गर्नुपरेको छ । समाज विकासको क्रमसँगै राज्यसत्ता परिवर्तनका घटना १०४ वर्षसम्म निरन्तर शासन गर्ने राणाहरू जसले राष्ट्रको अस्मितालाई समेत गुमाएका थिए । एकछत्र रूपमा पारिवारिक रूपले शासन गर्ने प्रतिक्रियावादी राणा शासनविरुद्धको लडाइँ नेपालको इतिहासको पहिलो ऐतिहासिक घटना हुन गएको छ ।

सर्वहारा श्रमजीवी जनताको मुक्तिका लागि दीर्घकालीन वर्गीय युद्धको सुरुआत विधिवत् रूपले पहिलो भएको छ । सर्वहारा श्रमजीवी गरिब जनताको मुक्तिका लागि राजनीतिक रूपले नेतृत्व गर्ने कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै नेपालको राजनीतिले नयाँ मोड लिन पुग्यो र १०४ वर्षसम्मको कठोर जहानिया राणा शासनको अन्त्य भयो ।

अझै पनि विभिन्न समस्यामा पिल्सिएको नेपाली समाजले छिट्टै नै धेरै कुराहरूमा गुणात्मक फड्को मार्न सक्छ भन्ने कुरामा त्यति विश्वास गर्न सकिँदैन । अहिले पनि हाम्रो समाजमा श्रम गरी खाने र श्रम नगरी खानेहरूबीच युद्ध चलिरहेको छ । यो युद्ध कहिले तिखो भएर आउने गर्छ भने कहिले सुषुप्त अवस्थाबाट आउने गरेको छ ।

समाज रूपान्तरणका लागि तत्कालीन सामाजिक संरचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थतिको ठोस विश्लेषण गर्दै कम्युनिस्ट पार्टीको सही विचारका आधारमा अगाडि बढ्नु पर्दछ । कुशल वैचारिक नेतृत्वका आधरामा नै समाजलाई परिष्कृत र समृद्ध बनाउन सकिन्छ । सही कार्यदिशा, सिद्धान्त, विचार, कार्यनीति र कार्यक्रमहरूका आधारमा मात्र क्रान्ति गर्न सकिन्छ । त्यसका लागि सही मालेमावादी दृष्टिकोणसहितको र बदलिँदो समाजको अंतर्विरोध पत्ता लागाउनसक्ने नेतृत्व आवश्यक छ । तर सिद्धान्त र विचारकै आधारमा मात्र अर्थात् कोरा सिद्धान्तका आधारमा मात्र समाज बदल्न सकिँदैन । त्यसका लागि व्यवहारमा नमुनाका रूपमा सिद्धान्तलाई ढाल्न सक्नु पर्दछ ।

अहिले हाम्रो मुलुकमा दलाल संसदीय पुँजीवादी व्यवस्थामा थुप्रै राजनीतिक पार्टीहरू खुलेका छन् र आआफ्ना सैद्धान्तिक मान्यताहरू सार्वजनिक गरेका छन् । विभिन्न स्वभाव, प्रकृति एवम् प्रवृत्तिका आधारमा आफ्नो नजिक वा मन पर्ने व्यक्तिको प्रभावका आधारमा कतिपय मानिस विभिन्न पार्टीमा सामेल भएका छन् तर आन्तरिक रूपमा यस व्यवस्थालाई विश्लेषण गर्दा स्थिति भिन्न के कारणले छ भने व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, आत्मकेन्द्रित निर्णय गर्ने महत्वाकाङ्क्षी चिन्तन, निजी सम्पत्तिको व्यापक मोह, विभिन्नखाले सुख, सुविधा, ऐसआराम आदि गलत चिन्तनले व्यापक क्षेत्र ओगटेको छ । सिद्धान्त, विचार र कार्यक्रमलाई मागी खाने भाँडोका रूपमा लिइएको छ र यसबाट आमजनसमुदायमा व्यापक मात्रामा असन्तोष र निराशा पलाएको छ । अहिले विभिन्न आपराधिक मनस्थिति बोकेका व्यक्तिहरूले हरेक क्षेत्रमा आफ्नो हालीमुहाली चलाएका छन । मुलुक आर्थिक रूपले चौपट बनिरहेको छ । भ्रष्टाचार, घूसखोरी, तस्करी, कमिसनखोरी एवम् माफियाबाट मुलुकको आर्थिक अवस्था आक्रान्त बनेको छ । राष्ट्रिय अर्थतन्त्र सञ्चालन गर्ने सञ्चालक उनीहरू नै बनेका छन् । हरेक सरकारी एवम् गैरसरकारी संस्थाहरूमा ठूलो आर्थिक घोटाला भएका छन् । राष्ट्रिय ढुकुटीलाई आफ्नो पेवा, सम्पत्तिका रूमा उनीहरूले दुरुपयोग गरिरहेका छन् । दैनिक रूपमा माफिया र तस्करहरूले लाखौँ, करोडौँ रुपैयाँ कालो धन्दाका आधारमा कमाइरहेका छन् । राष्ट्रको करिब ९० प्रतिशत रकम तस्कर र माफियाहरूको कब्जामा छ जसको नेतृत्व करिब १० प्रतिशत तस्कर र माफियाले गरिरहेका छन् । राष्ट्रिय सम्पत्ति अहिले केन्द्रीकृत बन्दै बिदेसिने क्रम जारी छ । यसरी नै मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको खण्डमा मुलुकलाई आर्थिक रूपले टाटपल्टेको घोषणा गर्नुपर्ने अवस्था उत्पन्न हुनेछ । देशभित्र भएका ठूलाठूला सरकारी संस्थानहरू, उद्योग–कलकारखानाहरू निजीकरण भइसकेको छ । २०८०/०८१ को नेपालको आर्थिक बजेटबाट नेपालको आर्थिक अवस्था स्पष्ट भएको छ ।

यसरी राष्ट्रको आर्थिक अवस्था सबैतिरबाट कमजोर हुँदै आएको छ । हाम्रो देश विश्वको गरिब राष्ट्रका रूपमा परिचित भइरहेको छ । नेपालको वर्तमान राष्ट्रिय राजनीतिसमेत यस्तैखाले गलत प्रवृत्तिबाट हिँडिरहेको छ । यस विषम परिवेशमा आमजनसमुदायलाई मुलुकको यथार्थ अवस्थाका बारेमा सुसूचित गराउनु हरेक सचेत नागरिकको कर्तव्य ठहर्छ । तर व्यक्तिगत तवरले आमजनसमुदायलाई सचेत र सङ्गठित गर्न असम्भव हुन्छ । त्यसका लागि पनि सही वैचारिक नेतृत्वसहितको राजनीतिक पार्टीको आवश्यकता हुन्छ । हाम्रो मुलुकका सन्दर्भमा नेपाली सर्वहारा श्रमजीवी गरिब असहाय जनताको मुक्तिका लागि आन्दोलनको नेतृत्व गरिरहेको राजनीतिक पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै हो ।

विश्वको नयाँ परिवेशमा मालेमावादको नवीन विचारलाई कुशलताका साथ सञ्चालन गर्न सकेको खण्डमा नेपालको कम्युनिस्ट आन्दोलन मात्र हैन, विश्व कम्युनिस्ट आन्दोलनले पनि गुणात्मक फड्को मार्न सक्छ । यसले क्रान्तिकारी आन्दोलनलाई अग्रगति दिन सक्छ तर कम्युनिस्ट आन्दोलनमा आउने विभिन्नखाले भड्काव, जडसूत्रवादी चिन्तन एवम् दक्षिणपन्थी अवसरवादका कारण नेपालको कम्युनिस्ट आन्दोलनले पटकपटक धक्का खाँदै आएको छ । कम्युनिस्ट आन्दोलनभित्र उत्पन्न हुने सबैखाले भड्कावलाई समाप्त पार्नका लागि चाहिने मुख्य अस्त्र भनेको वैचारिक आन्दोलन नै हो । कुशल वैचारिक नेतृत्वको अभावमा कम्युनिस्ट आन्दोलनले गुणात्मक फड्को मार्न सक्दैन । सङ्ख्यात्मक रूपले फड्को मार्नु कुनै विजय होइन जुन छिटै समाप्त भएर जान्छ ।

अहिले नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यवस्थित एवम् क्रान्तिकारी मार्गतिर अग्रसर तुल्याउने सन्दर्भमा विभिन्न खालका प्रश्नहरू उठेका छन् । खासगरी सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सबैभन्दा परिष्कृत र व्यवस्थित आन्दोलनकारी शक्तिका रूपमा पार्टीको नेतृत्वदायी अङ्गमा रहेको ब्यक्तिले कुशल सैद्धान्तिक मान्यतालाई कडाइका साथ पकड्ने काम गरेको खण्डमा आमजनसमुदायहरू क्रान्तिकारी पार्टीको झन्डामुनि गोलबन्द हुनेछन् तर हाम्रो समाजको सामन्तवादी शैली एवम् निम्नपूँजीवादी चिन्तनका कारण कैयौँ अवसरवादी एवम् अराजकतावादी व्यक्तिहरूले पार्टीका शीर्षस्थ नेतृत्वदायी अङ्गलाई अनावश्यक अप्ठ्यारोमा पार्न सक्छन् भन्ने कुरालाई गम्भीर रूपले ध्यान दिन जरुरी छ । कुनै पनि नेतृत्वदायी अङ्गका प्रश्नका लागि वा सोही अङ्गमा रहिरहनका लागि अनेकखाले चलखेलहरू पार्टीका विभिन्न निकायमा हुन सक्छन् जसले सिङ्गो पार्टीपङ्क्तिलाई प्रभावित पार्न सक्छ । यस्तो अवस्थामा नेतृत्वदायी अङ्गमा रहेको शक्तिले कुशलताका साथ मालेमावादी दृष्टिकोण र वैचारिक आन्दोलनको माध्यमले व्यवस्थित ढङ्गले अगाडि बढाउन सक्नुपर्छ । पार्टीभित्र विभिन्न समयमा विभिन्न विषयहरूमा छलफल, बहस एवम् वादविवाद हुन सक्छ । कुनै पनि तहको नेतृत्वदायी अङ्गले माथिल्लो निकायदेखि तल्लो निकायसम्म विवाद बढ्न सक्छ । त्यस्तो अवस्थामा पार्टीको नेतृत्वदायी अङ्गले होसियारीपूर्वक कुशलताका साथ विवादलाई सामना गर्नुपर्दछ । विवादलाई सामना गर्ने नाममा कुनै पनि तहको नेतृत्वदायी अङ्ग असहिष्णु एवम् असन्तुलित बन्नु हुँदैन । कहिलेकहीँ पार्टीको अन्य कुनै निकायमा मातहत समितिका कार्यक्रमहरूको वैचारिक सैद्धान्तिक ज्ञानको अभाव माथिल्लो समितिमा रहेका नेतृत्वभन्दा स्वाभाविक रूपमा कमजोर नै हुन्छ तर सबै विषयमा जतिखेर पनि मातहत समितिमा रहने कार्यकर्ताले माथिल्लो नेतृत्वको भन्दा केही नयाँ कुरा गर्न सक्दैनन् वा खोज्न सक्तैनन् भन्ने हुँदैन ।

कुनै पनि नेतृत्वदायी अङ्गमा बस्ने हरेक व्यक्तिले सम्पूर्ण विषयमा उत्तिकै ज्ञान हासिल गरेको हुन्छ भन्न सकिँदैन । त्यसकारण पनि पार्टीको कुनै पनि नेतृत्वदायी अङ्गमा रहने शक्तिले आम जनसमुदायका बीचमा ज्ञान सन्दर्भमा जनताको बीचबाट विभिन्न नयाँनयाँ सुझाव ग्रहण गर्दै त्यसका आधारमा पार्टीलाई विकसित गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :