पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाइयो जनआन्दोलन दिवस

पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाइयो जनआन्दोलन दिवस

भँगेरी (रामेछाप): नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले ३४ औँ जनआन्दोलन दिवस पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाएका छन् । नेकपा (बहुमत) रामेछाप र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापले शुक्रबार रामेछापको भँगेरीमा रहेको पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा जनआन्दोलन दिवस मनाएका हुन् ।
नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदीले निरङ्कुश राजतन्त्रका विरुद्ध क्रान्तिकारी पार्टीको अगुवाइमा जनताले त्याग, शौर्य र बलिदान गरेको दिन भएकाले जनताको राज्य व्यवस्था स्थापना नहोउन्जेलसम्म चैत २४ को महत्व नघट्ने बताए । नेपालका दुई क्रान्तिकारी पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताको निर्णय भएकाले जनयुद्धलगायत अधुरा क्रान्ति र युद्धको कार्यभार नयाँ क्रान्तिकारी पार्टीले पूरा गर्ने बताए । उनले पुष्पलाल–गङ्गालालका योगदानहरूको चर्चा गर्दै रामेछाप एक सय साठीभन्दा बढी सहिदको बलिदानले गौरवशाली इतिहास र सुन्दर भविष्य बोकेको जिल्ला रहेको पनि चर्चा गरे ।
नेकपा (क्रान्तिकारी) माओवादी रामेछापका इन्चार्ज गगनले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले दुईवटा क्रान्तिकारी पार्टीबीच एकता भएको बताए । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज गगनले देश र जनतामाथि निरन्तर हमला भइरहेकाले साम्राज्यवादी अतिक्रमण अन्त्य गरेर श्रमजीवी जनताको मुक्तिका लागि क्रान्तिकारी ध्रुवीकरण अपरिहार्य रहेको बताए ।
नेकपा (बहुमत) केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारीले पुष्पलाल–गङ्गालालले नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूलो त्याग, शौर्य र बलिदानको इतिहास निर्माण गरेकाले क्रान्तिकारी पार्टीहरूबीचको एकताले त्यो गौरवशाली इतिहास कायम राख्दै आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउने विश्वास व्यक्त गरे ।
नेकपा (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य एवम् पार्टीकी जिल्ला सदस्य सीता गौतमले क्रान्तिकारी पार्टीहरूबीचको एकताले उत्पीडित वर्गलाई मुक्ति अभियानमा लामबद्ध हुन एउटा शक्तिशाली सन्देश दिएको बताइन् । उनले अब क्रान्ति अघि बढाउन विलम्ब गर्नु नहुने पनि बताइन् ।
कार्यक्रममा नेकपा (बहुमत) का रामेछाप जिल्ला संयोजक उजिर, नेकपा (क्रान्तिकारी माओवादी) रामेछापका सेक्रेटरी लाङ्घालीलगायत तीसभन्दा बढी पार्टी नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक सहभागी थिए ।
महान् सहिदहरूप्रति श्रद्धाञ्जली र सालिकमा माल्यार्पणपछि आरम्भ गरिएको कार्यक्रममा सहभागीहरूले पुष्पलाल–गङ्गालाल जन्मस्थल र क्रान्तिकारी विचारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।
यसअघि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरीमा १५ वर्षदेखि जनआन्दोलन दिवस मनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :