गर्भवती महिलालाईसमेत कुटपिट गर्ने जीवन विकास लघुवित्त वित्तीय संस्थामा नेकपा (बहुमत) को तालाबन्दी

गर्भवती महिलालाईसमेत कुटपिट गर्ने जीवन विकास लघुवित्त वित्तीय संस्थामा नेकपा (बहुमत) को तालाबन्दी

मोरङ : नेकपा (बहुमत) ले मोरङको धनपालथान गाउँपालिका वडा नं. ४, कर्सियास्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा ताला लगाएको छ ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यक्रमअन्तर्गत कर्सियामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको मोरङका संयोजक सिर्जन शर्माले बताए । लघुवित्त तथा सहकारीहरूले सर्वसाधारण जनतालाई गरेको आर्थिक शोषणविरुद्धको साङ्केतिक सङ्घर्ष आमजनगुनासोका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको पार्टीले जनाएको छ ।
उक्त लघुवित्तका कर्मचारीले ऋणी गर्भवती महिलालाई समेत कुटपिट गरेको, ऋणीलाई दुव्र्यवहार गरेको, धाकधम्की दिएको, बचतकर्ताको रकम फिर्ता नगरेको, लेनदेन व्यवस्थामा पारदर्शी नभएको, चक्रवर्ती ब्याज लगाउँदै जनताको ढाड सेकेको, ऋणीलाई घरघरमा गएर गालीबेइज्जती गरेको, ऋणीलाई विस्थापित हुन बाध्य पारेकाले तालाबन्दी गरिएको पार्टीले जनाएको छ ।
कर्सियास्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका सबै कर्मचारीलाई तालाबन्दी गर्नुको कारण जानकारी गराई कार्यालयबाहिर निकालेर ताला लगाइएको थियो ।
नेकपा (बहुमत) को जनसङ्घर्ष परिचालन समितिद्वारा प्रेषित अपिल उक्त संस्थाका कर्मचारीका साथै सेवाग्राही, वरपरका बासिन्दा र नजिकै लागेको हाटबजारमा पनि वितरण गरिएको छ । उक्त अपिलमा गरी जनतालाई योजनाबद्ध ढङ्गले शोषण र उत्पीडनमा पार्ने दलाल–माफियाहरूद्वारा सञ्चालित सम्पूर्ण लघुवित्त तथा सहकारी संस्था खारेजी अभियानलाई सफल पार्न सम्पूर्ण जनसमुदायलाई सङ्घर्षमा उत्रिन अपिल गरिएको नेकपा (बहुमत) का जिल्ला संयोजक सिर्जनले बताएका छन् । उनले मोरङमा त्यस्ता सहकारी तथा लघुवित्तलाई कडा कारबाही गर्ने घोषणासमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :