वर्तमान शिक्षाको चरित्र

वर्तमान शिक्षाको चरित्र

नेपालको दलाल पुँजीवादी राजनीतिक सत्ताद्वारा निर्देशित, नियन्त्रित र सञ्चालित शिक्षाप्रणाली नवऔपनिवेशिक कारणसहित दलाल एवम् निगम पुँजीवादी नयाँ आर्थिक विशेषतामा टेकेको छ ।
कुनै पनि मुलुकको शिक्षाप्रणाली राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाअनुरूप हुन्छ । शिक्षाले युगीन राजनीतिक, आर्थिक र सामाजिक संरचनाअनुसार राज्य र समाजको साधनको काम गर्दछ । वर्तमान नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्था दलाल पुँजीवादी तथा नवऔपनिवेशिक रहेको छ । शिक्षा पनि दलाल पुँजीवादी सत्ताको निर्देशन, नियन्त्रण र नेतृत्वमा सञ्चालित छ । वर्तमान शिक्षाप्रणाली दलाल पुँजीवादी नै हो । त्यसले आमजनताको हित एवम् स्वार्थमा होइन, सामाजिक दलाल पुँजीवादीहरूको राजनीतिक सत्ताको आधारशिला निर्माण गर्ने, सेवा गर्ने र स्वार्थसिद्धबाहेक अरू केही गर्न सम्भव छैन । एक मुलुक दुई शिक्षाको नीति हाल आएर कथित सङ्घीयताले एक मुलुक अनेकौँ शिक्षा नीति र संरचनाको स्थिति उत्पन्न गरेको छ । सामाजिक सेवा र आमनागरिकको नैसर्गिक अधिकारका रूपमा रहेका शिक्षा क्षेत्र दलाल र माफियाहरूको मुनाफा आर्जन गर्ने मुख्य व्यापारको केन्द्र बनिरहेको छ । दलाल राज्यसत्ताले शिक्षाको दायित्व र व्ययभार जनतामाथि थुपारिदिएको छ । सरकारी शिक्षा चरम सङ्कटमा छ निजीकरणले शिक्षालाई क्रमशः ढाक्दैछ । शिक्षा, प्रतिभा र पुँजी विदेश पलायन भइरहेको २०७८÷०७९ को शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार विदेश अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या एक लाख १२ हजार पाँच सय २८ विद्यार्थीले नो–अब्जेक्सन सर्टिफिकेट लगेका छन् भने विदेश अध्ययन गर्न जानेहरू हालसम्मकै धेरै मानिएको छ । त्यही अवधिमा अहिलेसम्मकै अधिकतम वैदेशिक अध्ययनमा १ खर्ब ५७ अर्ब ४ करोड रूपैयाँ बाहिरिएको छ । राज्यसँग वैज्ञानिक नीति, योजना र कार्यान्वयनको समस्या छ । नेपाल विदेशीका लागि परीक्षण र असफलता भोग्ने प्रयोगशालाजस्तै बनिरहेको छ । सार्वजनिक शिक्षा आमनागरिकहरूलाई मूल्यमान्यतामा आधारित जीवन दृष्टिकोण निर्माण गर्ने विषयमा नीतिविहीन, दिशाविहीन र गतिविहीन छ । शिक्षा नीति उपभोक्तावादी, कर्पाेरेट सञ्चालनमा रूपान्तरण भएको छ । दलाल सत्ताको दुईखाले शिक्षा नीतिले पद्धति संरचना र स्वार्थमा मात्र भिन्नता होइन, विभेद र विषमताको गहिरो खाडल खनिरहेको छ । यो सङ्कट एवम् समस्याको समाधान सबैका लागि सार्वजनिक (सरकारी) समान र वैज्ञानिक समाजवादी शिक्षा नै हो ।
अहिले राष्ट्रिय रूपमा उल्लिखित राजीनितक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था नवउदारवादीबाट परिमार्जित गरी निगम पुँजीवादीमा परिवर्तित विश्वपरिवेशले नेपालको शिक्षा प्रणाली दलाल पुँजीवादीको हस्तक्षेप र अतिक्रमणले आक्रान्त बनिरहेको छ । मुलुकको समग्र अर्थतन्त्र नै दातृ मुलुक र वित्तीय संस्थाहरूको ऋण, अनुदान र सहयोगमा चल्ने दलाल एवम् निगम पुँजीवादी रहेको छ । आज विश्वनिगमहरूको सङ्गठन ‘आर्थिक विकास र सहयोगका लागि सङ्गठन’ ९इभ्ऋम्० ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरिएको छ । नेपालको शिक्षा पनि दातृ मुलुक र वित्तीय संस्थाहरूको लगानी र सर्तअनुकूल चलिरहेको छ । यसले नयाँ नेपाल बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने होइन, विश्वका कुन मुलुकमा कस्तो र कति जनशक्ति आवश्यक छ, त्यसको उत्पादन र पूर्ति गर्ने काम नेपालका स्कुल, कलेज र विश्वविद्यालयहरूले गरिरहेका छन् । दलाल शासकहरूको परनिर्भरता र स्पष्ट रणनीतिको अभावमा शिक्षा क्षेत्रमा दिशाविहीन अस्तव्यस्त अव्यवस्थापन र गुणस्तरहीनताले आक्रान्त बनिरहेको छ ।
नेपालको शिक्षामा आज मात्रात्मक विकास देखिए पनि गुणात्मक परिवर्तन हुनसकेको छैन । शिक्षण संस्था र विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । त्यसले शैक्षिक बेरोजगार पैदा गरी पुँजी र प्रतिभा विदेश पलायन भइरहेको छ । शिक्षा असमान जनविरोधी, अवैज्ञानिक, राष्ट्रियताविरोधी अव्यावहारिक छ । राज्यको कमजोर प्रशासन र व्यवस्थापनले शिक्षा उद्देश्य र आवश्यकताविरोधी बनिरहेको छ । शिक्षा मौलिक हक, आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हास्यास्पद विषय बनिरहेको छ । सार्वजनिक शिक्षा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । राज्यको दायित्वमा हुनुपर्ने शिक्षा क्षेत्र आज निजीकरण तथा व्यापारीकरणको महामारीले शिक्षा राज्यको दायित्व होइन, आम नागरिकको व्ययभारको वस्तु बनिरहेको छ । नीति, विधि र प्रणालीको समस्याले शिक्षा असफल भइरहेको छ । यो दलाल पुँजीवादी शिक्षा भएकाले राष्ट्रियताविरोधी छ तर नेपालका कतिपय स्कुलहरू मध्यम वर्गका बालबालिका पढ्ने स्तरमा निर्धारित गरिएका छन् । यसप्रकारका स्कुलहरूको ध्येय दलाल पुँजीवादी संसदीय व्यवस्थाको सेवा गर्ने कर्मचारीहरू तथा यसप्रकारका वौदिक व्यक्तित्वहरू तयार पार्नु जसले समाजको निश्चित अंश अधिकार प्राप्त गर्ने कुराको बदलामा जनतामाथि शासन गर्ने, साम्राज्यवादी, प्रभुत्वशाली वर्गलाई सहयोग गर्दछ । अधिक सङ्ख्याका माध्यमिक वा उच्च माध्यमिक स्कुल र विश्वविद्यालयका क्याम्पसहरूको उद्देश्य केवल विभिन्न तहका बहिदार तथा क्लर्कहरू र बुर्जुवा पुँजीपति वर्गका लागि प्रशिक्षित चाकरहरू तयार गर्नु रहेको छ । त्यसैले नेपालको शिक्षा प्रणाली देश र जनताको हितअनुकूल छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :