राज्यद्वारा पुरानै संसदीय व्यवस्थालाई गाउँ र सहरसम्म पुनस्र्थापित गर्ने अभियानका साथ गरिएको कथित स्थानीय निर्वाचनका दुई चरण प्रतिरोध र खारेज गर्दै अब तेस्रो चरणको स्थानीय निर्वाचन कथित २ नं. प्रदेशमा हुँदैछ, हामी त्यसको पनि क्रान्तिकारी प्रतिरोधको तयारीमा छौँ । अर्को संसदीय चुनाव २०७४ मङ्सिर १० गते गर्ने घोषणा गरिएको छ, त्यसको सशक्त खारेजीको तयारीमा छौँ । हामीले प्रचण्डलाई बचाउन सकेनौँ, बाबुराम वा बादललाई बचाउन सकेनौँ । कहाँसम्म भने किरण र विप्लवलाई पनि सँगै राख्न सकेनौँ । यहीबीचमा फेरि कथित संसदीय र प्रादेशिक चुनावको मिति तोकिएको छ । सायद रातमा मुसाहरुको राज्यजस्तै नेताहरुको ओहोरदोहोर, हुलचाल र हल्लाखल्लाले हाम्रो समाजमा बिगबिगी मच्चाएको छ । गोयबल्स शैलीका दिनहुँजस्तै आयोजना गरिएका पार्टी प्रवेश तथा स्वागत कार्यक्रमहरुले फेरि मान्छेहरुलाई तरङ्गित गर्ने षड्यन्त्रका तानाबाना बुनिएकै छ । चुनावकै आवरणमा फेरि क्रान्तिकारी शक्तिहरुमाथिको आक्रमण सुरु भएको छ र भनिएको छ – ‘ विप्लवजी, किरणजीको अस्तित्व समाप्त भएको छ ।’ वास्तवमा क्रान्तिकारीहरुमाथिको आक्रमणको यो पहिलो कार्ड हो । दोस्रो कार्ड पनि छ, त्यो हो “माओवादीहरुबीचको एकताको नारा” । व्यवहारमा आफू गएर नेपाली काङ्ग्रेस र राजपासँग मोर्चाबन्दी गर्ने अनी भन्ने माओवादी एकताको नारा । अर्को कार्ड त अहिले निष्प्रभावीजस्तै बनेको छ, त्यो हो सबै कम्युनिस्टहरु र देशभक्तहरु एक हुने नारा । प्रतिक्रान्तिबाट क्रान्तितर्फ सङ्क्रमण गर्ने बाटो धेरै कठिन र चुनौतीपूर्ण हुँदोरहेछ । सँगै हिँडिरहेको साथी कतिबेला चिप्लिने हो त्यो भन्न नसकिने हुँदो रहेछ । महासचिव विप्लवले कुनै समय भनेको एउटा वाक्य मर्मस्पर्शी छ–“क्रान्तिको यात्रामा एक्लै नै परिएछ भने पनि क्रान्तिको बाटो छाडिनेछैन र रत्तिभर आत्मसमर्पणको बाटो रोजिने छैन ।” मलाई फेरि पनि जोड दिएर भन्न मन लाग्यो – “प्रतिक्रान्तिबाट क्रान्तितर्फ सङ्क्रमण गर्ने बाटो धेरै कठिन, जोखिमपूर्ण र चुनौतीपूर्ण हुँदोरहेछ ।” हाम्रो चारैतर्फ दुस्मनहरुको किल्ला छ र भएभरको शक्ति हाम्राविरुद्ध तैनाथ छ ।
आत्मसमर्पण, पलायन र गद्दारीको बाटोबाट आफूलाई र आफ्नो समूहलाई बचाउन धेरै कठिन छ । यतिबेला देशभर कथित चुनावको चहलपहल छ । मन्त्री, सांसद र मुख्यमन्त्री बन्ने दौडमा नेताहरु यो पार्टी र त्यो पार्टीमा ओहोरदोहोर गरिरहेका छन् । सबैले आफ्नो दाउपेचलाई मोलतोल गरिरहेका छन् । कथित स्थानीय निर्वाचनमा क्रान्तिकारीहरुले जेल, नेल हुँदै राज्यद्वारा गरिएको दमनको प्रतिरोध गर्दै अनि देशैभर सशक्त प्रतिकार गर्दै फर्किन सफल भएकाले “हामी विजयी भएर फर्किएका छौँ” भन्ने महासचिव विप्लवको संश्लेषणबाट सबै कुराको जबाफ मिल्दछ । एङ्गेल्सले भनेजस्तै क्रान्तिकारीहरुको चेतना औसत मान्छेहरुको चेतनाभन्दा धेरै माथि हुन्छ । औसत मान्छेहरु तीन चीजबाट भत्ते हुन्छन्– यौन, शक्ति र पैसा वा सम्पत्ति । सामान्य मान्छे यौन, शक्ति र पैसा वा सम्पत्तिको नजिक पुग्दा सबै थोक बिर्सिन्छ, आफैँलाई अनि आफ्नो इतिहासलाई बिर्सिन्छ, स्मरण शक्ति नै समाप्त हुन्छ र सबै कुरा छाडिदिन्छ । हामीले हिन्दुशास्त्रमा कसरी जालझेल गरेर ठूलाठूला तपस्याहरु भङ्ग गरिएका थिए भन्ने कहानीहरु पनि सुनेका छौँ । आज हाम्रो जीवनमा पनि ठूलाठूला क्रान्तिकारी तपस्याहरु भङ्ग गरेर निजी जीवन र निजी सम्पत्तिका लागि तँछाडमछाड गरेका कथाहरु पीडादायक छन् । आज एकता र धु्रवीकरण बहसहरु फेरि घनीभूत भएका छन् । एकताको प्रश्नमा हामी कहाँनेर सचेत हुनुपर्छ भने कसैको प्रधानमन्त्रीको दाउपेचका लागि फालिएको एकताको कार्डसँग हामी सधैँ डराउनुपर्छ । प्रचण्डको समीकरण एमालेसँग हुँदासम्म उनले वाम एकताको मीठो राग अलापे, जसले मोहनविक्रम सिंहलाईसमेत प्रभावित ग¥यो । तर त्यो राग धेरै समय टिक्न सकेन किनकि त्यहाँ फगत कुर्सीको दाउपेचका लागि प्रयोग गरिएको कार्ड थियो । केही महिना पनि बित्न नपाउँदै फेरि काङ्ग्रेससँगको मोर्चाबन्दी र समीकरणको नाटक हामीले हेरिरहेकै छौं । कहाँसम्म भने काङ्ग्रेसमा माओवादी केन्द्रको पार्टी मिसाउने भन्नेसम्मका बहसहरु चल्न थालेका छन् । पछिल्लो समयमा राजपाका नेताहरुसँगको माओवादी केन्द्रको एकता अर्थात् राजपाका नेताहरुको माओवादी केन्द्रमा भएको प्रवेशको भद्दा नाटक पनि त हेरिरहेकै छौँ ।
हामीले क्रान्तिकारीहरु र देशभक्तहरुको एकतालाई जोड दिनुपर्छ । त्यो केवल कुरामा सीमित भएर पुग्दैन, वास्तविक घटनाक्रमबाट पुष्टि हुनुपर्छ । क्रान्तिकारी र देशभक्तहरुको ध्रुवीकरणको सन्दर्भमा पनि हामी सचेत हुनुपर्ने कहाँ छ भने सुरुदेखि पार्टीभित्र रहेको शक्तिलाई बचाउने र सुदृढ गर्ने कुरामा पहिलो प्राथमिकता हुनुपर्छ । विभिन्न बहानामा इमानदार नेता, कार्यकर्ताहरुलाई अर्कोतिर जानका लागि बाध्य पारिने वा धकेलिदिने कमजोरी गर्नु हुँदैन । धु्रवीकरणको सन्दर्भमा आज हामीले देशभक्तहरुको नयाँ परिभाषा र वर्गीकरण गर्नुपर्ने आवश्यकता टड्कारो बनेको छ । देशभक्त तथा क्रान्तिकारी शक्ति भनेर मोटामोटी तीनवटा पार्टीबीच मोर्चाबन्दी वा सहकार्य भएको छ– नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (मसाल) । यत्तिले मात्र पनि पुग्दैन, यसको दायरा बढाउनु पर्छ । स्वतन्त्र रुपमा रहेका समूहहरु, व्यक्तिविशेषहरु बाहेक विद्यमान दल र तिनका नेताहरुका बारेमा पनि सापेक्षित रुपमा वर्गीकरण गरी त्यहीअनुसारको सम्बन्ध कायम गर्नुपर्छ । कुर्सीका लागि जे पनि गर्न तयार हुने चिन्तन र नेतृत्वबाट देशभक्ति वा क्रान्तिकारी कदमको अपेक्षा गर्नु आत्मघाती हुन्छ ।
भारतीय शासक भन्नासाथ जीहजुर मात्र गर्ने ‘एस मेन’ को मनोविज्ञानबाट केही पनि आशा गर्नु हुँदैन । सारमा भन्दा यो प्रतिकूल र विषम परिस्थितिबाट क्रान्तिकारी विजयी बनाउन व्यापक र बृहत् ध्रुवीकरणको रणनीतिलाई अगाडि बढाउनु पर्छ । आज राष्ट्रियताको प्रश्न ज्यादै पेचिलो बनेको छ । समयमै राष्ट्रवादी शक्तिहरु एक नहुने हो भने हाम्रो भविष्य अन्धकार छ । सत्ताका लागि देशै बुझाउन पछि नपर्ने, देश टुक्र्याउन पनि तयार हुने र भारतमा गएर प्रादेशिक मुख्यमन्त्रीका रुपमा आफूलाई उभ्याउनेहरुको तीव्र मोर्चाबन्दी भएको छ । यो ज्यादै खतरनाक हो । जनताले राष्ट्रवादी शक्तिहरुलाई आवश्यक पहल लिन आग्रह गरिरहेका छन् । हालै आएको बाढीले तराई डुबानमा परेपछि आमजनताले नेपाल कम्युनिस्ट पार्टीलाई कोसी बाँधमा बम हानेर उडाइदिन आग्रह गरे । यसबाट के देखिन्छ भने भोलि भारतीय हस्तक्षेप नाङ्गो ढङ्गले बढ्यो र देशकै अस्तित्वमाथि धावा बोल्ने काम भयो भने भारतसँग लड्ने एउटै मात्र सशक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी छ । त्यति मात्र हैन, आजको विश्वमा बढ्दै गइरहेको सैन्य होडबाजीभित्र नेपालको अस्तित्व जोगाउने र सुदृढ गराउन एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गर्न आवश्यक छ । आत्मसमर्पणबाट हैन सङ्घर्षबाट, गुलामीबाट हैन निर्माणबाट हामीले आजको उत्तरसाम्राज्यवादमाथि धावा बोल्नुपर्छ ।
२०७४ भदौ १७ गते ७ : ४२ मा प्रकाशित