अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

पोखरा : एमसीसीविरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोधसभासहित प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभाका वक्ताले अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग गरेका छन् ।

विरोधसभामा नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले महाकाली, गण्डक, कोसी, टनकपुर र नेपालका १६ वटाभन्दा बढी उद्योग बेच्ने काङ्ग्रेसको नेतृत्वमा फेरि अर्को राष्ट्रघात भए पनि कुनै पनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने र राष्ट्रघातलाई सडकबाटै खारेज गर्ने चेतावनी दिए ।

उनले एमसीसीले विद्यार्थी आन्दोलनमा राष्ट्रघातविरुद्ध सडकमा आएको क्रान्तिकारी शक्ति र राष्ट्रघातका पक्षमा दीप प्रज्वलन गर्ने नेविसङ्घसहित दुईवटा ध्रुव देखापरेको उल्लेख गरे । नेविसङ्घलगायत राष्ट्रघातका पक्षमा वकालत गर्नेहरू विद्यार्थी आन्दोलनका नाममा कलङ्क रहेको उनको भनाइ थियो ।

अमेरिकाले बाहिर प्रजातन्त्र र स्वतन्त्रता भन्दै भित्रैभित्र आतङ्कवाद जन्माएर लागू गरेको उनको भनाइ थियो । उनले बोलिभियामा चे, कङ्गोको प्रधानमन्त्री लुम्बुम्बा आजाद, इन्डोनेसियाका राष्ट्रपति सुकार्नो, चिलीका राष्ट्रपति एलेन्दे, गद्दाफी, चाभेज, गोन्जालो, सुलेमानीलगायतको हत्या गर्ने हत्यारा अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउनुपर्ने र यसको नेतृत्व विद्यार्थीले गर्नुपर्ने पनि उनले बताए ।

अखिल (छैटौँ) का केन्द्रीय सचिव इन्द्रमणि पाण्डेले राष्ट्रघाती एमसीसी खारेज नगरे नेपाली जनताले वर्तमान राजनीतिक नेतृत्वलाई बाँकी नछाड्ने बताए । उनले हरेक राष्ट्रघाती कदमको नेताहरूले जबाफ दिनुपर्ने बताउँदै तत्काल एमसीसी खारेज नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।

अखिल नेपाल विद्यार्थी युुनियनका अध्यक्ष मनीष भट्टराईले एमसीसी खारेज गरे मात्र नेपाली राष्ट्रियताको रक्षा हुने भएकाले त्यसको खारेजीका लागि जनदबाब आवश्यक रहेको औँल्याए ।

कार्यक्रमअघि पोखरा न्युरोडबाट नाराजुलुससहित सुरु भएको जुलुस चिप्लेढुङ्गा मानवअधिकार चोकमा गएर कोणसभामा परिणत भएको थियो । सभाको सञ्चालन अखिल (क्रान्तिकारी) का क्याम्पस जिल्ला कास्कीका अध्यक्ष उपेन्द्र परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :