नेपाल कम्युनिष्ट पार्टी सल्यानले आइतबार थारखोलामा भएको बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेकपा सल्यान जिल्ला सेक्रेटरी नारायण चन्दले आज एक शोक वक्तव्य जारी गर्दै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ थारखोलामा भएको बस दुर्घटनाबाट भएको मानविय क्षतिले पार्टीलाई अत्यन्त दुखी बनाएको बताएका छन् ।
वक्तव्यमा दुर्घटनामा परि ज्यान गुमाएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै वक्तव्यमा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरुको भरपर्दो उपचारको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
सल्यानको जैतेपानीबाट तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा बिहान करिब साढे ११ बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।