दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुँदै

दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुँदै

दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन “सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ कार्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुने भएको छ ।

कार्तिक २७ गते धनगढीमा हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा र र्याली पश्चात एक भव्य समारोह बीच हुने सम्मेलनलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गर्नुहुनेछ । सम्मेलन सम्बन्धी राजनीतिक–वैचारिक, सङ्गठनात्मक, प्रचारात्मक र व्यवस्थापकीय तयारी अन्तिम चरणमा तिव्रतामा भैरहेको आयोजकले जनाएको छ ।

सो सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र प्रवास भारतबाट गरि करिव ३५० जनाको उपस्थिति हुनेछ । विभिन्न राजनीतिक पार्टी निकट दलित संघ–सङ्गठनहरु र भारतीय दलित सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ ।

उक्त सम्मेलनमा दलित मुक्ति आन्दोलनको समिक्षा सहित नयाँ विचार, राजनीतिक कार्यदिशा, सङ्गठनको नयाँ नाम र संरचना, नीति–कार्यक्रम एवं संघर्षको स्वरुपबारे बहस र संश्लेषण हुनेछ । दलित समुदायमाथि राज्यद्धारा हजारौं वर्षदेखि हँुदै आएको विभेद, शोषण, दमन, उत्पीडन र बहिस्करण विरुद्ध संघर्षरत यस मोर्चाले अहिलेको दलाल संसदीय व्यवस्थामा आमूल परिवर्तन गरि वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र यो समुदायको पूर्ण मुक्ति संभव हुने भन्दै यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वमा वर्गसंघर्ष र एकीकृत दलित आन्दोलन आजको अपरिहार्य आवश्यकता रहेको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :