जनपत्रकार संगठन नेपाल प्रदेश १ को भेला/ प्रशिक्षण सम्पन्न

जनपत्रकार संगठन नेपाल प्रदेश १ को भेला/ प्रशिक्षण सम्पन्न

धरानः जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । संगठनको महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य आलोक लिम्बु अध्यक्षतामा सम्पन्न भेलाले आगामी असोजमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकट पत्रकार संगठनले भदौ भरी प्रदेशभर १४ ओटै जिल्लाको जिल्ला सम्मेलन गर्ने गर्ने र असोज ४ र ५ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला सम्मेलन गर्नका लागि तीन जना केन्दीय सदस्यलाई छुट्टा छुट्टै जिल्लाको जिम्मेवारी तोकेको छ । आलोक नेम्वाङ, प्रविन अधिकारी र सर्गम श्रेष्ठलाई जिल्ला सम्मेलन गर्ने जिम्मेवारी तोकिएको हो । भेलाले भ्रष्ट्रचारी, दलाली, कमिसन खोरहरुको भण्डाफोर गर्दै समाचार सम्प्रेषण गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि समेत रहेको नेकपाका केन्द्रीय सदस्य निर्मलले वर्गीय असमानता रहेसम्म पत्रकारिता स्वतन्त्र हुन नसक्ने बताए । उनले वर्गविभेद रहेसम्म पत्रकारिता कुनैपनि हालतामा स्वतन्त्र नहुने उनको भनाई थियो ।

जहाँ वर्गले विभेद जन्माउँछ, त्यही विभेदबाट विचार बन्छ, भेलालाई सम्बोधन गर्दै निर्मलले भने, –‘विचार रहँदासम्म पत्रकारिता स्वतन्त्र हुन सक्दैन । त्यसैले वर्गसंघर्षमार्फत वैज्ञानिक समाजवाद स्थापना भए मात्र स्वतन्त्र पत्रकारिताको सुरुवात हुन्छ ।’

कार्यक्रममा बोल्दै जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा ‘दर्शन’ले नेपालमा जनपक्षीय पत्रकारिताको अभाव रहेको बताए । देशमा दलाल संसदीय व्यवस्थाले पत्रकारितामा समेत प्रभाव जमाएकाले दलालीकरणको अन्त्य गर्न जनपत्रकार संठगनको ठूलो भुमिका हुने बताए । एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि प्रचार माध्यमको ठूलो भुमिका हुन्छ, भेलालाई सम्बोधन गर्दै संयोजक दर्शनले भने, –‘जनपत्रकार संगठनलाई प्रचार व्रिगेटका रुपमा अगाडि सारेर वैज्ञानिक समाजवादका लागि जनमत सृजना गर्ने हाम्रो लक्ष्य छ । त्यसमा तपाईहरु सशक्त ढङ्गले लाग्नुहोस् ।’

कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु सुदर्शन राज पाण्डे, शोभराज बराल र नेकपा सुनसरी जिल्ला सेक्रेटरी विवसको उपस्थिति रहेको थियो । भेलामा प्रदेशभर १४ जिल्लाका करिव २५ जना जनपक्षिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :