नारायणीबाट २ सय माओवादी केन्द्रका कार्यकर्ता नेकपामा प्रवेश गर्दै

अम्बिका चन्द/काठमाडौं, साउन २१ः स्थानीय निकायको चुनाब खारेजी अभियानपछि देशको सशक्त र बैकल्पिक शक्तिको रुपमा स्थापित नेकपाले नयाँ जनसत्ताको अभ्यास पनि गरिरहेको छ । संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा स्थानीय तहमा जनसरकार गठन गरिरहेकोे नेकपाले अब भने प्रादेशिक सरकार गठन गर्ने बताएको छ । यसैबीच नेकपाको नाराणयी ब्यूरोले आउँदो भदौं अन्तिम साता प्रदेश स्तरीय जनपरिषद् गठन गर्ने भएको छ । ब्यूरोको शुक्रबार मकवानपुरमा सम्पन्न बैठकले प्रादेशिक जनसरकार गठन गरेर जाने निर्णय गरेको हो । नेकपाका क्षेत्रीय ब्यूरो सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ ले देशमा दुईवटा सत्ता छन् भन्ने सन्देश दिन र जनपक्षीय काम गर्न जनसरकार गठन गर्न लागिएको बताउनुभयो । ज्वालाका अनुसार यसरी स्थानीय तहमा गठन हुने जनसरकारले जनताको सुरक्षा, न्याय र विकाससम्बन्धी काम पहिलो प्राथमिकताका साथ गर्नेछ । साथै उहाँले माओवादी केन्द्रलगायतका विभिन्न कम्युनिस्ट घटकहरुबाट कम्तिमा २ सय स्थानीय तहका नेताकार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गर्न लागेको पनि जानकारी दिनुभयो । यस्तै नेकपा मकवानपुर जिल्ला सचिब राम घलानले पुरानो प्रतिक्रियावादी सत्ताले गरेको चुनावबाट दुई–चार जना हुने–खाने र पहुँचवालालाई मात्र अधिकार सम्पन्न बनाउने भन्दै आफ्नो पार्टीले संचालन गर्ने जनसत्ताले निम्न स्तरमै भएपनि जनतालाई न्याय र समानताको अनुभूति गराउने बताउनुभयो । अहिलेसम्म देशका विभिन्न जिल्ला र स्थानीय तहमा गरी २ सय भन्दा बढी स्थानहरुमा जनसरकार गठन गरिसकेको नेकपा श्रोतले बताएको छ । विगत जनयुद्धकालीन समयमा देशको असी प्रतिशत भू–भागमा जनसत्ता सञ्चालनमा रहेतापनि तत्कालिन जनयुद्धका मुख्य नेताहरु दक्षिणपन्थी संसदवादमा पतनसँगै जनसत्ता पनि विघटित भएको थियो । फेरी पनि नेपालमा क्रान्तिकारी आन्दोलन जारी छ भन्ने सन्देशसहित नेकपाले अहिले देशव्यापीरुपमा संयुक्त जनपरिषद्को नाममा समानान्तर सत्ता संचालनको अभ्यास गरिरहेको छ ।

२०७४ साउन २१ गते ७ः०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :