आन्दोलनरत उखु किसानलाई जनसत्ताको साथ

क्षतिपूर्तिसहित रकम भुक्तान नगरिए चिनी उद्योगका मालिकलाई कारबाही गर्ने जनसरकारको चेतावनी

आन्दोलनरत उखु किसानलाई जनसत्ताको साथ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित केन्द्रीय सत्ता केन्द्रीय जनपरिषद् नेपालले उखु किसानको आन्दोलनप्रपित ऐक्यबद्धता प्रकट गर्दै किसानमारा चिनी उद्योगका मालिकहरूलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै अविलम्ब उखु किसानको रकम भुक्तान नगरिए चिनी उद्योगका ठग मालिकहरूलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

जनपरिषद्को केन्द्रीय कार्यालयका तर्फबाट जनपरिषद् प्रमुख सन्तोष बुढामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चिनी उद्योगका मालिकहरूबाट लामो समय शोषण र उत्पीडन झेल्दै आइराखेका र सरकारबाट समेत ठगिएर आफ्नो पसिनाको मूल्य पाउन पटकपटक सडकमा उत्रिन बाध्य उखु किसानहरूको समस्या र आन्दोलनबारे जनसत्ताका तर्फबाट गम्भीर र सूक्ष्म अध्ययन भइरहेको छ । सरकार नै साक्षी बसेर भएको सहमति कार्यान्वयन गराउन पनि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउनु यो राज्यव्यवस्थाको चरम लापरबाही, गैरजिम्मेवारी, निकम्मापन र असफलता हो । केन्द्रीय जनपरिषद् उखु किसानहरूको यो आन्दोलनप्रति पूर्ण साथ र ऐक्यबद्धता प्रकट गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘श्रमिक किसानहरूको पसिनाबाट केही दलालहरूको दिनप्रतिदिन महल ठडिँदै जाने र जीवनभर मेहनतरत किसानहरूको भएको घर र खेतसमेत लिलाम भई बेघरबार र बिचल्ली बन्नुपर्ने यही परिपाटी र यस्तो राज्यव्यवस्थाको अन्त्यका लागि हामी एकीकृत जनक्रान्तिमार्फत सङ्घर्षमा डटिरहेका छौँ । हामी सम्पूर्ण उत्पीडित उखु किसानहरूले पाउनुपर्ने सम्पूर्ण रकम क्षतिपूर्तिसहित तुरुन्तै भुक्तान गर्न जोडदार माग गर्दछौँ । अन्यथा उत्पीडित किसानहरूका तर्फबाट उपरोक्त किसानमारा शोषक र ठगहरूलाई जनसत्ताले कारबाही गर्ने विषयसमेत सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :