काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले ब्युरोको विशेष समिति सदस्यसमेत रहेका तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक कान्छाराम तामाङ (परिभाषा, परिवर्तन) लाई पार्टीबबाट निष्कासित गरेको छ । ब्युरो इन्चार्ज आधारले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध र क्रियाशील हुनुको सट्टा ढुलमूल दृष्टिकोण, कुण्ठा र रहस्यमय हावादारी ब्याकबाइटिङ गर्दै हिँडेका कान्छारामले मङ्सिर १३ गते सरकारी नेकपामा आत्मसमर्पण गरेको पनि सार्वजनिक गरेका छन् ।
इन्चार्ज आधारको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाको मार्गमा तीव्र गति प्रवाहका साथ अगाडि बढिरहेको सर्वविदितै छ । यो महान् यात्राका क्रममा पार्टी जीवनभित्र घुसेका केही अवसरवादीहरूबाट विभिन्न रूप र रङका समस्याहरू पैदा हुने गर्दछन् । यसै क्रममा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोअन्तर्गत विशेष समिति सदस्य (डीसीएमसरह) कान्छाराम तामाङ (परिभाषा, परिवर्तन) यही २०७७ साल मङ्सिर १३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश (आत्मसमर्पण) गरेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
आधारको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसमा स्मरणीय विषय यो रहेको छ– उनी आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध र क्रियाशील हुनुको सट्टा ढुलमूल दृष्टिकोण, कुण्ठा र रहस्यमय हावादारी ब्याकबाइटिङ गर्दै हिँड्ने व्यक्ति थिए । उनी २०७६ साल फागुनदेखि काठमाडौँ भासिएर लामो समयसम्म सम्पर्कविहीन भएका थिए । आत्मसुरक्षावादले ग्रसित भई स्वतन्त्र भएको विज्ञप्ति निकाल्छु भनी फलाक्दै हिँड्ने गरेका थिए । नियोजित प्रकारले षड्यन्त्रकारी तानाबाना बुनेर पार्टीभित्र अन्तरध्वंस सिर्जना गर्ने, गुटबन्दी गर्ने, पर्दापछाडि बसेर सोझा, इमानदार कार्यकर्तालाई जुधाउने र भ्रमित पारिराख्ने उनका दैनिक कदमहरू बनेका थिए ।’
विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनसँग नियमित सम्पर्कमा रही पार्टीका गोप्य सूचनाहरू बेच्ने गरेको, केही फोन नम्बर दिने गरेको, किन यसो गरेको भनी स्पष्टीकरण लिँदा मेरा भाइ, विद्यार्थी भएकाले भन्ने गैरजिम्मेवारीपूर्ण आवाज ओकल्थे । आफ्नो कार्यक्षेत्रबाहिर अनधिकृत रूपले जथाभाबी पार्टीको नाम बदनाम गर्ने गरी संसद्वादी जनप्रतिनिधि, व्यवसायीहरूबाट चन्दा असुली गरी खाएका थिए भने केही महिलाहरूलाई समेत ठगी गरेका थिए । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष र विशेष ब्युरो सदस्य भन्दै नपाएको जिम्मेवारी भँजाउने गरेका थिए । यथार्थमा उनी पार्टी डीसीएमसरह र तामाङ राष्ट्रिय मुक्ति मोर्चाको संयोजक मात्र थिए । विगतमा पार्टीको माइन्युट फोटो खिची दुरुपयोगसमेत गरेका थिए । आर्थिक, सांस्कृतिक रूपमा चरम अराजकता, अस्वाभाविक गतिविधिका कारण पार्टीले पटकपटक चेतावनी दिँदै रूपान्तरणका लागि प्रेरित गर्दै आएको थियो । केही समयअगाडि अनेक तरहले सम्पर्कमा ल्याउँदा गुलिया लोली, बोलीमा मुस्कुराउने कार्य गरेका थिए । उनको संसद्वादी, विचलनकारी, स्वच्छन्दतावादी सर्तबद्ध विचार, चिन्तन र कार्यशैली रहेका कारण पार्टीले छलफल, दिशानिर्देशका साथै उच्च निगरानीमा राखेको थियो । हालै मात्र काभ्रे जिल्लामा कार्यरत ठेकेदार राम खत्री (फोन नं. ९८५१०६११८८) लाई परिभाषा, परिवर्तन (फोन नं.–९८६०५७०७९९) ले पाँच लाख चन्दा अनधिकृत रूपमा मागेको प्रमाणित भएकाले आन्तरिक रूपमा निलम्बन गरी थप अनुसन्धान भइरहेको थियो । यसै सन्दर्भमा अझै जनताबाट केही गम्भीर प्रकृतिका सूचना प्राप्त भइरहेकाले पार्टीको थप गम्भीर ध्यानाकर्षण भएको छ । केही अनलाइनहरूमा भ्रामक, कपोलकल्पित समाचार प्रकाशित भएकाले भ्रमित नहुन आम पार्टीपङ्क्ति, शुभचिन्तक, सहयोगी, आदरणीय जनसमुदायहरूमा यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरिन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ…