विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौँ: विश्वभरि फैलिएको कोरोना भाइरस महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ५ लाख नाघेको छ । आज बिहानसम्म यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ४ हजार ४ सय ६६ पुगेको छ । यस्तै उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ करोड १० लाखभन्दा बढी पुगेको छ ।
कोराना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २५ हजारजनाभन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै २५ लाखजनाभन्दा धेरै सङ्क्रमित भएका छन् ।
यही गतिमा सङ्क्रमण फैलिँदै गए र नियन्त्रणमा नआए मृतकको सङ्ख्या १ करोडभन्दा बढी हुने आकलनहरु गरिएका छन् ।
अहिलेको विश्वभरिको सङ्क्रमित सङ्ख्यामध्ये आधा सङ्ख्या अमेरिका र युरोपमा रहेको छ ।
अमेरिकापछि कोरानाबाट बढी प्रभावित देश ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १४ लाखनजिक छ भने त्यहाँ ५७ हजार मानिसको मृत्यु भएको छ ।
यसैबीच नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सख्या १२ हजार ७ सय ७२ पुगेको छ भने २९ जनाको मृत्यु भइसकेको छ । आज बिहान ललितपुरमा एकजनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या २९ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :