धरानमा क्रान्तिकारीद्वारा राहत वितरण


काठमाडौँ : अखिल (क्रान्तिकारी) मेची–कोसी क्षेत्रीय समन्वय समितिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण सहरमा बसेर पढिरहेका विद्यार्थी समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको छ ।

क्रान्तिकारीको क्षेत्रीय समन्वय समितिको नेतृत्वमा प्रथम चरणमा राहत वितरण गरिएको हो । क्रान्तिकारीका क्षेत्रीय संयोजक पुष्प न्यौपानेका अनुसार प्रथम चरणमा ५ क्विन्टल चामल र ५० किलो दाल अति विपन्न र घर छोडेर पढ्न बसेका विद्यार्थीलाई वितरण गरिएको छ । यसक्रममा ३३ जना विद्यार्थीलाई प्रतिव्यक्ति १५ किलो चामलका साथै दाल वितरण गएिको छ ।

पूर्वका झापा, मोरङ र सुनसरी जिल्लामा राहत वितरणलाई तीव्र गतिमा अघि बढाइने बताइएको छ । खाद्यान्नको सहजीकरण क्षेत्रीय समन्वय समितिले गर्ने र वितरण भने जिल्ला समितिले नै गर्ने जानकारी संयोजक न्यौपानेले दिए । राहत वितरणलाई प्रभावकारी बनाउन एकाइ समितिका सदस्यहरूलाई समेत परिचालन गर्ने र नगरपालिकादेखि वडासम्म गएर समन्वय गर्ने क्रान्तिकारीले जनाएको छ ।

कोठा भाडा लिएर गाउँदेखि पढ्न आएका विद्यार्थीहरू भोकै बस्नु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको संयोजक न्यौपानले बताए । उनले प्रहरी प्रशासनलाई पनि यस कार्यमा बाधा नपुर्याउन अनुरोध गरे । उनले यसका लागि व्यवसायी, समाजसेवी, प्राध्यापक, शिक्षक, कर्मचारीलगायतलाई सहयोगका लागि आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :