राहतका नाउँमा मिति सकिएको नुन वितरण गरिएकोमा नेकपाको आपत्ति

नयाँ वर्षलाई प्रतिरोध सङ्घर्षका रूपमा मनाउन आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जुम्लाले कोरोना भाइरस सङ्क्रमणविरुद्ध राहत वितरणका नाममा मिति नाघेको नुन वितरण गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । जिल्ला इन्चार्ज विश्वास र सेक्रेटरी रक्षकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोरोनाविरुद्ध एक भएर लड्न र नयाँ वर्ष २०७७ लाई प्रतिरोध सङ्घर्षका रुपमा मनाउन पनि जिल्लाबासीलाई आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्व मानव जाति नोबेल कोरोना भाइरस (covid-19) ले संत्रस्त बनाएको छ । विश्वका २१० वटा देशमा कोरोना सङ्क्रमण फैलिइसकेको छ । विश्व नै कोरोनाले सङ्कटग्रस्त भएको अवस्थामा नेपाल यसको उच्च जोखिममा छ । नेपालमा पनि केही व्यक्तिलाई सङ्क्रमण भइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई विश्वका अतिग्रसित देशसरह उच्च जोखिमयुक्त देश घोषणा गरेको छ । यो समय भनेको हामी नेपालीका लागि सङ्कटपुर्ण घडी हो । यो बेला नेपाली जनता, नेपालका राजनीतिक दल, बौद्धिक व्यक्तित्व, राष्ट्र सेवाका कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय, सरकार, सुरक्षा निकाय कोरोना भाइरसका विरुद्ध एक भएर लड्नुको विकल्प छैन । यो प्राकृतिक विपत्को घडीसँग लड्नु र विजय हासिल गर्नु हाम्रो साझा दायित्व हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ नेपालको राज्य र राजनीतिक शक्तिहरूले यसको छिटोभन्दा छिटो पहल लिनुपर्छ । यस समयमा राज्य पक्षबाट केही सकारात्मक कार्य भए पनि यसका लागि सरकार पूर्ण रूपमा अघि बढेको देखिँदैन । सरकारी संयन्त्रहरू द्रुत गतिमा अघि बढेका छैनन् । जनतालाई राहत वितरण र स्वास्थ्य उपचारका नाममा मनोगत र एकाग्रह तरिकाद्वारा स्थानीय सरकारहरू अघि बढेका छन् भने राहत वितरणका लागि कुनै सहमति र सुझाव सङ्कलन गरेका छैनन् । सरकार यस समयमा पनि राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुभन्दा एकलकाटे तरिकाबाट अघि बढ्नाले वास्तविक गरिब, मजदुर, न्यून आय भएका किसानको घरमा चुलो नबल्नुका साथै बिचौलियाहरूको कमिसन र भ्रष्टाचारको खेती बढेको छ । यसको पूर्ण सङ्केत छिमेकी राष्ट्र चीनबाट स्वास्थ्य सामग्री र उपकरण खरिदमा भएको भ्रष्टाचारले प्रस्ट्याइसकेको छ । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछिका बाढीपीडित र घरबासविहीनका नाममा राष्ट्रिय ढुकुटी तथा अन्तर्राष्ट्रिय सहयोगको दुरुपयोगको इतिहासले हामी सबै नेपाली जनतालाई चनाखो बनाएको छ र यसको पुनारावृत्ति हुनबाट रोक्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै नागरिकहरूको स्वास्थ्यउपचार सेवामा लागिपरेका स्वास्थ्यकर्मीलाई जनताको सेवामा उच्च मनोबलका साथ अहोरात्र अघि बढ्न राज्य पक्षबाट स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर जनताको स्वास्थ्य उपचारका लागि कछुवाको गतिमा हैन, छालको गतिझैँ अघि बढ्नु पर्दछ । यो जोखिमपूर्ण समयमा हामीले अन्तर्राष्ट्रिय सम्बन्ध पनि प्रगाढ राख्नु आवश्यक छ । यस कठिन समयमा जुम्लामा पनि कोरोना भाइरसका विरुद्ध राजनीतिक दल, स्थानीय प्रशासनका साथै स्थानीय तहका जनप्रतिनिधिलगायत सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाइ, दिदिबहिनी, जुम्ली जनताको सेवामा रहेका स्वास्थ्यकर्मी, समाजसेवामा खटिएका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारी, बौद्धिक व्यक्तित्व, नागरिक समाजको साझा एकताबाट जुम्ला जिल्लालाई बचाउन एक भई अघि बढ्न र आमजनसमुदायलाई उच्च सुरक्षित र सतर्कता अपनाई स्वास्थ्यकर्मीले दिएको सुझाव र सल्लाहलाई आत्मसात गरी अन्तर्राष्ट्रिय जगत्ले खेपेको सङ्कट र सतर्कताबाट सिकेर सचेत हुन अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जुम्ला जिल्लाका स्थानीय निकायहरूमा राहत वितरणका नाममा सन् २०१६–०१७ मा प्याकेजिङ भएको नुन वितरण गरिएको छ । २ वर्षभित्रै प्रयोग गरिसक्नुपर्ने नुन ४ वर्षपछि वितरण गरिएकोमा हाम्रो जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र सरकारी निकायबाट जनताप्रति गरिएको यस्तो कार्यले राज्य नै जनताप्रति गैरजिम्मेवार भएको पुष्टि भएको छ । यस्ता कार्य समयमै सच्याएर जनताप्रति जिम्मेवार हुन सुझावसहित राज्यको सानो लापरबाहीले जनताले ठूलो क्षति मोल्नुपर्ने खतराबाट सजग बन्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ । नयाँ वर्ष २०७७ नोबेल कोरोना भाइरसका विरुद्ध लड्ने सङ्घर्षको वर्ष हो । हाम्रो महान् तथा जनप्रिय नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति जुम्ला यस वर्षलाई न्याय, समानता र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि आम जुम्लाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामनाका साथ नयाँलाई प्रतिरोध सङ्घर्षको वर्षका रूपमा मनाउन अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :