काठमाडौँ : नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरी महासङ्घका अध्यक्ष जयन्द्रबहादुर चन्द, महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्यहरू कमल आरसी र प्रेम केसीलाई प्रहरीले ललितपुरबाट अपहरण शैलीमा गिरफ्तार गरी अज्ञात अवस्थामा राखेको भन्दै तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । महासङ्घका उपाध्यक्षका सीबीसिंह ठकुरीद्वारा जारी विज्ञप्तिमा अपहरण शैलीमा गरिएको उक्त गिरफ्तारीप्रति भत्र्सना पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘खेलकुदको आमूल परिवर्तनका लागि क्रियाशील सङ्गठन नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयन्द्रबहादुर चन्द, महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्य कमल आरसी र प्रेम केसीलाई ललितपुरबाट अपहरण शैलीमा पक्राउ गरेकोमा हाम्रो सङ्गठन घोर भत्र्सना गर्दछ । अध्यक्ष चन्दसहित महासचिव र केन्द्रीय सदस्यद्वयको गैरकानुनी गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उहाँहरूको निःसर्त रिहाइका लागि महासङ्घ जोडदार माग गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना भाइरसविरुद्ध देशव्यापी सतर्कताका लागि महाअभियानमा राष्ट्रिय खेलाडी, कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र आम समुदाय लागिरहेका बेला यसरी गैरकानुनी रूपमा गिरफ्तार गरी आफन्तलाई जानकारी पनि नदिने र गैरन्यायिक हर्कत देखाउने सरकारको यो रबैयाको जति निन्दा गरे पनि कमै हुन्छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘गिरफ्तार गरिएका खेलकुद क्षेत्रका हस्तीहरूको स्थिति अज्ञात राखिएकोमा उहाँहरूलाई तुरुन्त सार्वजनिक गरी अविलम्ब रिहाइका लागि सबै खेलकुदकर्मीहरूले दबाब सिर्जना गर्न पनि हामी हार्दिक अपिल गर्दछौँ । खेलकुदजस्तो सम्मानित क्षेत्रलाई आतङ्कित नगर्न र निर्बाध रूपमा काम गर्न दिन सम्बन्धित सरोकारवाला सबै पक्षलाई यसै विज्ञप्तिमार्फत हार्दिक आह्वानसमेत गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ….