नेकपा पाल्पाद्वारा कम्युनिस्ट आन्दोलनका अग्रज योद्धाहरूको सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि योगदान र प्रेरणा दिने पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गरेको छ । नेकपाले मङ्गलबार उनीहरूलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा पाल्पाका इन्चार्ज प्रवीणले नेपालमा दसबर्से महान् जनयुद्ध, जनआन्दोलन र जनसङ्घर्षलाई गद्दारहरूले सम्झौतामा टुङ्ग्याएर धोका दिएकाले कम्युनिस्ट योद्धाहरूको सपना पूरा हुन नसकेको बताए । उनले पार्टी पुनर्गठनको तात्पर्य क्रान्तिको निरन्तरता भएकाले जीवनभर कम्युनिस्ट आन्दोलनमा रहेर क्रान्तिलाई योगदान गर्ने कमरेडहरूलाई पार्टीले सम्मान गरेको बताए । विगतका सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा जनतालाई मात्र धोका नभएर कम्युनिस्ट आन्दोलनमा जीवनभर योगदान गर्ने अग्रज कमरेडहरूलाई पनि बेवारिसे बनाइएको चर्चा गर्दै इन्चार्ज प्रवीणले भने, ‘पशुपति घुमाउन लैजान्छु भनेर वृद्धाश्रममा छोडेर आउने दलाल पुँजीवादी संस्कृतिलाई नेकपाले अन्त्य गरेको छ ।’ उनले क्रान्तिमा जोडिएका नयाँ पुस्तालाई पुरस्कृत र प्रोत्साहन गर्ने र अग्रज कमरेडहरूलाई सम्मान गर्ने नयाँ संस्कृतिको सुरुआत गरिएको समेत बताए । कार्यक्रममा पाल्पाका पुराना कम्युनिस्ट नेताहरू मानध्वज श्रेष्ठ, टोपराज बस्याल, सोमबहादुर नेपाली र कृष्णप्रसाद खनालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूले कम्युनिस्ट आन्दोलनको इतिहासमा आफूहरूले लामो समयदेखि योगदान गर्दै आएको र नेकपाद्वारा सम्मानित हुँदा गौरवको अनुभूति भएको बताए । सम्मानितहरूले आफूहरूको सपना वैज्ञानिक समाजवादले मात्र पूरा गर्ने अटल विश्वास रहेका स्पष्ट पार्दै आफूहरू जीवितै छँदा त्यो व्यवस्था आओस् भन्ने चाहना रहेको बताए । नेकपा पाल्पाका सेक्रेटरी बिजीको अध्यक्षता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् पाल्पा इन्चार्ज शारदा भण्डारीको सञ्चालन र नेकपा पाल्पा इन्चार्ज प्रवीणको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नेकपाले देशभर कम्युनिस्ट आन्दोलन र माक्र्सवादी सांस्कृतिक आन्दोलनमा योगदान गर्ने अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :