कुमार पौडेलका हत्यामा संलग्न १० जनाविरुद्ध ज्यान मुद्धा

काठमाडौँ : बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न दश जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिइएको छ । कुमार पौडेलकी ७० बर्षीया आमा दुर्गादेवी पौडेलले प्रहरीले नियन्त्रणमा लिएर आफ्नो छोराको हत्या गरेको भन्दै कारवाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् ।
अधिकारकर्मीहरु चरण प्रसाई, इन्द्र अर्याल, बद्री भुषालको समन्वयमा कुमारकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छोराको हत्याका आरोपीबिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी हुन् । राष्ट्रिय मानव अधिकार आयोगले कुमारको हत्या गरिएको प्रतिवेदन बुझाउँदै दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको तीन महिनापछि गृह मन्त्रालयले दोषीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसँगै किटानी जाहेरी पनि दर्ता भएको हो ।
दुर्गाले जाहेरीमा उजुरीमा प्रदेश नम्बर २ का संघीय प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाल, सर्लाहीका तात्कालिन सिडिओ कृष्णबहादुर राउत, तत्कालिन जिल्ला प्रहारी कार्यालय सर्लाही प्रमुख एसपी गोपाल भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक (सई) सुर्यबहादुर कार्की, जिल्ला अस्पताल सर्लाहीका डा. विरेन्द्रकुमार मण्डल र वागमती नगरपालिका प्रमुख भरतकुमार थापालाई कारवाहीको माग गरिएको छ ।
उक्त हत्याकाण्डमा आयोगले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पनि दोषी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । खनालले नै गोली हान्न निर्देशन दिएको आयोगले बताएको छ । उनले आफू मातहतमा रहेका प्रहरी निरिक्षक कृष्णदेव साह (के.डी. साह), हवल्दारद्वय सत्यनारायण मिश्र र बिनोद साहलाई खटाएका थिए । गोली हान्न आदेश दिएको भन्दै मानव अधिकारकर्मीसहित नागरीक तहबाटै खनाललाई कारवाही गर्नुपर्ने माग उठेको छ । दुर्गादेवीले खनालको निर्देशनमा पौडेलको हत्या गर्ने साह, मिश्र र साहसहित १० जनालाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएकी छन् । उक्त हत्याकाण्डको विषयलाई लिएर दोषीमाथि कार्वाहीको माग गर्दै नेपाली कांग्रेस लगायत प्रतिपक्ष र सत्तापक्ष सांसदहरुले संविधान सभाको बैठक पटक पटक अवरोध गरेका थिए ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेको थियो । आयोगले पौडेललाई हत्या गर्न आदेश दिने उच्च प्रहरी अधिकारीमाथि पनि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
आयोगले प्रहरीले दाबी गरेजस्तो दोहोरो भिडन्तमा वा आत्मरक्षाको स्थिति पुष्टि नभएको र घटनाको प्रकृति र सङ्कलित प्रमाणहरूका आधारमा पौडेललाई नियन्त्रणमा लिएर ९ राउन्ड गोली प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको थियो । आयोगले स्थल अध्ययक्ष प्रतिवेदनका आधारमा प्रत्यक्ष घटनामा संलग्न प्रहरी कमान्डर प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हबल्दार श्रीविनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायबनिरीक्षक सूर्यकुमार कार्कीलाई मुचुल्का उठाउँदा त्रुटि गरेकाले सचेत गराउन सरकार र नेपाल प्रहरीलाई सिफारिस गरिएको थियो ।
यस्तै पौडेल परिवारले पनि हत्या गरिसकेपछिको शव अलपत्र र गलेको अवस्थामा भुइँमै फालिएको, न्यूनतम् प्रक्रियासमेत पूरा नगरेको, पौडेललाई हत्या गर्न काठमाडौँबाटै विशेष टोली गएको, त्यसका लागि ६ करोड रकम छुट्ट्याएर मारिएको र यसमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल, गृहमन्त्री रामबहादुर थापा र स्थानीय मेयर भरत थापा लगायतलाई समेत कारबाहीको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :